साधनस्रोतले धनी, सम्भावनाको खानी

विमल खतिवडा, प्रताप बिष्ट

हेटौंडा — सात प्रदेशमध्ये सबैभन्दा बलियो प्रदेशका रूपमा ३ नम्बर प्रदेश रहेको छ । यो प्रदेशमा सम्भावनाका आधारहरू धेरै छन् । आशा जगाउने क्षेत्रहरू प्रशस्त छन् । शिक्षा, स्वास्थ्य, उद्योग, हाइड्रो र पोल्ट्री आयस्रोतका मुख्य स्रोत हुन् । 


मुलुकको राजधानी काठमाडौंसहित उपत्यकाका तीन जिल्लासमेत यही प्रदेशमा पर्छन् । सुविधासम्पन्न सहरहरूसमेत यही प्रदेशमा भएकाले सुविधाका हिसाबले सहरीकरण बढदो छ ।

Yamaha


प्रदेश ३ अन्तर्गत पर्ने अधिकांश जिल्ला फरक–फरक क्षेत्रको ‘हब’ का रूपमा परिचित छन् । सबै समुदायको समानुपातिक बसोबासले प्रदेश समावेशी देखिन्छ । प्रदेशमा आम्दानीका स्रोत प्रशस्त छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेका अनुसार आर्थिक दृष्टिकोणले काठमाडौं र चितवन समृद्ध छन् । यसको मुख्य स्रोत भनेकै उद्योग/व्यापार हो । ‘यो सम्भावनायुक्त प्रदेश हो, हाइड्रोमा दोलखा र रामेछाप राम्रो छ,’ वाग्लेले भने, ‘काठमाडौंको मात्र कुल गार्हस्थ उत्पादन ३० प्रतिशत छ । झन्डै एक तिहाइ अर्थतन्त्र काठमाडौंको सेरोफेरोले धानिरहेको छ ।’

उद्योग र सेवा क्षेत्रबाट राजस्व राम्रो उठ्छ । कृषिमा भने कम रहेको वाग्ले बताउँछन् । ‘सेवाभित्र हाइड्रो, पर्यटन व्यापार, ट्ेरडलगायत पर्छन्,’ उनले भने, ‘सबै हिसाबले सबैभन्दा सम्पन्न प्रदेश यही हो ।’ उनका अनुसार त्यसपछि सम्भावना र सम्पन्न प्रदेशमा १, ४, ५, ७, २ र ६ पर्छन् । बढी आर्थिक कारोबार यही प्रदेशमा हुन्छ । पर्यटकीय दृष्टिले चितवन राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, गौरीशंकर संरक्षण क्षेत्र यही प्रदेशमा पर्छन् ।

‘हेटौंडा, बालाजु तथा पाटन औद्योगिक क्षेत्र पनि यही प्रदेशमा छन्,’ वाग्लेले भने,‘ रसुवा, धादिङ, सिन्धुपाल्चोक र दोलखा जिल्लामा जलविद्युत् आयोजनाहरू धेरै छन्, त्यही भएर यो प्रदेशले जलविद्युत् आयोजनाबाट राम्रो फाइदा लिनेछ ।’ कुल गार्हस्थ उत्पादनका हिसाबले प्रदेश ६ कमजोर छ भने जनसंख्याको हिसाबले ३ नम्बर प्रदेश बलियो छ । जहाँ २०६८ सालको जनगणनाअनुसार ५५ लाख ५९ हजार ४ सय ५२ जनसंख्या छ । ३ नम्बर प्रदेशमै पर्यटक भित्रिने प्रमुख द्वारका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पर्छ । प्रदेशमा पर्ने सबै जिल्ला सडक सञ्जालसँग जोडिएका छन् । स्वास्थ्यका लागि काठमाडौं उपत्यकापछि दोस्रो ‘हब’ का रूपमा चितवन रहेको छ । शिक्षामा समेत यो प्रदेश अघि छ । चिकित्साशास्त्र पढ्ने ठूला मेडिकल कलेज, कृषि, वन, पशु चिकित्साका विश्वविद्यालयहरू छन् । ‘यो देशको राजधानी भएको प्रदेश हो, जुन आफैंमा सबैभन्दा ठूलो आधार हो,’ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, ‘अहिले पनि ५२ प्रतिशत ट्याक्स कलेक्सन काठमाडौंले गर्छ, जति पनि पेट्रोलियम पदार्थको खपत हुन्छ त्यसको ५२ प्रतिशत उपत्यकालेमात्र गर्छ ।’

