१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

इटहरी बलात्कार प्रकरण - एसपी र इन्स्पेक्टर निलम्बन हुने

जनकराज सापकोटा

काठमाडौँ — गृह मन्त्रालयले इटहरीमा भएको सामूहिक बलात्कार घटना प्रहरी कार्यालयभित्रै गुपचुप मिलापत्र गराएको प्रकरणमा एसपी विद्यानन्द माझी र इन्स्पेक्टर चिरञ्जीवी दाहाललाई निलम्बन गर्ने भएको छ । गृह सचिव मोहनकृष्ण सापकोटाले दुवै जनालाई निलम्बनका लागि प्रहरी प्रधान कार्यालयबाट सिफारिस आइसकेको उल्लेख गर्दै तत्काल निर्णय हुने जानकारी दिए । ‘सिफारिस आइसकेको छ, निलम्बनको प्रक्रिया निर्णयका क्रममा छ,’ उनले भने ।

इटहरी बलात्कार प्रकरण - एसपी र इन्स्पेक्टर निलम्बन हुने

सुनसरीको इटहरी–२० मा बस्दै आएकी १४ वर्षीया किशोरीमाथि गत पुस १६ गते वडा नम्बर २ हलगढास्थित रोयल रिसोर्टमा सामूहिक बलात्कार भएको थियो । १० कक्षाकी छात्रा उनलाई उनकै प्रेमी भनिएका जोकम लिम्बू र मनीष श्रेष्ठले बलात्कार गरेका थिए ।


उक्त घटना गुपचुप मिलापत्र गराएको प्रकरणमा प्रहरीद्वारा गठित छानबिन समितिले जिप्रका सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिन दायरामा राखेको थियो ।


त्यतिबेला इलाका प्रहरी कार्यालयको इन्चार्ज रहेका इन्स्पेक्टर चिरञ्जीवी दाहालले पनि घटना सामसुम पार्न भूमिका खेलेका थिए । मिलापत्रको कागजपत्र लुकाउन र अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै गत सोमबार मात्रै दाहाललाई प्रदेश १ को प्रहरी कार्यालय विराटनगर तानिएको थियो ।


यसअघि राजधानीको दरबारमार्गमा भएको अर्को सामूहिक बलात्कार घटना आर्थिक लेनदेनका आधारमा मिलापत्र गराएको भन्दै गृह मन्त्रालयले सोमबार मात्रै महानगरीय प्रहरी वृत्त दरबारमार्गका इन्स्पेक्टर लक्ष्मण ठकुरीलाई निलम्बन गरिसकेको छ ।


अधिकारकर्मीले भेटे प्रधानमन्त्री

यसैबीच महिला अधिकारवादीहरूले दरबारमार्गको ल्यान्डमार्क होटल र ललितपुरमा भएको सामूहिक बलात्कार प्रकरणका दोषीलाई कारबाही माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । मंगलबार महिला दबाब समूह र नयाँ शक्ति पार्टीको महिला विभागका सदस्यहरूले बालुवाटार पुगेरै देउवालाई भेटेका हुन् ।


अधिकारकर्मीहरूले प्रहरी प्रशासन बलात्कार तथा यौनजन्य हिंसाका दोषीलाई कारबाही गर्न तत्पर नदेखिएको आरोप लगाए । उनीहरूले ललितपुरमा भएको सामूहिक बलात्कारका आरोपीलाई अदालतले साधारण तारेखमा छोडिदिएकामा पनि आपत्ति जनाए । महिला सुरक्षा दबाब समूहकी सावित्री थापाले प्रधानमन्त्री देउवासँग बलात्कार तथा यौनजन्य हिंसाका पीडकमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेकी थिइन् । अधिकारकर्मीले बलात्कारजन्य हिंसाका घटना बढेकामा चिन्ता व्यक्त गर्दै पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । ललितपुर घटनाकी पीडित युवतीलाई सरकारबाट आर्थिक सहयोग गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक देखिएको उनीहरूले जनाएका छन् ।


एसएसपीसमक्ष बयान

इटहरी– बलात्कार घटनालाई मिलापत्रमा टुंग्याएको आरोप लागेका तीन जना प्रहरी अधिकृतसँग छानबिन समितिले बयान लिएको छ । घटना सार्वजनिक भएपछि अञ्चल प्रहरी प्रमुख एसएसपी हरिबहादुर पालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो ।


