२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

विद्यालय बनाउन कस्सिए आइरिस नागरिक

रकम जुटाउन साइकल यात्रा
१० वर्षअघि पर्यटकका रूपमा आएका डक क्लान्डिलनलाई स्वदेश फर्कनै मन लागेन । उनी अहिले यहीँ सामाजिक काममा रमाएका छन् ।
चित्रांग थापा

महेन्द्रनगर — पर्यटकका रूपमा आएका एक आइरिस नागरिक नेपालमा यसरी रमाए कि स्वदेश फर्कनु साटो यतै घरजम गरेर बसे । नेपालमै सामाजिक काममा रमाए । काभ्रेको मन्डनदेउपुर–२ मा प्राथमिक विद्यालय सञ्चालन गरिरहेको नगरहोप संस्थामा आबद्ध उनी यतिबेला विद्यालयको नयाँ भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउने अभियानमा छन् ।

विद्यालय बनाउन कस्सिए आइरिस नागरिक

आयरल्यान्डका ४० वर्षीय डक क्लान्डिलन १० वर्षअघि नेपाल आएका हुन् । केही समयको बसाइमै उनी यतै रमाउन थाले । बिहे पनि यहीँ गरे । १ छोरा र १ छोरीका बुवा बने । डककै पहलमा काभ्रेको मन्डनदेउपुर, साटिकोरियोमा नगरहोप आधारभूत विद्यालय स्थापना भएको छ । त्यहाँ अहिले कक्षा १ का ६५ विद्यार्थी अध्ययनरत छन् ।

अढाई वर्षअघिको शक्तिशाली भूकम्पले विद्यालय भवन चर्कियो । कक्षाकोठामा पढाइ गर्न सकिने अवस्थै रहेन । भूकम्पलगत्तै विद्यालय भवन पुनर्निर्माण अनि नयाँ कक्षाकोठा बनाउन अघि सरेका उनले स्रोत जुटाउन आफ्नै देशवासीलाई गुहारे । साहसिक काम गरेर दाताहरूलाई आकर्षित गर्ने योजना बनाए । उनीहरूलाई आफ्नो कामप्रति खुसी तुल्याएर सकेसम्म बढी सहयोग संकलन गर्नु थियो ।

अनि डक निस्किए– साइकलमार्फत मेची–महाकाली यात्रामा ।

‘साँच्चै भन्ने हो भने आजको दिन अति नै खुसी छु,’ पुस २४ गते काँकडभिट्टाबाट यात्रा सुरु गरी २० औं दिन कञ्चनपुरको सीमानाका गड्डाचौकी पुगेका उनले भने, ‘साइकल यात्रा सुरु भएपछि उता आयरल्यान्डमा मेरा शुभचिन्तकले २० हजार युरो संकलन गरिसकेका छन् ।’ यात्राका योजनाकार डक, उनका मित्र अर्का आइरिस नागरिक लेनी मक गिनिस तथा दुईजना नेपाली अर्जुन रिखाम मगर र अर्जुन ठटालसहित ४ जनाको टोली २० दिनमा १ हजार १ सय ७० किलोमिटर दूरी छिचोल्दै शनिबार गड्डाचौकी पुगेर यात्रा समापन गरेको हो ।

नगरहोप आधारभूत विद्यालयलाई कक्षा ५ सम्म विस्तार गर्ने डकको योजना छ । ‘६ कोठे भवन प्राइमरी ब्लक बनाउने योजना छ,’ उनले भने, ‘यसका लागि ४० हजार युरो (करिब ५० लाख रुपैयाँ) लाग्ने अनुमान छ, अबको २ वर्षपछि विद्यालय भवन निर्माण सम्पन्न हुनेछ ।’ उनले पुरानो भवन भूकम्पले चर्केर बस्नै नहुने भएपछि अघिल्लो वर्ष भत्काएर पुनर्निर्माण गरिएको जानकारी दिए ।

२०६७ सालमा दिव्या घिमिरेसँग बिहे गरेका डकको ससुराली विराटनगर हो । अहिलेको बसोबास ललितपुर, टीकाथलीमा छ । नगरहोपले भूकम्पपछि शिक्षा क्षेत्रमा विभिन्न काम गरेको डक बताउँछन् । विद्यालय भवन निर्माण गर्न आफू ४० वर्ष पुगेको अवसरमा आयरल्यान्डबाट कम्तीमा ४० हजार युरो संकलन गर्ने अठोट लिएको पनि उनले सुनाए ।

यात्राका सहभागी अर्का आइरिस नागरिक लिन पनि नेपाललाई नजिकैबाट हेर्न पाएकोमा निकै रमाएका छन् । ‘पहिलोपटक नेपाल आएको हुँ, अति नै रमाइलो लाग्यो,’ उनले भने, ‘रियल्ली एड्भेन्चर, नेपाल राम्रो, नेपाली झनै राम्रा, चाँडै दोस्रोपटक आउने योजना मिलाउँछु ।’ लेनी आयरल्यान्डका टुर एन्ड ट्राभल व्यवसायी हुन् ।

पूर्व–पश्चिम यात्राका क्रममा उनीहरूले आधा भाग हुलाकी राजमार्ग भएर पार गरे भने आधा पुरानै राजमार्गबाट । ‘पूरा यात्राभरि १ दिन मात्र लुम्बिनीमा बस्यौँ, बाँकी दिन दैनिक ६५ देखि ७० किलोमिटरसम्म पार गर्‍यौं,’ डकले सुनाए, ‘कहीँ कतै समस्या भएन, महेन्द्रनगर आइपुग्दा यहाँको लिटिल बुद्ध स्कुलका ६ जना विद्यार्थी पनि हाम्रो यात्रामा सहभागी भए । यहाँको अतिथि होटलले पनि खाने–बस्ने सबै सुविधा नि:शुल्क उपलब्ध गरायो ।’

प्रकाशित : माघ २१, २०७४ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?