ठूला पूर्वाधारका सम्भावना पनि प्रशस्त छन् । केरुङ र तातोपानी नाका यही प्रदेशअन्तर्गतका हुन् । ‘भोलि ठोरी जान सक्ने हो भने यही प्रदेशबाट जोडिन्छ, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि वस्तुगत रूपमा काठमाडौंलाई ध्यानमा राखेर बनाउन लागिएको हो, काठमाडौंसँगै त्यसको एक्सप्रेस वे (फास्ट ट्रयाक) सँग जोडिने कुरा भयो,’ उनले भने, ‘हामीसँग प्राकृतिक स्रोतको पर्याप्तता छ, बूढीगण्डकी हाइड्रो प्रोजेक्ट, तामाकोसी, सुनकोसी डाइभर्सनका कुरा भए, ठूला परियोजना बन्ने सम्भावना भएको प्रदेश हो यो ।’ मकवानपुरमा कुलेखानी पहिलो र दोस्रोबाट ९२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कुलेखानी तेस्रो १४ मेगावाट निर्माणाधीन छ । सिन्धुपाल्चोकबाट ६० मेगावाटभन्दा बढी, रसुवाबाट ३० मेगावाट, नुवाकोटबाट ३० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

सम्भावना धेरै भएकाले अहिले सबैको चासो र चर्चाको प्रदेश पनि यही बनेको छ । ‘अरू प्रदेशमा छैन भन्न खोजेको होइन,’ पाण्डेले भने, ‘महत्त्वपूर्ण प्राकृतिक स्रोतदेखि जनसंख्या तथा आर्थिक स्रोतको बढी सम्भावना भएको क्षेत्र यही हो ।’ जनसंख्याका हिसाबले ठूलो जनघनत्व भएको क्षेत्र यही प्रदेशमा पर्छ । ‘मान्छे नै बजार हो । त्यसैले मान्छेले सबैभन्दा बढी खर्च खान, लाउन, बस्न र शिक्षामा गर्छ,’ उनले भने, ‘यो सबै खर्च गर्ने हिसाबको प्रदेश यही हो । विकास गर्न आर्थिक स्रोत चाहिन्छ । स्रोत भएन भने केही हुँदैन । जनशक्तिका हिसाबले पढेलेखेका मान्छे यहीँ छन् ।
‘संघीय राजधानी पनि यहीँ हुन्छ, राजधानीसँग गरिने कनेक्टिभिटी अरू प्रदेशले गर्न सक्दैनन्,’ उनले भने, ‘त्यही भएर सबै कुराले सम्भावनायुक्त प्रदेश हो ।’ अहिले ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडालाई तोकिएको छ । जहाँ अहिले चहलपहल बढदै गएको छ । सबैभन्दा ठूलो सम्भावना यो क्षेत्रमा पर्यटनमा देखिएको छ । धेरै घुम्ने ठाउँहरू ३ नम्बर प्रदेशमै पर्छन् । विश्व सम्पदा सूचीमा सूचीकृत र राष्ट्रिय निकुञ्जहरू यहीँ पर्छन् । दोस्रो, कृषिमा सम्भावना धेरै छ । यसलाई अग्र्यानिक कृषिका रूपमा अघि लान जरुरी छ । एग्रोप्रोसेसिङ उद्योगहरूको विकास गर्नुपर्ने हुन्छ । ‘पोल्ट्रीको उत्पादन र खपत दुवै यही प्रदेशमा बढी हुन्छ, यसलाई अझै व्यवस्थित गर्नुपर्ने र खपत बढाउनुपर्ने छ,’ पोल्टी विज्ञ डा. तिलचन्द्र भट्टराईले भने, ‘मुलुकभर ६० अर्बभन्दा बढी लगानी पोल्ट्रीमा भए पनि त्यसको ४० अर्ब लगानी यही क्षेत्रमा छ ।’ हेटौंडा औद्योगिक क्षेत्रलाई नयाँ किसिमले अघि लान जरुरी रहेको उनले बताए ।

