१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

तस्बिरमा नेपाली सेना

काठमाडौँ — महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सेना–नागरिक सम्बन्ध मजबुद बनाउने र सेनाबारे विगतदेखि वर्तमानसम्मको जानकारी दिने उद्देश्यसहित तीनदिने बृहत् प्रदर्शनी बिहीबार आरभ्म भएको छ । नागरिक र सैनिकको सम्बन्ध थप निकट ल्याउन नेपाली सेनाले यस प्रकारको प्रदर्शनी पहिलो पटक गरेको जनाएको छ ।

तस्बिरमा नेपाली सेना

सेनाले प्रयोग गर्ने पुराना/आधुनिक हतियार, युनिफर्मको सुधार प्रक्रिया, सेनाको अभ्यास, काम, विकास परियोजनामा सेना, दुखमा सेना, पुराना इतिहास, बदलिँदै आएको पछिल्लो सेनाको अवस्थालगायतलाई उजागर गर्ने गरी प्रदर्शनी सुरु भएको हो ।


‘नेपाली सेना इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा आयोजित प्रदर्शनीको प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेर सर्वसाधारणका लागि समेत खुला गरिएको हो । सैन्य मुख्यालयमा रहेको आर्मी अफिसर्स क्लबमा र प्रांगणमा गरिएको उक्त प्रदर्शनीमा सर्वसाधारणदेखि विद्यार्थीहरुको चर्को भीड लागेको थियो ।


‘ऐतिहासिक विषयले सधैं वर्तमानलाई घचघच्याउने हुनाले पनि यस प्रकारको प्रदर्शनी सेनाले गरेको हो,’ विद्यार्थीहरुलाई समेत बुझाउन व्यस्त रहेका सैनिक जनसम्पर्क निर्देशनालयअन्तर्गत श्रव्य–दृश्य महाशाखाका महासेनानी (कर्णेल) ईश्वरकुमार श्रेष्ठ भने, ‘उपलब्ध भएसम्म नेपाली सेनाको स्थापनादेखि अहिलेसम्मका सबै पक्ष झल्काउने खालका सामग्रीहरु प्रदर्शनीमा राखिएका छौँ ।’


विभिन्न खण्डमा आयोजना गरिएको उक्त प्रदर्शनीमा नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि विभिन्न कालखण्डमा राष्ट्र र जनताप्रति समर्पित भई गरेका गौरव गाथा समेटिएका तस्बिरहरु पनि थिए । तत्कालीन हातहतियार, ऐतिहासिक तथा हालका उपकरण र अन्य सैन्य सामग्रीदेखि नेपालमा नै बनेको बम डिस्पोजल उपकरणसमेत प्रदर्शनीमा थियो । उक्त बम डिस्पोजल गणेशविक्रम आलेको समूहले नेपाली सेनालाई बिक्री गरेको त्यहाँ उपस्थित एकले जानकारी दिए ।


यस अलवा नेपाली सेनाले प्रकाशन गरेका पुस्तकहरुको अध्ययन गर्ने व्यवस्थासमेत गरिएको थियो । सेनाका सहप्रवक्ता तथा महासेनानी विजय थापाले यस्ता पुस्तकहरुको अध्ययन गर्न चाहनेलाई जनसम्पर्क दिर्नेशनालयका अधिकारीहरुसँग बसेर बुझ्ने र बढ्न पाउने उल्लेख गरे । जनसम्पर्क निर्देशनालयमा अधिकांश अधिकारीहरु त्यहाँ खटिएका थिए । प्रदर्शनी हेरेर केही ऐतिहासिक जानकारीका लागि पुस्तकसमेत अध्ययनका लागि राखिएका छन् ।


नेपाली सेनाले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा सम्पादन गरेका जोखिमपूर्ण काम, मुलुकको विकास–निर्माणका योगदान, विश्वका विभिन्न भागमा शान्ति स्थापना गर्न शान्तिसेनामार्फत गरेको सेवा, दैवी विपत्ति तथा आपत्कालीन अवस्थाका उद्धार, खोजलगायत विषय ‘शब्दचित्र र तस्बिर’ मा समेटिएका सामग्री पनि प्रदर्शनीमा समावेश गरिएको छ । नेपालको इतिहास सेनासँग जोडिएकाले पनि यो प्रदर्शनीले नेपालको पुरानो अवस्थालाई झल्काएको छ । फोटो प्रदर्शनीमा पहिलो र दोस्रो विश्व यद्धकालीन तस्बिर, राष्ट्रसंघीय शान्ति मिसनमा, नेचर कन्जरभेसन, विकास कार्यक्रम, हिमाल आरोहण, प्यारा जम्पलगायत विविध पक्ष समेटिएको थियो ।

प्रकाशित : माघ २६, २०७४ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?