१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

विरामी महिलालाई बलात्कार गर्ने अभियुक्तलाई ६ वर्ष कैद

भीमबहादुर सिंह

जाजरकोट — जिल्ला अदालत जाजरकोटले एक विरामी महिलालाई बलात्कार गर्ने अभियुक्तलाई कैद र क्षतिपूर्तिको फैसला गरेको छ । जिल्ला न्यायाधीश देवकुमार गिरीको इजलासबाट उक्त फैसला गरेको हो ।

विरामी महिलालाई बलात्कार गर्ने अभियुक्तलाई ६ वर्ष कैद

जिल्ला न्यायाधीश गिरीको इजलासबाट छेडागार नगरपालिका-८, सुवानाउलीका २६ वर्षीय दलबहादुर विटालुलाई ६ वर्ष कैदका साथै ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको हो ।


अभियुक्त विटालुले गत साउनमा सोही नगरपालिका-५, बाँकामा ४५ वर्षीय विरामी महिलालाई अमानवीय तवरले जवरजस्ती करणी गरेका थिए । अभियुक्त विटालुले सिकिस्त विरामी भएर बाटोमा पल्टिएकी महिलालाई शरीरमा लगाएको कपडा च्यात्नुको साथै यौनाङ्ग तथा शरीरको अन्य भागमा घाउचोट बनाएर करणी गरेका थिए ।


घटनास्थलको मचुल्का, पीडितको शरीरका घाउचोट र पीडित तथा पीडकले लगाएको बस्त्रमा मानव वीर्य फेला परेको परीक्षण प्रतिवेदन लगायत प्रमाणका आधारमा पीडक विटालुलाई कैद तथा क्षतिपूर्ति भराउने फैसला भएको श्रेस्तेदार अधिकृत मेघनाथ चापागाईंले बताए ।


मानव वीर्य परीक्षण प्रतिवेदन प्रमाणका आधारमा कैद जरिवानाको फैसला भएको जाजरकोटमा पहिलो भएको उनले बताए । मदिरा सेवन गरेर मात्तिएका विटालुले विरामी तथा विधुवा महिलालाई मध्य पहाडी लोकमार्गको बाँकामा जंगली ब्यबहार देखाएर बलात्कार गरेको उनले बताए ।


अभियुक्त विटालुलाई मुलुकी ऐन जवरजस्तीकरणी महलको ३(५) बमोजिम ६ वर्ष कैद र १० नं अनुसार ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको उनले बताए । अभियुक्त विटालु ६ महिनादेखि जिल्ला कारागार जाजरकोटमा कैदा भुक्तान गरीरहेका छन् । पीडित महिलाको भने घटनाको ५ महिना पछि मृत्यु भइसकेको चापागाईंले बताए ।


त्यस्तै अदालतले हाडनाता करणीका अभियुक्तलाई पनि जनही १/१ वर्ष कैदको फैसला गरेको छ । भेरी नगरपालिका-१२, जगतीपुरका सुदाम भण्डारी र डिल्ली भण्डारीलाई हाडनाता करणी अभियोगमा उक्त कैदको फैसला भएको हो । उनीहरु ४ पुस्ता भित्रका देवर र भाउजु नाताका हुन् । डिल्लीका श्रीमान् कर्ण भण्डारीको जाहेरीले प्रतिवादी सुदाम र डिल्लीलाई अदालतबाट कैदको फैसला भएको श्रेस्तेदार अधिकृत चापागाईले बताए ।

प्रकाशित : माघ २७, २०७४ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?