२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

जिल्ला प्रशासनद्वारा प्रधानन्यायाधीश पराजुलीको नागरिकता विवरण दिन इन्‍कार 

काठमाडौँ — जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतमा पठाई सकिएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता सम्बन्धी विवरण दिन इन्‍कार गरेको छ । नागरिक अभियन्ता डा. गोविन्द केसीलगायतले पराजुलीको नागरिकता सम्बन्धमा जानकारी माग्दै यही माघ १० गते जिल्ला प्रशासनमा निवेदन दिएको थियो ।

जिल्ला प्रशासनद्वारा प्रधानन्यायाधीश पराजुलीको नागरिकता विवरण दिन इन्‍कार 

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्वारा हस्ताक्षरित पत्रमा सर्वोच्च अदालतले माघ ५ गते पराजुलीको नागरिकता सम्बन्धमा पठाएको पत्र अनुसार माघ ९ गते नै विवरण पठाई सकिएको उल्लेख गर्दै मुद्दाका पक्षले नक्कल लिन पाउने हुँदा जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराई रहनु नपर्ने उल्लेख गरिएको छ ।


साथै नागरिकता नियमावली अनुसार कर्मचारी र निजका परिवारले आफु कार्यरत रहेको जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन सक्ने पनि उल्लेख गरेको छ । डा. केसीको समुहले यसअघि पराजुलीको नागरिकता सम्बन्धमा तनहुँ जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी माग गर्दै निवेदन दर्ता गराएको छ ।


मेडिकल कलेजका बारेमा सर्वोच्च अदालतले गरेको एक फैसलाको विरुद्ध डा. केसी अनसनमा बसेपछि अदालतको मानहानि भएको भन्दै उनलाई पक्राउ गरिएको थियो । त्यसको सुनुवाईको क्रममा डा. केसीले अन्य आरोपहरुका साथ प्रधानन्यायाधीश पराजुलीले दुई नागरिकता लिएको र त्यसमा फरक विवरण रहेको समेत आरोप लगाएका थिए । त्यही विवरण खोज्ने क्रममा डा. केसीको समुहले नागरिकताको विवरण माग गरेको हो ।

प्रकाशित : माघ २४, २०७४ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?