दिन बिराएर खानेपानी

४६ करोडमा खानेपानी आयोजना निर्माण भए पनि खाँदबारीका बासिन्दा खोलाको धमिलो पानी पिउन बाध्य
दीपेन्द्र शाक्य

संखुवासभा — सदरमुकाम खाँदबारी र चिचिला गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी ४६ करोड लागतमा खानेपानी आयोजना निर्माण गरिए पनि उपभोक्ताले भने पिउने पानी पाएका छैनन् । उनीहरू खोलाकै धमिलो पानी पिउन बाध्य छन् ।

चार पटकसम्म निर्माण अवधि थपेर खाँदबारी साना सहरी खानेपानी आयोजना सम्पन भएको थियो । ठेकेदार कम्पनीले आयोजना जिम्मा लगाइसकेको छ । निर्माण सम्पन्न भए पनि सदरमुकाम खाँदबारीका उपभोक्ताले आयोजनाबाट उपलब्ध पानी खान पाएका छैनन् । खाँदबारीमा २ दिन बिराएर पानी वितरण गर्ने गरिएको छ । अन्तिमपटक ठेकेदार कम्पनी र आयोजनाबीच २०७४ पुस १६ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । निर्माण कार्य सकिएर आयोजना जिम्मा लगाइए पनि पानीको चरम अभाव छ । कतिपय धारामा मिटरसमेत जडान गरिएको छैन । सदरमुकाममा पानीकै हाहाकार छ ।


पानी सञ्चालनमा आए पनि उपभोक्ताका घरसम्म पुग्न नसकेको हो । पानी नआएपछि जिल्ला कारागारका कैदीबन्दीलाई समस्या छ । जेलर विनोद अधिकारीका अनुसार पानी नआउँदा दैनिकी कष्टपूर्ण बनेको छ । ‘दैनिक २ ट्यांकर सभाखोलाबाट पानी ल्याउने गरिएको छ,’ उनले भने, ‘जुन यहाँका लागि पर्याप्त होइन ।’ सभाखोलाबाट दैनिक २ ट्यांकर अर्थात् ८ हजार लिटर पानी ल्याउँदा प्रतिलिटर १ रुपैयाँ २५ पैसा तिर्नुपर्छ ।


जिल्ला अस्पताल पनि सभाखोलाकै धमिलो पानीको भरमा चल्छ । पानीको अभावमा ल्याब, अप्रेसन थिएटर सेवा प्रभावित हुने गरेको स्वास्थ्य प्रमुख विनीतकुमार झाले बताए । अस्पतालमा पानीको चरम अभाव भएपछि खोलाको पानी प्रतिलिटर १ रुपैयाँ २५ पैसाले किन्नुपरेको प्रमुख झाले बताए ।

‘अस्पतालमा दैनिक १२ हजार लिटर पानी आवश्यक पर्छ,’ उनले भने, ‘महँगो भएकाले खोलाबाट ल्याएको २ ट्यांकर पानीले काम चलाएका छौं।’ पानी अभावमा अस्पताल परिसरकै निवास, जिल्ला स्वास्थ्य र बिरामी कुरुवाले बाहिरबाट पानी ल्याउनुपर्ने बाध्यता छ । यो आयोजनाका लागि स्थानीयले ५० प्रतिशत लगानी गरेका छन् । बाँकी एडीबी र र नगर विकासबाट ऋण लिइएको छ । आयोजना २०७० देखि सुरु गरिएको खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव डिल्लीराम श्रेष्ठले बताए ।


स्थानीयबाट प्रत्यक्ष रूपमा ५ प्रतिशत रकम संकलन गरिएको थियो । ४५ प्रतिशत अप्रत्यक्ष रूपमा नगर विकास कोषको ऋण लिइएको सचिव श्रेष्ठले बताए । आयोजना ३४ करोड ८३ लाखमा सिनोटेक र आशिष कन्ट्रक्सनलाई ठेक्का दिइएको थियो । ठेकेदार कम्पनीले ठेक्काभित्रको सबै काम गत पुस १६ गते सम्पन्न गरिसकेका छन् । ३४ करोड ८३ लाखको २५ प्रतिशत मूल्य समायोजन गर्दा ३७ करोड ७५ लाख हुन्छ । यसमा झन्डै तीन करोड थपिन्छ । यसरी आन्तरिक र बाहय सबै गरी आयोजनामा कुल लागत ४६ करोड बराबरको लगानी भएको श्रेष्ठले बताए ।


सदरमुकाम खाँदबारीदेखि पानीको मुहान ४३ किलोमिटर टाढा पर्छ । खानेपानीको मुहान टाढा भएकाले आयोजना सम्पन्न गर्न चार वर्ष लागेको सचिव श्रेष्ठले स्वीकारे । मुहान नजिकैको मांसिमा भीरबाट पाइप गाडेर ल्याउनुपर्ने हुँदा भीरमा काम गर्न समस्या पर्नुका साथै पहिले स्टिमेट गर्दा नापजाँच तलमाथि भएकाले ‘ट्रयाक चेन्ज’ गरेर ल्याउनुपर्दा पनि ढिलो भएको बताए ।


अर्कोतिर मुहान टाढा भए पनि ठाउँठाउँमा पाइपहरू फुट्ने र सडकमा पाइप गाडेर ल्याउनुपर्ने भएकाले सडक कार्यालयको समन्वयलगायत विभिन्न कारणहरूले गर्दा ढिलो भएको उनको भनाइ छ । मकालु गाउँपालिका ५ मांसिमा रहेको सिमाली खोलाबाट दैनिक २३ लाख लिटर खानेपानी आउँछ । सिमाली खोलाबाट ३५ किलोमिटर तल रहेको चिचिला गाउँपालिकाको कुवापानीमा बनेको ट्रिटमेन्ट प्लान्टसम्म प्रतिसेकेन्ड २७ लिटरका दरले पानी झर्छ । २४ घण्टामा प्रतिघण्टा ९७ हजार २ सय लिटर पानी जम्मा हुन्छ । २४ घण्टामा २३ लाख ३२ हजार ८ सय लिटर पानी आए पनि उपभोक्ताले भने पिउन पाएका छैनन् ।

प्रकाशित : माघ २८, २०७४ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?