इटहरी बलात्कार प्रकरण : महिला अधिकारकर्मी सडकमा

वरिष्ठ प्रहरी उपरीक्षकको संयोजकत्वमा छानबिन समिति, एक आरोपी पक्राउ
वेदराज पौडेल

इटहरी — बलात्कार घटनामा मिलापत्र गराएर आरोपी भगाइएको आरोप लगाउँदै महिला अधिकारवादीहरू सडकमा उत्रिएका छन् । महिला सञ्जाल सुनसरीको अगुवाइमा शनिबार इटहरीमा प्रहरीको शंकास्पद व्यवहारप्रति खबरदारी गर्दै र्‍याली निकालिएको हो ।

इटहरी बलात्कार प्रकरण : महिला अधिकारकर्मी सडकमा

उनीहरूले उपमहानगपालिकाको गेटबाट इलाका प्रहरी कार्यालयसम्म ब्यानरसहित र्‍याली निकालेका थिए ।


र्‍याली अघिको कोणसभालाई सम्बोधन गर्दै सञ्जालकी अध्यक्ष विमला ढकालले जघन्य अपराधमा समेत दर्ता नगरी मिलाउने पक्षमा जानु महिला हिंसालाई बढावा दिनु भएकाले तत्कालै घटनाका आरोपी र सामसुम बनाउनेलाई कारबाही गर्नुपर्ने माग गरिन् ।


इटहरी उपमहानगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक लक्ष्मी गौतमले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै दोषीको तत्काल खोजी गरी कानुनी कारबाही हुनुपर्ने र घटनालाई सामान्यीकरण गर्दै महिला अस्मितालाई रकमको लेनदेनमा खरिदबिक्री गर्नेलाई समेत कडा कारबाही गरिनुपर्ने बताइन् । उनले आफूले समेत तत्काल अपराधी पक्राउ गर्न प्रहरीलाई दबाब दिने बताइन् ।


महिला पुन:स्थापना केन्द्र (ओरेक) की परियोजना संयोजक मौसम राईले सरकारवादी मुद्दामा उजुरी नपरेको भन्दै प्रहरी पन्सिएर घटनाका आरोपीलाई नै छाड्नु पीडितलाई झन् पीडा थोपर्नु भएकाले तत्कालै न्यायिक उपचार जरुरी रहेको बताइन् । प्रहरीले घटना भएको झन्डै एक महिनापछि उजुरी दर्ता गरेर केस अघि बढाउनु पनि शंकास्पद रहेको उनले बताइन् । राईले घटनाको तत्काल छानबिन गरी अपराधीलाई कानुनअनुरूप कडा सजाय हुनुपर्ने माग गरिन् ।


माया घर नेपाल, क्लिन इटहरी, प्रोत्साहन नेपाललगायतका संघसंस्थाले घटनाका आरोपीलाई तत्काल पक्राउ गरी कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, इटहरी नगरपालिका न्यायिक समितिलाई समेत बोधार्थ दिएका छन् ।


इटहरी २० की कक्षा १० मा पढ्ने १४ वर्षीया बालिकालाई अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन अर्थात् पुस १६ गते राति इटहरी २ हलगढामा रहेको रोयल रिसोर्ट होटलमा ब्वाइफ्रेन्ड धरान निवासी जोकम लिम्बू र उनका साथी विराटनगर निवासी मनीष श्रेष्ठले वाइन खुवाएर बलात्कार गरेका थिए । उक्त घटनामा प्रहरीले तत्काल उजुरी लिएर मुद्दा अघि बढाउनुपर्नेमा त्यसो नगरी इलाका प्रहरी कार्यालयमा मिलापत्र गरी सामसुम पारिएको थियो । तर अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरिबहादुर पालले घटनाबारे थाहा पाएपछि तत्कालै अञ्चल प्रहरी कार्यालयको टिम सक्रिय बनाए र प्रहरीले माघ १२ गते जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दायर गर्‍यो । घटना हुँदा अञ्चल प्रहरी प्रमुख पाल र इप्रकाका प्रहरी नायब उपरीक्षक सञ्जय राउत बिदामा थिए । उनीहरू सातापछि बिदा सकेर फर्किएपछि घटनाबारे जानकारी पाएका थिए ।


