नेपालमा चुनावको सफलता संक्रमणकाल अन्त्यको कोसेढुंगा : भारत

स्थायित्व र विकासका लागि सहकार्य गरौं : भारतीय विदेश मन्त्रालय  

काठमाडौँ — भारतले संविधान कार्यावन्यनका क्रममा भएका तीनै तहको निर्वाचनको सफलता नेपालको स्थायित्व एवं लोकतान्त्रिक विकासमा कोसेढुंगा हुने विश्वास व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फर्केपछि भारतीय विदेश मन्त्रालयले शुक्रबार राति वक्तव्य जारी गरी नेपालको संविधान र तीनै तहको सफल निर्वाचनको औपचारिक रूपमा स्वागत गरेको हो ।

नेपालमा चुनावको सफलता संक्रमणकाल अन्त्यको कोसेढुंगा : भारत

भारतले वक्तव्यमा तीनै तहको चुनावपछि लामो समयपछि राजनीतिक संक्रमणकाल अन्त्य भएको र त्यो नेपालको स्थायित्व र विकासमा ‘कोसेढुंगा’बन्ने विश्वास व्यक्त गरेको हो । यसअघि भारतले नेपालमा संविधानसभाबाट जारी संविधानको स्वागत गरेको थिएन । उसले संविधान संशोधन गरी मधेसीसहित सबै असन्तुष्ट पक्षलाई समेटन आग्रह गर्दै आएको थियो ।

तीनै तहको चुनावमा मधेसी दलसहित जनताको ऐतिहासिक सहभागिता भएपछि भारतले निर्वाचनको सफलताको स्वागत गर्दै संविधानको समेत स्वागत गरेको हो । निर्वाचनमा मधेसीसहित जनताको उत्साहपूर्ण सहभागितापछि नै भारतको बोली र व्यवहारमा फरक आएको हो ।


चुनावमा वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि उससित नयाँ शिराबाट सम्बन्ध सुरु गर्न भारत अग्रसर भएको हो । त्यसकै प्रयास स्वरूप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय विदेशमन्त्री स्वराजलाई नेपालमा विशेष दूतका रूपमा पठाएका हुन् । भारतले सबभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको संज्ञा नै दिँदै त्यही अनुरूपको महत्व समेत दिएको छ । भारतले नयाँ सरकारसित सहकार्य गर्न आफ्नो सरकार आतुर रहेको सन्देशसमेत दिएको छ ।

भारतीय विदेश मन्त्रालयले स्वराजको नेपाल भ्रमण ‘सफल’ र ‘सम्बन्धलाई पारस्परिक हितको उचाइ’मा पुर्‍याउन सहयोगी बनेको जनाएको छ । नेपाल-भारत सम्बन्ध थप सकारात्मक दिशामा गएको टिप्पणीसमेत भारतले गरेको छ ।


भारतीय नाकाबन्दीपछि चिसिएको सम्बन्धलाई सुधार्न भारतीय विदेशमन्त्री नेतृत्वको उच्चस्तरीय टोली नेपाल आएको र त्यसले राजनीतिकस्तरमा विश्वासको वातावरण बनाएको विश्लेषण परराष्ट्र अधिकारीहरूको छ । अवस्थाको स्थलगत विश्लेषण नै यो भ्रमणको मुख्य पाटो रहेको नेपाली कूटनीतिज्ञको दाबी छ । यसबाट भारतको नेपाल नीतिमा आउने परिवर्तन मात्र नभएर प्रधानमन्त्री स्तरमा हुने आगामी वार्ताको खाका समेत तय गरेको अनुमान ती अधिकारको छ । भारतीय प्रधानमन्त्री मोदी र यताका प्रधानमन्त्रीको आगामी दुवैतर्फ हुने भ्रमण पनि यही आधारमा तय हुनेछ । परराष्ट्र मन्त्रालयले भने उनको भ्रमण सकिएको वा कुराकानी के भएको कुनै कुरा बाहिर ल्याएको छैन । यद्यपि सरकारका अर्थ राज्यमन्त्री उदयशमसेर राणाले स्वराजलाई स्वागत र बिदाइ गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीसँगको वार्तामा परराष्ट्र अधिकारीको उपस्थिति थियो ।


