‘निकट सहकार्य’को स्वराज–सूत्र

कहिलेकाहीँ कूटनीतिमा एकतिर देखाएर अर्कोतिर हान्ने काम पनि हुन्छ, अहिले त्यस्तो नहोला, आशा गरौं

काठमाडौँ — भारतीय विदेशमन्त्री सुष्मा स्वराज शुक्रबार अपराह्न दिल्ली फर्कने विमानमा चढेपछि उनीसँगै रहेका विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले ट्वीटरमा लेखे, ‘एउटा सफल भ्रमण सम्पन्न गरेर स्वदेशका लागि प्रस्थान गर्दैछांै ।’ उनीहरूको भ्रमण कति सफल भयो, त्यो भविष्यले बताउला, तर अचानक भएको यो ‘राजनीतिक’ भ्रमणले नेपालको विश्वास जितेर अगाडि बढ्ने भारतीय प्रयत्नलाई भने सार्वजनिक गरेको छ । 

‘निकट सहकार्य’को स्वराज–सूत्र

निर्वाचनपछिको नेपाली राजनीतिक अवस्थाबारे प्रत्यक्ष जानकारी लिने र प्रभाव छर्ने प्रयोजनका लागि विदेशमन्त्री स्वराज बिहीबार काठमाडौं उत्रेकी थिइन्् । बिहीबारै भारतको लोकसभामा बजेट प्रस्तुत भएको थियो, उनी त्यसलाई पनि छाडेर काठमाडौं आएकी हुन्, यहाँ नयाँ सरकार गठनसमेत भइनसक्दै ।


स्वराजले आफ्नो दुईदिने भ्रमण ‘सफल’ भएको उल्लेख गर्दै नेपालको नयाँ सरकारसँग ‘निकट रहेर सहकार्य गर्न तयार रहेको’ सन्देश दिएकी छन् । उनको भ्रमण भावी प्रधानमन्त्रीका रूपमा हेरिएका केपी ओलीसँग सहकार्यका आधारहरू पहिल्याउने र खासगरी चीनतर्फको सम्भावित सम्बन्ध विस्तार रोक्ने राजनीतिक प्रयासमा केन्द्रित देखियो । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निकट भविष्यमा गर्न चाहेको भनिएको तेस्रो नेपाल भ्रमणको रूपरेखा कोर्ने तयारीका रूपमा पनि यसलाई हेरिएको छ ।


संविधानसभाले जारी गरेको संविधानको विरोध गर्दै नाकाबन्दीसमेत लगाएको भारतले त्यही संविधान कार्यान्वयनका क्रममा भएका निर्वाचनको भने अचेल मुक्तकण्ठले प्रशंसा गर्ने गरेको छ । स्वदेश फर्किने क्रममा विदेशमन्त्री स्वराजले पनि यति छिटो तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा खुसी व्यक्त गर्दै सहकार्यमा जोड दिइन् ।


मोदीकै चाहनामा उनी चुनावपछिको घटनाक्रम बुझ्दै द्विपक्षीय सम्बन्धमा बेलाबेला मडारिने ‘बादल’ मेटाउन आएकी हुन्् । यो सम्बन्धको बादल हटे पनि आन्तरिक राजनीतिमा भने त्यसको प्रभाव पर्न सक्ने देखिएको छ । सरकार बन्नु तीन साताअघिको यो भ्रमणले सत्तारूढ दल र वाम सहकार्यमा समेत प्रभाव पार्न सक्ने राजनीतिक वृत्तमा चर्चा छ । वाम गठबन्धनको भविष्य तलमाथि भए त्यसको अपजस भारतलाई नै जाने निश्चित छ ।


भारतीय विदेशमन्त्री आएकै दिन माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘प्रतिक्रियावादीहरू वाम एकता भाँड्न सक्रिय रहेको’ सांकेतिक अभिव्यक्ति दिनुलाई पनि कतिपयले अर्थपूर्ण मानेका छन् ।


स्वराजले करिब २४ घण्टे नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल, संघीय फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्षमण्डलका नेताहरूलाई भेटेकी थिइन् । सबै भेटमा उनले भारत छिमेकसँग सहकार्य गर्दै अघि बढ्न चाहेको र नेपाल भारतको सबभन्दा उच्च प्राथमिकतामा रहेको सन्देश दिइन् ।


आफ््नै पार्टी पराजित भए पनि सफलतापूर्वक निर्वाचन गराएकामा प्रधानमन्त्री देउवालाई बधाई दिएकी उनले महत्त्व भने निर्वाचनपछि बनेको ठूलो दल एमालेलाई दिएको प्रस्टै देखियो । एमाले अध्यक्ष ओलीलाई दोस्रोपटक फोन गर्दा भारतीय प्रधानमन्त्री मोदीले आफूले उच्चस्तरीय दूत पठाउन चाहेको उल्लेख गरेका थिए, तर नाम सार्वजनिक गरिएको थिएन । त्यसको केही दिनपश्चात् भारतीय राजदूत मञ्जिवसिंह पुरीले विदेशमन्त्री स्वराज नै आउने जानकारी दिएपछि एमाले नेताहरूसमेत चकित परेका थिए ।


