कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

राष्ट्रिय सभामा मनोनीत हुने सिटमा नाम सिफारिस गरिँदै

बस्नेत, पौडेल र जोशीको नाम पठाउने तयारी

काठमाडौँ — सरकारले राष्ट्रिय सभामा ३ सदस्य मनोनयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नाम सिफारिस गर्ने तयारी अघि बढाएको छ । कानुनमन्त्री यज्ञबहादुर थापाले ३ जना सदस्यको नाम सिफारिस गर्ने जिम्मेवारी मन्त्रिपरिषद्ले प्रधानमन्त्रीलाई दिएको बताए । ‘३ जना सिफारिस गर्ने निर्णय भएको छ, नामको सन्दर्भमा निर्णय लिन प्रधानमन्त्रीलाई जिम्मेवारी दिइएको छ,’ मन्त्री थापाले भने । 

राष्ट्रिय सभामा मनोनीत हुने सिटमा नाम सिफारिस गरिँदै

संविधानको धारा ८६ को २ (ख) अनुसार सरकारले राष्ट्रिय सभामा ३ जना सदस्य मनोनीत गर्न पाउँछ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् निर्णयअनुसार शनिबार बिहान गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम मनोनयनका लागि राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेका छन् । सरकारको यो मनोनयनसँगै राष्ट्रिय सभाले पूर्णता पाउनेछ । बैठकमा राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले बन्दना राणालाई नियुक्त गर्न अडान राखेपछि मन्त्रिपरिषद्ले अन्तिम निर्णय लिन प्रधानमन्त्रीलाई जिम्मा दिएको थियो । प्रधानमन्त्रीले जोशीको नाम तय गरेको स्रोतले जनायो ।


बस्नेत र पौडेल कांग्रेस नेता हुन् भने जोशीलाई राप्रपा (प्रजातान्त्रिक) को कोटाबाट सिफारिस गर्न लागिएको हो । बस्नेत झापाका पुराना कांग्रेस नेता हुन् । उनी झापा जिल्ला कार्यसमितिका पूर्वसचिवसमेत हुन् । ०५१ सालको मध्यावधि निर्वाचनमा पराजित भएपछि उनी क्रियाशील राजनीतिबाट सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका थिए । बस्नेत देउवाका विश्वासपात्र हुन् । पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुन् । देउवाले पार्टी सभापति भएलगत्तै उनलाई मुख्यसचिव बनाएका थिए । नेविसंघबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका पौडेल शिक्षक संघ र ट्रेड युनियन कांग्रेसमा आबद्ध थिए । उनी स्याङ्जाको भीरकोट नगरपालिका १ निवासी हुन् । ७२ वर्षीय जोशी महिला विकासका लागि संयुक्त राष्ट्रसंघीय कोष (यूएनआईएफईएम) को दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन् ।


यो सिफारिसमा राजपा र संघीय फोरमले भने आपत्ति जनाएका छन् । मनोनीत हुने तीनमध्ये एक सिट आफूहरूले पाउनुपर्ने माग गर्दै आएका यी दुई दलले प्रधानमन्त्रीले सल्लाह नगरी आफूखुसी नाम सिफारिस गर्न लागेको भन्दै आपत्ति जनाएका हुन् । प्रदेश २ को राष्ट्रिय सभा चुनावमा कांग्रेस र यी दुई दलबीच भएको चुनावी तालमेलमा मनोनीत एक सिट राजपा–फोरमलाई दिने सहमति गरिएकोमा देउवाले त्यसलाई तोडेको उनीहरूले आरोप लगाएका छन् ।

प्रकाशित : माघ २६, २०७४ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?