भारत नयाँ शिराबाट नेपालसँग सम्बन्ध राखेर विगतको ‘बलमिचाई’ वा ‘हेलचेक्राइँ’लाई सुधार्न तयार देखिन्छ । जनताको म्यान्डेट लिएर नयाँ सरकार अघि बढेको र संघीयता कार्यावन्यनमा गएको अवस्थामा भारत निकट रहेर सहकार्यको हात अघि बढाएको उसको वक्तव्यबाट स्पष्ट हुन्छ । ‘गेट क्र्यास’को शैलीमा भएको भ्रमणको सबै भाव यही रहेको भए पनि भारतको कूटनीतिक तथ्यांकमा उनको यो भ्रमण रेकर्ड छ र तर हाम्रोमा छैन । त्यो भ्रमणलाई विदेश मन्त्रालयले औपचारिक शैलीको भ्रमणको रुपमा नै तय गरेको हो । सामान्यतया यही कोर्समा अघि बढ्ने कि करेक्सन गर्ने भन्नेमा उनीहरु अलमलमा छन् । हुन त, भारतीय पक्षहरु ‘कोर्स करेक्सन’भन्ने शब्द सुन्न त्यती रुचाउँदैनन् तर उनीहरुको शैली र बुझाईमा भने भारत पुरानो उत्तेजित पकडलाई शलिन ढंगले उपयोग गर्नेमा नै देखिन्छ ।


भारतीय विदेश मन्त्रालयबाट जारी वक्तव्यमा भनिएको छ, ‘नयाँ बन्ने निर्वाचित लोकतान्त्रिक सरकारसँग दुई पक्षीय सम्बन्ध नयाँ उचाईमा लैजान आपसी हितको आधारमा सहकार्य गर्नेछौं । प्राथमिकताको आधारमा नै सरकारलाई हामी सहयोग गर्छौं ।’ नेपाल भ्रमणको क्रममा सबै पक्षसँग खुला, स्पष्ट र हार्दिक कुराकानी भएको समेत विदेश मन्त्रालयले जनाएको छ । स्वराजको भ्रमण नेपाल-भारतबीच बदलिंदो सम्बन्धलाई नयाँ सुरुवातको रुप भारतीय पक्षले दिएका थिए । नेपालमा भारतविरोधी भावना बढ्नुमा नेपालीको भन्दा भारतीय पक्षबाट हुने प्रतिक्रिया र व्यवहार नै हुन् भन्दै यसमा सुधार आउँदा नेपालमा भारतप्रति भक्तिभाव बढ्नेमा दुईमत छैन । जुन २०७१ साउनमा मोदीको नेपाल भ्रमण समयमा देखिएको थियो । त्यो स्पिरिड कायम हुन समय लाग्छ तर सुधारको संकेत देखिन भने थालेको छ । सहकार्य, सद्‌भाव र आपसी विश्वासलाई बलियो बनाउन दुवैपक्ष उत्तिकै सचेत भएर अघि बढ्न आवश्यक रहेको संकेत पनि यो भ्रमण रहेको बुझाई भारतीय जानकारहरुको छ ।

नेपाल र भारतबीचको परापूर्व सम्बन्ध अन्य मुलुकसँग तुलना नै नहुने भन्दै भारतले आफ्नो सुरक्षा र विकासमा सहकार्य जस्ता केही चिन्ताप्रति संवेदनशील रहन नेताहरुलाई आग्रह स्वराजले बढी नै आग्रह गरेकी वार्तामा रहेकाको कुराबाट बुझ्न सकिन्छ । विदेश मन्त्रालयको वक्तव्यमा उनीहरुको सुरक्षा चिन्ता झल्केको छैन तर सहकार्य र आपसी हितलाई जोड दिइएको छ । स्वराजले नेपालमा रहँदा राष्ट्रपति विद्यदेवी भण्डारी र कामचलाउ प्रधानमन्त्री शेरबहादुर देउवालाई उनीहरुकै सरकारी निवासमा गएर भेटिन भने अन्य नेतागणलाई आफू बसेको होटलमा निम्त्याइन र निर्वाचन सफलताको बधाईको साथै आपसी हितको कुराकानी गरिन् । एमाले अध्यक्ष ओली, संघीय समाजवादी फोरमका उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्त ठाकुरलगायत अध्यक्ष मण्डलका नेताहरुसँगको छलफल बढी महत्वपूर्ण देखिएको छ । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको वार्ता महत्वको कडीमा छ । यो वार्तामा सरकारी अधिकारी नभएकाले महत्व र कुराकानीको भाव के भन्ने स्पष्ट छैन । नेताहरुले मुलुकको विषयमा गर्ने वार्तालाई आफ्नो स्वार्थमा उपयोग गर्दा निजी झै देखिएको हो । यसमा उनीहरुकै दलबाट पनि कूटनीतिक मर्यादाको विषयमा प्रश्न उठेको छ ।


प्रकाशित : माघ २०, २०७४ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?