समितिले प्रहरी निरीक्षक चिरञ्जीवी दाहाल र प्रहरी नायब निरीक्षक भीमबहादुर खत्रीसँग बयान लिएपछि एसपी विद्यानन्द माझीसँग सोधपुछ गरेको हो । चार दिनको बिदामा गएका माझीले हाजिर गरेकै दिन धरानस्थित एसएसपी कार्यालयमा पालसमक्ष बयान दिएका हुन् । पालले भने, ‘एसपी माझीसँग घटनाबारे जानकारी लिने काम सकिएको छ ।’


माझीले मुद्दा चलाउने अधिकार इलाका प्रहरी कार्यालयलाई नै भएकाले त्यो मुद्दा जिल्ला प्रहरी कार्यालयसँग सम्बन्धित नरहेकाले के भएको हो भन्नेमा आफू अनविज्ञ रहेको बताउँदै आएका छन् । प्रहरी निरीक्षक दाहालले एउटा मुद्दा हाल्नुपर्छ भन्ने र अर्काे मिल्नुपर्छ भन्ने पक्षबीच इलाका प्रहरीमा विवाद भएपछि आफूले मिलेर मुद्दा लेखाएर आउन भन्दै बाहिर पठाएको बताउँदै आएका छन् ।


प्रहरी उच्च स्रोतका अनुसार बलात्कारको घटना लेनदेनमा मिलाएको आरोपमा अनुसन्धान गर्न माझी, दाहाल र मुद्दा फाँटका सई भीमबहादुर खत्रीलाई केन्द्रमा बोलाइएको छ । प्रहरी नियमावलीअनुसार प्रहरी नायब निरीक्षकलाई प्रदेश प्रहरी प्रमुखले कारबाही गर्न सक्ने अधिकार छ भने अधिकृत स्तरका प्रहरीलाई हेडक्वार्टरको सिफारिसमा गृह मन्त्रालयले कारबाही गर्छ ।


कारबाही माग

मिलापत्र गर्ने प्रहरी र बलात्कारका आरोपीलाई पक्राउ गरी तत्काल कारबाही गर्न आमा समूह, महिला सञ्जाल, तथा महिलासँग सम्बन्धित विभिन्न तीन दर्जन संघसंस्थाले इलाका प्रहरी कार्यालय अघि धर्ना दिँदै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा घटनाका एक अभियुक्त अझै फेला नपर्नुु, जघन्य अपराधमा मिलपत्र गरिनु कानुनको बर्खिलाफ भएकाले उनीहरूलाई तत्काल पक्राउ गरी कारबाही गरिनुपर्ने माग गरिएको छ ।


बलात्कार आरोपमा युवक पक्राउ

धरान– युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धरान २ स्थित संखुवासभा होटलमा बन्धक बनाएर दुई दिनसम्म बलात्कार गरेको भन्दै युवतीले दिएको उजुरीका आधारमा प्रहरीले खोटाङको दिप्रुङ गाउँपालिका ३ का २२ वर्षीय नवीन राईलाई पक्राउ गरेको हो । युवतीका आफन्तले राईलाई हातपात गरेर दाँत झारिदिएका छन् ।

पुस १३ मा भएको उक्त घटनाको उजुरी सोमबार मात्र आएको हो । धनकुटाको चौबीसे घर भई धरानमा बसेर एक कलेजमा अध्ययरत २० वर्षीया ती युवतीलाई होटलको १०२ नम्बर कोठामा थुनेर बलात्कार गरेको जाहेरीका आधारमा राईलाई पक्राउ गरेको हो । राईले बयानमा बलात्कार गरेको स्विकारेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले बताए । सोमबार युवतीका आफन्तले धरानमा राईलाई भेट्दा हातपात गरेर दाँत झारेका छन् । राईमाथि कुटपिटमा संलग्न युवतीका आफन्तलाई पनि कारबाहीका लागि उजुरी दर्ता गरेको प्रहरी नायब निरीक्षक पौडेलले बताए । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ २४, २०७४ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?