१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘परिवर्तनको अनुभूति भएन’

स्थानीय तह
कर्मचारी अभावका बावजुद पनि गाउँमा विकास निर्माणका कामसँगै सेवाप्रदायकका काम भइरहेको जनप्रतिनिधिको दाबी 

काठमाडौँ — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११, सिगास टोलका सुकुम्बासी दलबहादुर बोहराले जनप्रतिनिधि सहभागी एक कार्यक्रममा भने, ‘अब नेताहरूले काम गर्लान् भन्ने आस मरिसक्यो । तर, उहाँहरूबाहेक हाम्रा गुनासा सुन्ने अरू निकाय पनि त छैन ।’ स्थानीय तहको निर्वाचनअघि उम्मेदवारहरूले गरेका प्रतिबद्धता र अहिले भइरहेका गतिविधि देखेर उनी सन्तुष्ट छैनन् । 

‘परिवर्तनको अनुभूति भएन’

निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले सुकुम्बासी टोलमा पुगेर व्यवस्थित बसोबाससँगै शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका माग पूरा गर्ने प्रतिबद्धता गरेका थिए । अहिलेसम्म न त सुकुम्बासी टोलमा कुनै स्वास्थ्यकर्मी पुगेका छन्, न उनीहरूका बालबालिकाले पढ्न पाएका छन् । ‘विगतको स्थानीय निकाय र अहिलेको स्थानीय तहको कामको शैली एउटै देखिन्छ,’ भीमदत्त नगरपालिका ९ का नरेन्द्र धामीले भने, ‘जनताले नयाँ संरचनाअनुसारको विकासको अनुभव गर्न पाएका छैनन् ।’ उनले स्थानीय तहले सडक ग्राभेल र कालोपत्रेमा मात्रै जोड दिएको र त्यो पनि दिगो नभएको गुनासो गरे ।


७ नगरपालिका र २ गाउँपालिका रहेको कञ्चनपुरका अधिकांश स्थानीय तहका सर्वसाधारणको यस्तै गुनासो छ । जनप्रतिनिधिहरूले भोट माग्ने बेला दिएका आश्वासन बिर्सेको उनीहरूको गुनासो छ । कृषि, पशुसेवा, स्वास्थ्य र शिक्षालगायतका विषयगत स्थानीय तहमा गाभिएपछि उक्त कार्यालयबाट प्राप्त हुने सेवाको स्तरसमेत खस्केको सेवाग्राहीको गुनासो छ । ‘कहिले कर्मचारी भेटिँदैनन्, भेटिए पनि नीति तथा कार्यक्रम छैन भन्छन् ।’ महाकाली नगरपालिकाका रामबहादुर चुनाराले भने, ‘जनप्रतिनिधि पनि कर्मचारी छैनन् भन्दै पन्छिन्छन् ।’ अधिकांश स्थानीय तहले कृषि र पशु सेवातर्फको बजेट विकास निर्माणमा हालेका छन् ।


जनप्रतिनिधि भने कर्मचारी अभावका बावजुद पनि गाउँमा विकास निर्माणका कामसँगै सेवाप्रदायकका काम भइरहेको बताउँछन् । ‘७ महिना पहिलेको अवस्था र अहिलेको अवस्थामा निकै फरक आएको छ ।’ शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले भने, ‘अझै पनि वडा कार्यालय स्थापनाका लागि पर्याप्त मात्रामा कर्मचारी आइपुगेका छैनन्, तैपनि हामीले काम गरिरहेका छौं ।’


अहिले पनि अधिकांश स्थानीय तहमा कर्मचारी अभावमा वडा कार्यालय संयुक्त रूपमा सञ्चालन छन् । एउटै कर्मचारीले ५/५ वडा कार्यालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । केही ठाउँमा जनप्रतिनिधिले नै कर्मचारीको समेत काम गर्नुपर्ने अवस्था छ । ‘कर्मचारीदेखि जनप्रतिनिधि सबैको काम गरिरहेका छौं,’ शुक्लाफाँटा नगरपालिका ११ का वडाध्यक्ष दिलबहादुर बुढाले भने, ‘बिहानदेखि साँझ अबेरसम्म काममै खटिएका छौं ।’


