कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चुनाव भएको ६४ दिनपछि समानुपातिकको परिणाम आयो

एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७, राजपाले ६ र फोरमले ६ सिट पाए 
तीन दिनभित्र नाम दिन दलहरुलाई पत्राचार 
राजेश मिश्र

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन समपन्न भएको ६४ दिनपछि शुक्रबार समानुपातिक निर्वाचन प्रणालीतर्फको मत परिणाम सार्वजनिक गर्दै पाएको सिट संख्या अनुसार विजयी हुने उम्मेदवारको नाम प्रस्ताव गर्न राजनीतिक दलहरुलाई पत्राचार गरेको छ ।

चुनाव भएको ६४ दिनपछि समानुपातिकको परिणाम आयो

दुई दिन अगाडि राष्ट्रियसभाको निर्वाचन सम्पन्न भई त्यसको परिणाम आइसकेपछि आयोगलाई समानुपातिकको परिणाम दिन बाटो खुलेको हो ।


समानुपातिकतर्फको १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टीले ६ र संघीय समाजवादी फोरमले ६ पाएको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमालेको १२१, कांग्रेसको ६३, माओवादीको ५३, राजपाको १७, फोरमको १६ सांसदको उपस्थिति रहनेछन् । त्यसबाहेक राप्रपा १, नयाँ शक्ति पार्टी १, राष्ट्रिय जनमोर्चा १, नेमकिपा १ र स्वतन्त्र १ गरी ५ जनाको उपस्थिति हुनेछ ।


५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । निर्वाचनबाट छानिएका ५६ मध्ये एमालेका २७, कांग्रेसका १३, माओवादीका १२, राजपाका २ र फोरमका २ जना सांसदको प्रतिनिधित्व रहने छ ।


कानुन अनुसार तीन प्रतिशत मत कटाउन सफल भएका पाँच दलले मात्रै समानुपातिकतर्फबाट संसदमा प्रतिनिधित्व गर्न पाएका छन् । यी पाँच दलमात्रै संसदमा राष्ट्रिय दलको मान्यतामा प्रतिनिधित्व पाउनेछन् । कानुनले प्रत्यक्ष न्यूनतम एक सिट जितेको र समानुपातिकबाट तीन प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भनेको छ ।


निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ ९५ लाख ४४ हजार ७ सय ७९ मत सदर भएको थियो । त्यसमा एमालेले ३१ लाख ७३ हजार ४ सय ९४, कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९, माओवादीले १३ लाख ३ हजार ७ सय २१, राजपाले ४ लाख ७२ हजार २ सय ५४ र फोरमले ४ लाख ७० हजार २ सय १ मत पाएको हो । ती पाँच दलले पाएको कुल मतसंख्या ८५ लाख ८४ हजार ५९ छ । एमालेले पाएको मत प्रतिशत ३७ दशमलव १, कांग्रेसको ३६ दशमलव ६, माओवादीको १५ दशमलव ३, राजपाको ५ दशमलव ५ र फोरमले पनि पाएको मत प्रतिशत ५ दशमलव ५ रहेको छ ।


समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ दलले भाग लिएका थिए । त्यसमध्ये ४४ दलले ३ प्रतिशत मत कटाउन सकेनन् । उनीहरुले पाएको करीब १० लाख मतको प्रतिनिधित्व हुने छैन । त्यस्तै, करीब १० लाख मत बदर भएको देखिएको छ ।


आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने संवैधानिक प्रावधानका कारण समानुपातिकको परिणाम दिन राष्ट्रियसभा निर्वाचन पर्खिएको बताए । ‘राष्ट्रियसभाको निर्वाचन परिणाम आएसँगै आयोगले समानुपातिकको परिणाम दिएको हो’ उनले भने ‘ढिलोमा फागुन ५ भित्र सम्पूर्ण परिणाम राष्ट्रपतिसमक्ष बुझाइसक्छौं ।’


आयोगले समानुपातिकबाट सिट पाएका पाँच दलले माघ २९ गते कार्यालय समयभित्र बन्दसूचीबाट नामावली बुझाउन पत्राचार गरेको छ । दलहरुले नाम पठाउन तीन दिनको समय पाएका छन् । कानुन अनुसार दलहरुले पठाएको नाममा समावेशी समूह वा क्रम आवद्धता मिलेको नपाइए सच्याउन दुई दिनका समय दिइने ढकालले बताए ।


आयोगले दलहरूले पाएको सिटको अनुपातमा पठाउनुपर्ने महिला तथा अन्य समावेशी समूहको संख्या यकिन गरी पत्राचार गरेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने दलले प्रत्यक्ष र राष्ट्रियबाट एक तिहाइ महिला पुर्‍याउन नपुग हुने संख्या समानुपातिक सूचीबाट पठाउनुपर्ने कानूनी प्रावधानका कारण समानुपातिकबाट दलहरूले पठाउनुपर्ने महिलाको संख्या यकिन गर्न राष्ट्रियसभा निर्वाचन पर्खिएको थियो । प्रतिनिधिसभामा प्रत्यक्षबाट तथा राष्ट्रियसभामा कुन दलले कति संख्यामा महिलालाई प्रतिनिधत्व गराउन सफल भएको स्पष्ट भएपछि आयोगलाई समानुपातिकतर्फ महिलाको संख्या यकिन गरेर माग्न सहज भएको हो ।


त्यस अनुसार आयोगले समानुपातिकमा ४१ सिट पाएको एमालेलाई ३७ जना महिला, ४० सिट पाएको कांग्रेसलाई २० जना महिला, १७ सिट पाएको माओवादीलाई १६ जना महिला, ६ सिट पाएको राजपालाई ६ जना महिला तथा ६ सिट पाएको फोरमलाई कम्तीमा ५ जना महिलाको नाम बन्दसूचीबाट पठाउन पत्राचार गरेको छ । समानुपातिकतर्फको १ सय १० सिटमा कम्तीमा ८४ जना महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ । दलले आयोगले तोकेकोभन्दा बढी संख्यामा महिलाको नाम पठाए उक्त संख्या बढ्न सक्छ ।

प्रकाशित : माघ २६, २०७४ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?