कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अशोक स्तूपामा चलखेल

दामोदर न्यौपाने

काठमाडौँ — ठमेलको अशोक विहार पुनर्निर्माण हुँदाहुँदै सँधियारले मुद्दा हालिदिए । त्यही कारण बाह्रौं शताब्दीको चैत्य ९० प्रतिशत काम सकिएर रोकिएको छ ।

अशोक स्तूपामा चलखेल

स्तूपाको छेउमा सर्वसाधारण बस्ने गरी पाटी निर्माण गर्ने र सार्वजनिक इनार संरक्षण गर्ने गरी विहार संरक्षण समितिले काम अघि बढाइरहेकै बेला सँधियार विष्णुकुमारी श्रेष्ठले महानगरमा मुद्दा हालिदिएपछि विहार पुर्निर्माण रोकिएको हो । गत वर्ष मंसिरमा मुद्दा हालिएयता समितिका पदाधिकारी महानगरमा मुद्दा खेप्दै हैरान छन् ।

‘महानगरका तत्कालीन कार्यकारी रुद्रसिंह तामाङलाई यसबारे बुझाइसकेका थियौं,’ समितिका अध्यक्ष सञ्जीवकुमार श्रेष्ठ भन्छन्, ‘त्यसपछि नयाँ कार्यकारी आए । उहाँलाई पनि बुझाउन समय लाग्यो । लगत्तै स्थानीय चुनाव आयो । नयाँ मेयर चुनिए । मेयरले समस्या सुनिदेलान् भन्ने आशा थियो । तर मेयरले हामीलाई भन्दा उजुरी दिनेकै कुरा सुन्नुभएको जस्तो आभास भएको छ ।’ समितिका अनुसार सँधियारले सार्वजनिक इनारसमेत मिचेका छन् ।


लिच्छविकालीन अशोक चैत्यको परिसरमा रहेको यो इनार कुनै बेला ठमेलवासीले पानी लैजाने मुख्य स्रोत थियो । समयक्रममा यहाँ घर बन्यो । इनारको आधा भाग पनि घरभित्र पर्‍यो । यो इनार भएको ठाउँको लालपुर्जा अहिले व्यक्तिको नाममा छ । अशोक चैत्य उपभोक्ता समितिका अनुसार २०२४ सालमा यहाँको बाटो र इनार घरभित्र पर्ने गरी बनाइयो । ठमेल क्षेत्रका दुईवटा नक्सा प्राप्त भएका छन् । एउटा नक्सा २००१ सालमा नापी भएको नक्सा हो । त्यतिबेलाको नापीअनुसारको नक्सा २०३२ सालसम्म कायम रह्यो ।


२०३३ सालमा फेरि नापी भयो । २०३३ सालको नक्सा जारी हुनुअघि यो क्षेत्रलाई ‘ठमेल मौजा’ भनेर चिनिन्थ्यो । त्यतिबेला कोहीसँग पनि लालपुर्जा थिएन । भोगचलनको अधिकार मात्रै थियो । त्यसबेला घर निर्माण कार्य लालपुर्जाअनुसार नभई नक्साबमोजिम हुन्थ्यो । २०२४ सालमा यहाँ घर बन्यो । ‘घर बन्दा मिचिएको जग्गालाई घरधनीकै नापमा कायम गरिदिए । मिचिएको झन्डै ४ फिटको बाटो चैत्यको जग्गातिर कायम गरिदिएको नक्सामा देखिन्छ । यसो गर्दा नापीले सार्वजनिक बाटो मिचेको देखाइदिएन,’ श्रेष्ठ भन्छन्, ‘समस्या त्यतिबेलादेखि भयो ।’


पुरानो नक्साअनुसार विहार कित्ता नं. २२३ मा छ । अहिले कित्ता नम्बर १३५ मा छ । बिहारसँगैको पश्चिमतिरको घर २०३२ सालसम्मको नक्सामा कित्ता नम्बर २२२ मा छ । अहिले कित्ता नं. १३४ मा पर्छ । कित्ता नम्बर २२२ को जग्गाको पूर्वतिरको जग्गामा नक्सामा बाटो प्रस्ट देखिन्छ । विहार पुनर्निर्माण गर्ने क्रममा बाटो मिचिएको भन्दै काठमाडौं महानगरपालिकामा उजुरी दिएपछि यो तथ्य बाहिर आएको हो ।


‘सार्वजनिक बाटो मिची गरिने निर्माण कार्य रोकिपाउँ’ भन्दै जग्गाधनी श्रेष्ठले महानगरपालिकामा उजुरी दिएकी थिइन् । त्यो मुद्दा अहिले महानगरले अन्तिम निर्णय गर्ने तयारी गरेको छ । ‘हाम्रो निजी घरजग्गासँग जोडिएको कित्ता नं १ सय ३५ स्थित अशोक स्तूपा नामक मठमन्दिर मर्मत तथा पुनर्निर्माण क्रममा हाम्रो घरजग्गामा आवतजावत प्रयोजनका लागि नेपाल सरकार, नापी विभागको नापनक्साबमोजिम तोकिएको कित्ता नं. ११५ को सार्वजनिक बाटोसमेत मिची निर्माण गर्ने योजना रहेको थाहा पाएको हुँ,’ श्रेष्ठले उजुरीमा भनेकी छिन्, ‘उक्त गैरकानुनी निर्माण कार्य रोकिपाउँ । निर्माण गर्ने क्रममा हामीसँग कुनै मञ्जुरी वा सम्झौतासमेत नभएको अवगत गराउँछौं ।’


महानगरमा उजुरी परेपछि पुरातत्त्व विभागले पुनर्निर्माण रोक्न आदेश दिएको थियो । महानगरको अनुदान र स्थानीयवासीबीच चन्दा उठाएर विहार पुनर्निर्माण सकिएको छ । पश्चिमतर्फको इनार संरक्षण गर्ने र भक्तजन आउँदा बस्नका लागि पाटी बनाउने कार्य भइरहेको थियो । महानगर कानुन विभाग प्रमुख वसन्त आचार्यले छुटेका प्रमाण पछि पेस गर्न सकिने जानकारी दिए ।


‘बहस नोटमा पछि प्रमाण समावेश गर्न सकिन्छ,’ आचार्यले भने, ‘मैले उहाँहरूलाई यो कुरा भनेको छु । प्रमाण पेस गर्नुहुन्छ होला । यसको फैसला आउँदो शुक्रबार हुँदैछ ।’

प्रकाशित : माघ २५, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?