‘चितवनमा नयाँ औद्योगिक क्षेत्र विकास हुँदै छ,’ उनले भने, ‘काठमाडौं र पाटनको औद्योगिक क्षेत्रलाई नयाँ किसिमले बढाउनुपर्छ । केरुङ–ठोरी मार्ग भारत र चाइनालाई जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग हुन सक्छ ।’ पूर्व र पश्चिमको करिडोर लामो पर्छ । छोटो भनेको ट्रान्सपोर्टेसनमा खर्च कम लाग्नु रहेको उनले सुनाए । ‘चाइनाले केरुङसम्म ट्ेरन ल्याएर नेपालसम्म पुर्‍याउने भनेको छ, ट्रेन आयो भने चाइनिज वस्तु यहाँ ल्याउने, यहाँबाट भारत पठाउने, भारतका वस्तु नेपाल ल्याएर चाइना पठाउन मिल्छ,’ उनले भने, ‘त्यही भएर ट्रेन्डिङ सेन्टरका रूपमा यो प्रदेशलाई विकास गर्न सकिने सम्भावना छ ।’ सम्भावना धेरै भएकाले प्रदेशको विकासमा सबै एकजुट हुनुपर्ने तर्क विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले गर्दै आएका छन् । ‘७ वटा प्रदेशमध्ये ३ नम्बर प्रदेश साधनस्रातले सम्पन्न छ,’ समाजशास्त्री वीरेन्द्र साहले भने, ‘भरपुर उपयोग गर्न सके समृद्धि आउँछ ।’

Esewa Pasal

प्रकाशित : माघ २०, २०७४ ०६:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘निकट सहकार्य’को स्वराज–सूत्र

कहिलेकाहीँ कूटनीतिमा एकतिर देखाएर अर्कोतिर हान्ने काम पनि हुन्छ, अहिले त्यस्तो नहोला, आशा गरौं
चन्द्रशेखर अधिकारी

काठमाडौँ — भारतीय विदेशमन्त्री सुष्मा स्वराज शुक्रबार अपराह्न दिल्ली फर्कने विमानमा चढेपछि उनीसँगै रहेका विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले ट्वीटरमा लेखे, ‘एउटा सफल भ्रमण सम्पन्न गरेर स्वदेशका लागि प्रस्थान गर्दैछांै ।’ उनीहरूको भ्रमण कति सफल भयो, त्यो भविष्यले बताउला, तर अचानक भएको यो ‘राजनीतिक’ भ्रमणले नेपालको विश्वास जितेर अगाडि बढ्ने भारतीय प्रयत्नलाई भने सार्वजनिक गरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बालुवाटारमा भेट्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराज ।तस्बिर : अंगद ढकाल/कान्तिपुर


निर्वाचनपछिको नेपाली राजनीतिक अवस्थाबारे प्रत्यक्ष जानकारी लिने र प्रभाव छर्ने प्रयोजनका लागि विदेशमन्त्री स्वराज बिहीबार काठमाडौं उत्रेकी थिइन्् । बिहीबारै भारतको लोकसभामा बजेट प्रस्तुत भएको थियो, उनी त्यसलाई पनि छाडेर काठमाडौं आएकी हुन्, यहाँ नयाँ सरकार गठनसमेत भइनसक्दै ।

स्वराजले आफ्नो दुईदिने भ्रमण ‘सफल’ भएको उल्लेख गर्दै नेपालको नयाँ सरकारसँग ‘निकट रहेर सहकार्य गर्न तयार रहेको’ सन्देश दिएकी छन् । उनको भ्रमण भावी प्रधानमन्त्रीका रूपमा हेरिएका केपी ओलीसँग सहकार्यका आधारहरू पहिल्याउने र खासगरी चीनतर्फको सम्भावित सम्बन्ध विस्तार रोक्ने राजनीतिक प्रयासमा केन्द्रित देखियो । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निकट भविष्यमा गर्न चाहेको भनिएको तेस्रो नेपाल भ्रमणको रूपरेखा कोर्ने तयारीका रूपमा पनि यसलाई हेरिएको छ ।