एसएसपी पालले निमित्तको जिम्मेवारी एसपी विद्यानन्द माझीलाई दिएका थिए भने डीएसपी राउतले प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई निमित्त प्रमुख बनाएर बिदामा बसेका थिए । उक्त समयमा भएको घटनामा प्रहरीले मुद्दाको साटो मिलापत्र गराएको थियो । पीडितका अभिभावकले मिलापत्र गर्नुपर्छ भनेर दबाब दिइएपछि आफूहरूले मिलापत्र गरेको बताएका छन् । पछि धरानबाट अञ्चल प्रहरी कार्यालयले ‘यो मुद्दा मिल्ने खालको होइन’ भनेर छोरीबाट उजुरी लिई मुद्दा अघि बढाएको अभिभावकहरूको भनाइ छ । मुद्दा मिलाउन सबै पक्षलाई करिब ३० लाखको भागबन्डा गरिएको स्रोतले बताए पनि पीडितका बाबुआमाले कुनै रकम नलिएको बताएका छन् ।


एक आरोपी पक्राउ

घटना सार्वजनिक भएलगत्तै प्रहरीले इटहरी १ तरहराबाट बालिकाका प्रेमी जोकम लिम्बूलाई पक्राउ गरेको छ । पक्राउ गरिएका जोकमको बयानका आधारमा घटनाको थप विवरण संकलन गरिने प्रहरीले जनाएको छ । बालिकालाई जबर्जस्ती करणी गर्ने जोकमका साथी मनीष श्रेष्ठ भने फरार छन् । विराटनगर निवासी उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । केही दिनपछि उनी पनि पक्राउ पर्ने प्रहरीले जनाएको छ । घटनामा प्रेमी जोकमले प्रेमिकालाई सुरक्षा प्रदान नगरेर योजनाबद्ध ढंगले साथीका लागि प्रशस्त ‘मौका’ सिर्जना गरिदिएकाले उनी पनि उत्तिकै दोषी रहेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।


छानबिन समिति गठन

घटनाको छानबिन गर्न प्रहरीले कोसी अञ्चल प्रहरी प्रमुख हरिबहादुर पालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको छ । समितिका अन्य सदस्यमा प्रहरी गणका एसपी भीम ढकाल, अञ्चल प्रहरी कार्यालयका डीएसपी भीम दाहाल, प्रहरी नायब निरीक्षक लेखनाथ दाहाल, प्रहरी सहायक निरीक्षक सरस्वती राई छन् । छानबिन समितिले काम सुरु गरिसकेको एसएसपी पालले बताए ।


जघन्य अपराधको घटनामा प्रहरीले ‘जाहेरी परेन र मुद्दा अघि बढाइएन’ भन्ने जवाफ दिन नपाउने भएकाले घटनाका आरोपी र मिलापत्र गराउन भूमिका खेल्ने सबैलाई कानुनको दायरामा ल्याउने एसएसपी पालले बताए । जघन्य अपराध अनुसन्धानमा प्रहरी आफैं सक्रिय हुनुपर्नेमा एकाएक निष्क्रिय देखिनुको कारण खोजी गरिने र दोषीमाथि कारबाही हुने उनले बताए । उनले भने, ‘प्रहरी अथवा अन्य जो भए पनि दोषीमाथि कारबाही हुन्छ ।’ सूक्ष्म रूपमा अध्ययन गरी प्रहरी र बाहिरका बिचौलिया दुवैमाथि कारबाही हुने उनले बताए ।


प्रकाशित : माघ २०, २०७४ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?