२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

दरबारमार्ग बलात्कार प्रकरण : सामूहिक बलात्कारमा संलग्नमध्ये दुई ठेकेदार

काठमाडौँ — दरबारमार्गमा भएको सामूहिक बलात्कारमा संलग्न भएको आरोप लागेका चारमध्ये विकास गौतम र दीपक श्रेष्ठ ठेक्कापट्टामा संलग्न व्यक्ति भएको खुलेको छ । स्रोतका अनुसार उनीहरू दुवैजना घटनाको दिन नै हेटौंडाबाट काठमाडौं आएका थिए ।

दरबारमार्ग बलात्कार प्रकरण : सामूहिक बलात्कारमा संलग्नमध्ये दुई ठेकेदार

दरबारमार्गको ल्यान्डमार्क होटलमा बसेर घटनाको भोलिपल्टै अर्थात् ८ गते दुवैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर दिल्ली हुँदै चेन्नई पुगेका थिए ।


हेटांैडा निवासी गौतम ‘क’ वर्गका ठेकेदार हुन् । उनको मोतीदान कन्स्ट्रक्सन कान्ति लोकपथ निर्माणमा संग्लन छ । जानकारहरूका अनुसार उक्त कन्स्ट्रक्सनले करिब तीन अर्ब रुपैयाँ बराबरको सरकारी ठेक्कामा काम गरिरहेको छ । उच्च स्रोतका अनुसार गौतम एक सिमेन्ट उद्योगको चुनढुंगा खानीमा पनि संलग्न छन् । प्रहरीले शनिबार मात्रै हेटौंडाबाट सन्देश बीसी र आवेश लामालाई पक्राउ गरेको छ । उनीहरू दुवै गौतमका नजिकका साथी हुन् । बीसीका बाबु भने हेटौंडाकै एक क्रसर उद्योगका मालिकसमेत हुन् । गौतम र श्रेष्ठको विषयमा सूचना लिन प्रहरीले बीसी र लामालाई पक्राउ गरेर काठमाडौं ल्याएको हो ।


शुक्रबार युवतीले प्रेमी शैलेशसहित विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले चारैजनाको खोजी तीव्र बनाएको छ । तर आइतबार अबेरसम्म कसैलाई पक्राउ गरिसकेको छैन । स्रोतका अनुसार चारैजनाको मोबाइल अफ छ । उनीहरूको सम्पर्क पहिल्याउन प्रहरीले सूत्रको खोजी गरिरहेको छ । ‘सामूहिक बलात्कार’ को मुद्दा दर्ता नगरी गुपचुप मिलाउन खोजिएको मुद्दामा दरबारमार्ग वृत्तका डीएसपी तिलक भारतीलाई काठमाडौं प्रहरी परिसर तानिसकिएको छ । त्यस्तै दरबारमार्ग वृत्तको मुद्दा शाखामा कार्यरत इन्स्पेक्टर लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारी निलम्बित भइसकेका छन् ।


घटना मिलाउन लिखित कागज

सामूहिक बलात्कारको घटना मिलाउन प्रहरीले पीडित युवती, उनको परिवार र प्रेमी भनिएका शैलेश कार्की र उनका परिवार राखेर लिखित कागज गरेर घटना थामथुम पार्न खोजेको तथ्य खुलेको छ । कान्तिपुरलाई प्राप्त लिखित सहमतिपत्रमा प्रेमी भनिएका शैलेशकी आमा, पीडित युवतीकी आमा, बाबु र कीर्तिपुर नगरपालिका १८ बस्ने महेश महर्जनले हस्ताक्षर गरेका छन् । उक्त पत्रमा लेखिएको छ, ‘अब आइन्दा यसै विषयलाई लिएर कहीं कतै उजुरबाजुर गर्ने छैन ।’ सहमतिपत्रको अन्तिममा ‘अनुसन्धानको सिलसिलामा यस कार्यालयमा ल्याइएका शैलेश कार्कीलाई निजकै आमाले सकुशल जिम्मा बुझिलिई सही छाप गरिदिएँ’ लेखिएको छ । यसबाट प्रमाणित हुन्छ कि दरबारमार्ग वृत्तभित्रै प्रहरीले पीडित युवती र उनका प्रेमीबीच गोप्य सम्झौता गरेर घटनालाई लुकाएको थियो ।


अनौठो त के छ भने लिखित सम्झौताको अघिल्लो दिन मात्रै प्रसूति गृहमा गराइएको युवतीको स्वास्थ्य जाँचका क्रममा पीडित युवतीले चार युवाले होटलको कोठाभित्र आफूलाई जबर्जस्ती नांगो बनाएको, एक जनाले आफूलाई प्रहरी भएको बताउँदै भिडियो खिचेको, आफू भागेर बाथरुममा लुकेको र केटाहरूले तानेर ल्याएको उल्लेख गरेकी छन् । स्रोतका अनुसार १० गते प्रहरीले दुवै पक्षलाई राखेर मिलापत्र गराएको थियो । सोही मिलापत्रअनुसार शैलेश र उनका साथीहरूले युवतीलाई दुई पटक गरेर २७ लाख रुपैयाँ दिएको स्रोतको दाबी छ । अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकारीले भने, ‘चेन्नईमै रहे पनि घटना बाहिरिने भएपछि गौतम र श्रेष्ठले रकम दिने विषयमा सहमति जनाएको बुझिन्छ ।’ सहमतिको भोलिपल्टै अर्थात् ११ माघमा पीडित युवतीले नै आफ्नो बैंक खातामा रकम जम्मा गरेको देखिन्छ । पीडित युवतीको बैंक स्टेटमेन्टबाट पनि उनको खातामा एकैचोटि ठूलो परिमाणमा रकम जम्मा भएको देखिन्छ ।


महिला अधिकारकर्मीले भेटे प्रहरी प्रमुख

दरबारमार्ग बलात्कार घटनामाथि गम्भीर चासो राख्दै महिला अधिकारकर्मीहरूले आइतबार प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याललाई भेटेका छन् । महिला दबाब समूह र नयाँ शक्ति पार्टीको महिला विभागका सदस्यहरूले आईजीपी अर्यालसँग दरबारमार्ग घटनाबारे बुझ्न र गम्भीर अनुसन्धान गर्न माग राखेका हुन् । नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यमीले यस्ता घटना नदोहोरिऊन् र प्रहरीले गम्भीरता अपनाओस् भनेर आफूहरूले ध्यानाकर्षण गराएको बताइन् । महानिरीक्षक अर्यालले पीडित युवतीलाई काउन्सिलिङ भइराखेको र अनुसन्धानमा कुनै कसुर बाँकी नराखिने प्रतिबद्धता जनाएका थिए ।


प्रकाशित : माघ २१, २०७४ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?