डोलीमा सुत्केरी

सिद्धि (चितवन)– अरूलाई स्वास्थ्यचौकी गएर सुत्केरी गराउनुपर्ने सन्देश दिँदै हिँड्ने नन्दमायालाई १० जना गाउँलेले आलोपालो गर्दै डोलीमा बोकेर सिद्धि तीन दोभानस्थित स्वास्थ्यचौकी पुर्‍याए । उनलाई प्रसूति व्यथा लागेपछि स्वास्थ्यचौकी लगिएको हो । ‘खिर्कीबाट बोकेर स्वास्थ्यचौकी पुर्‍याउन ४ घण्टा लाग्यो,’ डोली बोक्नेमध्येका एक समबहादुर चेपाङले भने, ‘गाडी चल्दैन, त्यसैले बोकेरै स्वास्थ्यचौकी पुर्‍याउनुपरेको हो ।’ उनका अनुसार स्वास्थ्यचौकीमा एक दिन राखेर भोलिपल्ट गाउँलेले पुन: डोलीमै बोकेर गाउँ फर्काए ।


सधैं कष्ट सहनुपरेकाले गाउँ नगरपालिकाभित्र पर्छ भन्दा दु:ख लाग्ने गरेको गुनासो गाउँलेले गरे । अझै पनि बिरामीलाई घन्टौं बोकेर स्वास्थ्यचौकी पुर्‍याउनुको विकल्प छैन । ‘गाउँको अवस्था यस्तै छ,’ सानीमायाले भनिन्, ‘बोकेरै स्वास्थ्यचौकी लग्नुपर्छ, गाडी चढ्न पाइँदैन ।’ उनले पहिलेभन्दा अहिले गाउँमा स्वास्थ्यचौकी गएर सुत्केरी गराउनुपर्छ भन्ने चेतना सबैमा फैलँदै गएकामा खुसी लागेको बताइन् ।


केन्द्र पुग्न अर्कै जिल्लाको बाटो

रुकुम पश्चिम– आठबिसकोट नगरपालिका ६ का वडाध्यक्ष डिलबहादुर सार्की नगरपालिका केन्द्र रहेको राडी पुग्न छिमेकी जाजरकोटको बाटो जान्छन् । अरू बेला नगए पनि नगर कार्यपालिकाको बैठकका लागि उनी हरेक महिना राडी नपुगी सुखै छैन ।


नगरपालिका ४ का वडाध्यक्ष बाबुराम विष्ट र ५ नम्बर वडाका वडाध्यक्ष प्रजिते कामी पनि जाजरकोटको बाटो हुँदै हरेक महिनाको नगर बैठकका लागि राडी पुग्छन् । सार्की, विष्ट र कामी मात्र होइन, आठबिसकोट नगरपालिकाको केन्द्र राडी पुग्न ४, ५ र ६ वडाका सर्वसाधारण जाजरकोट जिल्ला हु‘दै जानुको विकल्प छैन ।


आठबिसकोट नगरपालिकाका ४, ५ र ६ वडा साबिकको गोतामकोट गाविस हो । साबिकको गोतामकोट र साबिककै आठबिसकोट गाविस आपसमा जोडिएको भए पनि भौगोलिक कठिनाइका कारण सर्वसाधारण वर्षौंदेखि जाजरकोट भएरै राडी पुग्ने गरेका छन् ।


स्थानीय तहको सिमाना निर्धारण गर्ने क्रममा साबिकको गोतामकोट र आठबिसकोट गाविस आठबिसकोट नगरपालिकामा परेपछि उक्त नगरपालिकाकाको केन्द्र राडी तोकिएको छ । ती तीन वडाका सर्वसाधारण जाजरकोटको नलगाड नगरपालिका भएर हिंड्ने गर्छन् । जाजरकोटको नलगाड नगरपालिकाको १९ किलोमिटर भू–भाग हिंडेपछि मात्रै ती तीन वडाका सर्वसाधारण नगरपालिकाको केन्द्र पुग्छन् ।

ठूलीभेरी तर्नलाई दुई ठाउँमा झोलुंगे पुल पनि पार गर्नुपर्छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, को गोतामकोटबाट जाजरकोटको नलगाड नगरपालिका–१२, को तल्लु पुग्नलाई पहिलो झोलुंगे पुल तर्नुपर्छ भने राडी पुग्ने समयमा फेरि जाजरकोटको नलगाड नगरपालिका–८, बगरादेखि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९, राडी पुग्न अर्को झोलुंगे पुल तर्नुपर्छ ।


‘नगरपालिकामा हुने काम मात्रै होइन अन्य धेरै कामकाजका लागि राडी नआई हुँदैन,’ ४ नम्बर वडाकी कुशला खड्काले भनिन्, ‘तर आफ्नै नगरपालिकाको केन्द्र जान अर्को जिल्ला नपुगी सम्भव नै छैन ।’ आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले राडीबाट गोतामकोटसम्म सडक विस्तार गर्न ठूला भीरपहराका कारण कठिन भएको बताए ।

प्रकाशित : माघ २०, २०७४ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?