संविधानसभाले जारी गरेको संविधानको विरोध गर्दै नाकाबन्दीसमेत लगाएको भारतले त्यही संविधान कार्यान्वयनका क्रममा भएका निर्वाचनको भने अचेल मुक्तकण्ठले प्रशंसा गर्ने गरेको छ । स्वदेश फर्किने क्रममा विदेशमन्त्री स्वराजले पनि यति छिटो तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा खुसी व्यक्त गर्दै सहकार्यमा जोड दिइन् ।

मोदीकै चाहनामा उनी चुनावपछिको घटनाक्रम बुझ्दै द्विपक्षीय सम्बन्धमा बेलाबेला मडारिने ‘बादल’ मेटाउन आएकी हुन्् । यो सम्बन्धको बादल हटे पनि आन्तरिक राजनीतिमा भने त्यसको प्रभाव पर्न सक्ने देखिएको छ । सरकार बन्नु तीन साताअघिको यो भ्रमणले सत्तारूढ दल र वाम सहकार्यमा समेत प्रभाव पार्न सक्ने राजनीतिक वृत्तमा चर्चा छ । वाम गठबन्धनको भविष्य तलमाथि भए त्यसको अपजस भारतलाई नै जाने निश्चित छ ।

भारतीय विदेशमन्त्री आएकै दिन माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘प्रतिक्रियावादीहरू वाम एकता भाँड्न सक्रिय रहेको’ सांकेतिक अभिव्यक्ति दिनुलाई पनि कतिपयले अर्थपूर्ण मानेका छन् ।

स्वराजले करिब २४ घण्टे नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल, संघीय फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्षमण्डलका नेताहरूलाई भेटेकी थिइन् । सबै भेटमा उनले भारत छिमेकसँग सहकार्य गर्दै अघि बढ्न चाहेको र नेपाल भारतको सबभन्दा उच्च प्राथमिकतामा रहेको सन्देश दिइन् ।

आफ््नै पार्टी पराजित भए पनि सफलतापूर्वक निर्वाचन गराएकामा प्रधानमन्त्री देउवालाई बधाई दिएकी उनले महत्त्व भने निर्वाचनपछि बनेको ठूलो दल एमालेलाई दिएको प्रस्टै देखियो । एमाले अध्यक्ष ओलीलाई दोस्रोपटक फोन गर्दा भारतीय प्रधानमन्त्री मोदीले आफूले उच्चस्तरीय दूतपठाउन चाहेको उल्लेख गरेका थिए, तर नाम सार्वजनिक गरिएको थिएन । त्यसको केही दिनपश्चात् भारतीय राजदूत मञ्जिवसिंह पुरीले विदेशमन्त्री स्वराज नै आउने जानकारी दिएपछि एमाले नेताहरूसमेत चकित परेका थिए ।

‘स्वराजको भ्रमणले सम्बन्ध सुधारको ढोका राम्रोसँग खोलेको छ । भनाइ र गराइ उस्तै भएको खण्डमा अब नेपाल र भारतबीच समस्या देखिँदैन,’ एक कूटनीतिज्ञले भने, ‘यस्तो भ्रमणमा कुरा राम्रै हुन्छ, तर कहिलेकाहीँ कूटनीतिमा एकतिर देखाएर अर्कोतिर हान्ने काम पनि हुन्छ । अहिले त्यस्तो नहोला, आशा गरौं ।’

सत्तारोहणको तयारीमा रहेको एमालेले स्वराजका लागि रात्रिभोज आयोजना गरेको थियो भने कांग्रेसले बिदाइ ‘लञ्च’ दिएको थियो । वर्तमान संविधान लागू गर्ने क्रममा निकै असन्तुष्ट मोदी सरकारले नेपालमा नाकाबन्दी लगाएको र यिनै स्वराजले आफ्नै संसद्मा त्यसको चर्को विरोधको सामना गर्नुपरेको दुई वर्ष पनि बितेको छैन । त्यो पृष्ठभ्ूमिबाट भारत माथि उठेको र नेपालसँग सम्बन्ध सुधार्न चाहेका थुपै्र दृष्टान्तहरू यसअघि नै देखिएको थियो । अहिले त्यसलाई पुष्टि गर्न स्वराज आएको नेताहरूको बुझाइ छ ।