‘स्वराजको भ्रमणले सम्बन्ध सुधारको ढोका राम्रोसँग खोलेको छ । भनाइ र गराइ उस्तै भएको खण्डमा अब नेपाल र भारतबीच समस्या देखिँदैन,’ एक कूटनीतिज्ञले भने, ‘यस्तो भ्रमणमा कुरा राम्रै हुन्छ, तर कहिलेकाहीँ कूटनीतिमा एकतिर देखाएर अर्कोतिर हान्ने काम पनि हुन्छ । अहिले त्यस्तो नहोला, आशा गरौं ।’


सत्तारोहणको तयारीमा रहेको एमालेले स्वराजका लागि रात्रिभोज आयोजना गरेको थियो भने कांग्रेसले बिदाइ ‘लञ्च’ दिएको थियो । वर्तमान संविधान लागू गर्ने क्रममा निकै असन्तुष्ट मोदी सरकारले नेपालमा नाकाबन्दी लगाएको र यिनै स्वराजले आफ्नै संसद्मा त्यसको चर्को विरोधको सामना गर्नुपरेको दुई वर्ष पनि बितेको छैन । त्यो पृष्ठभ्ूमिबाट भारत माथि उठेको र नेपालसँग सम्बन्ध सुधार्न चाहेका थुपै्र दृष्टान्तहरू यसअघि नै देखिएको थियो । अहिले त्यसलाई पुष्टि गर्न स्वराज आएको नेताहरूको बुझाइ छ ।


स्वराजले वाम गठबन्धनको अर्को घटक माओवादी अध्यक्ष दाहालसँग ‘ब्रेकफास्ट’ बैठक गरेकी थिइन् । दाहाल उनलाई भेट््न एक्लै सोल्टी होटल पुगेका थिए । ‘चुनावपछिको परिस्थिति र नयाँ सरकार गठनका विषयमा उहाँले जिज्ञासा राख्नुभयो, मैले त्यसबारेमा भइरहेका कुरा राखें,’ भेटपछि पत्रकारसँग प्रतिक्रिया दिँदै दाहालले भने, ‘उहाँको यो सद््भाव भ्रमण हो, मैले त्यसै रूपमा बुझेको छु । सद्भाव प्रकट गर्नेबाहेक अन्य गम्भीर छलफलहरू भएनन् ।’ भेटमा स्वराजले वाम गठबन्धनले बहुमत ल्याएकामा बधाई दिँदै नेपालमा राजनीतिक स्थायित्व कायम हुने विश्वास राखेकी थिइन् । खण्डित मतभन्दा बहुमतले नै मुुलुक विकास प्रक्रियामा जाने स्पष्ट सन्देश उनले दिएकी थिइन् । दाहालसँगको भेटपछि उनले फोरम अध्यक्ष यादवसँग पनि भेट गरिन् । यादव पनि उनलाई भेट््न एक्लै होटल पुगेका थिए ।


स्वराजले राष्ट्रपति भण्डारीसँग पनि शीतलनिवास पुगेर शिष्टाचार भेट गरिन् । त्यहाँ विदेशसचिव विजयकेशव गोखलेको परिचय गराउने क्रममा स्वराजले गोखलेका पिताको विवाह यही शीतलनिवासमै भएको सुनाइन् । विदेशसचिव गोखलेका हजुरबुबा भालचन्द्रकृष्ण गोखले नेपालका लागि भारतका तेस्रो राजद्ूत हुँदा भारतीय दूतावास यही भवनमा थियो ।


राष्ट्रपति भण्डारीसँग भेटेलगत्तै स्वराज प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगिन् । देउवासँगको लञ्च बैठकमा उनले मन्त्री टोली र कांग्रेस नेताहरूको टोलीसँग छुट्टाछुट्टै भेटेकी थिइन् । उनले आरम्भमा अर्थमन्त्री ज्ञानेन्द्र कार्की, वाणिज्यमन्त्री सुनील थापा, अर्थराज्यमन्त्री उदयशमशेर राणा, परराष्ट्र अधिकारी र सल्लाहकारहरूसहित परराष्ट्रमन्त्रीसमेत रहेका देउवा नेतृत्व टोलीसँग छलफल गरेकी थिइन् । भारतीय पक्षबाट पनि राजद्ूत पुरीसहित टोलीमा सम्मिलित अधिकारीहरू उपस्थित थिए । उक्त छलफलमा द्विपक्षीय परियोजना, व्यापार, सडक सञ्जाललगायतमा भएको काम र अवरोधका विषयमा छलफल भएको थियो ।


त्यो भेटपछि देउवासहित कांग्रेस नेताहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, नारायण खडकालगायत सम्मिलित टोलीसँग स्वराजले वार्तालाप गरेकी थिइन् । उनले एमाले र माओवादीलाई सत्तारूढ र कांग्रेसलाई प्रतिपक्षी दल मानेझैं गरेर कुराकानी गरेको सहभागीले सुनाए ।

धेरै नेतासँग एक्लाएक्लै भेटेकी स्वराजले कोसँग कुन प्रकारको कुरा गरिन् भन्नेबारे आधिकारिक जानकारी दिइएको छैन । उनको धारणा नेपाली नेताहरूको प्रतिक्रियाका आधारमा मात्र सार्वजनिक भएको हो । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले कान्तिपुरसँग भने, ‘यस्ता एक्लाएक्लै हुने वार्ताबारे राज्य संयन्त्रलाई जिम्मेवार नेताले जानकारी गराउने प्रचलन छ । त्यो हुनेमा सरकार विश्वस्त छ ।’

प्रकाशित : माघ २०, २०७४ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?