स्वराजले वाम गठबन्धनको अर्को घटक माओवादी अध्यक्ष दाहालसँग ‘ब्रेकफास्ट’ बैठक गरेकी थिइन् । दाहाल उनलाई भेट््न एक्लै सोल्टी होटल पुगेका थिए । ‘चुनावपछिको परिस्थिति र नयाँ सरकार गठनका विषयमा उहाँले जिज्ञासा राख्नुभयो, मैले त्यसबारेमा भइरहेका कुरा राखें,’ भेटपछि पत्रकारसँग प्रतिक्रिया दिँदै दाहालले भने, ‘उहाँको यो सद््भाव भ्रमण हो, मैले त्यसै रूपमा बुझेको छु । सद्भाव प्रकट गर्नेबाहेक अन्य गम्भीर छलफलहरू भएनन् ।’ भेटमा स्वराजले वाम गठबन्धनले बहुमत ल्याएकामा बधाई दिँदै नेपालमा राजनीतिक स्थायित्व कायम हुने विश्वास राखेकी थिइन् । खण्डित मतभन्दा बहुमतले नै मुुलुक विकास प्रक्रियामा जाने स्पष्ट सन्देश उनले दिएकी थिइन् । दाहालसँगको भेटपछि उनले फोरम अध्यक्ष यादवसँग पनि भेट गरिन् । यादव पनि उनलाई भेट््न एक्लै होटल पुगेका थिए ।

स्वराजले राष्ट्रपति भण्डारीसँग पनि शीतलनिवास पुगेर शिष्टाचार भेट गरिन् । त्यहाँ विदेशसचिव विजयकेशव गोखलेको परिचय गराउने क्रममा स्वराजले गोखलेका पिताको विवाह यही शीतलनिवासमै भएको सुनाइन् । विदेशसचिव गोखलेका हजुरबुबा भालचन्द्रकृष्ण गोखले नेपालका लागि भारतका तेस्रो राजद्ूत हुँदा भारतीय दूतावास यही भवनमा थियो ।

राष्ट्रपति भण्डारीसँग भेटेलगत्तै स्वराज प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगिन् । देउवासँगको लञ्च बैठकमा उनले मन्त्री टोली र कांग्रेस नेताहरूको टोलीसँग छुट्टाछुट्टै भेटेकी थिइन् । उनले आरम्भमा अर्थमन्त्री ज्ञानेन्द्र कार्की, वाणिज्यमन्त्री सुनील थापा, अर्थराज्यमन्त्री उदयशमशेर राणा, परराष्ट्र अधिकारी र सल्लाहकारहरूसहित परराष्ट्रमन्त्रीसमेत रहेका देउवा नेतृत्व टोलीसँग छलफल गरेकी थिइन् । भारतीय पक्षबाट पनि राजद्ूत पुरीसहित टोलीमा सम्मिलित अधिकारीहरू उपस्थित थिए । उक्त छलफलमा द्विपक्षीय परियोजना, व्यापार, सडक सञ्जाललगायतमा भएको काम र अवरोधका विषयमा छलफल भएको थियो ।

त्यो भेटपछि देउवासहित कांग्रेस नेताहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, नारायण खडकालगायत सम्मिलित टोलीसँग स्वराजले वार्तालाप गरेकी थिइन् । उनले एमाले र माओवादीलाई सत्तारूढ र कांग्रेसलाई प्रतिपक्षी दल मानेझैं गरेर कुराकानी गरेको सहभागीले सुनाए ।
धेरै नेतासँग एक्लाएक्लै भेटेकी स्वराजले कोसँग कुन प्रकारको कुरा गरिन् भन्नेबारे आधिकारिक जानकारी दिइएको छैन । उनको धारणा नेपाली नेताहरूको प्रतिक्रियाका आधारमा मात्र सार्वजनिक भएको हो । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले कान्तिपुरसँग भने, ‘यस्ता एक्लाएक्लै हुने वार्ताबारे राज्य संयन्त्रलाई जिम्मेवार नेताले जानकारी गराउने प्रचलन छ । त्यो हुनेमा सरकार विश्वस्त छ ।’

प्रकाशित : माघ २०, २०७४ ०६:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT