अझै विश्वस्त छैन दिल्ली

टिप्पणी
प्रधानमन्त्री भएपछि ओलीले लिने नीति एवं कदमले दुईपक्षीय सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने निर्क्यौल गर्नेछ 
कमलदेव भट्टराई, सुरेशराज न्यौपाने

नयाँदिल्ली — विदेशमन्त्री सुष्मा स्वराजलाई काठमाडौं पठाएर सम्बन्ध सुधारको प्रयास थालेको दिल्ली एमाले अध्यक्ष केपी ओलीले नेतृत्व गर्ने नेपाली सरकारसँग सम्बन्ध सुधार हुनेमा तत्कालै त्यति विश्वस्त देखिँदैन । दिल्ली यतिबेला ‘पर्ख र हेर’ को नीतिमा छ ।

सरकारी अधिकारी तथा कूटनीतिज्ञका अनुसार प्रधानमन्त्री भएपछि ओलीले लिने नीति एवं कदमले दुईपक्षीय सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने निक्र्योल गर्नेछ । उनीहरूका अनुसार केही महिनायता भारतको राजनीतिक नेतृत्वले ओली नेतृत्वमा आगामी दिनमा बन्ने सरकारसँग काम गर्न हात अगाडि बढाएको छ । तर सम्बन्ध कता जान्छ स्पष्ट रूपमा भन्न सकिने अवस्था छैन ।

‘अहिले नै यसै भन्न सकिँदैन, तर भारतले ओलीसँग सम्बन्ध सुधारका लागि हात अगाडि बढाएको छ,’ भारतीय सेनाका पूर्वजनरल एवं नेपाल मामिलाका जानकार अशोक मेहताले कान्तिपुरसँग भने, ‘भारतका विदेशमन्त्रीले कुनै पनि औपचारिक निम्ता (यद्यपि ओलीको निम्तोमा भ्रमण गरेको भन्ने छ) बिना विरलै नेपालको भ्रमण गर्ने गर्छन्, तर स्वराजले बिना औपचारिक निम्ता भ्रमण गरेकी छन्, यो सामान्य घटना होइन ।’ धेरैले यो भ्रमणलाई कोर्स करेक्सनका रूपमा लिएका छन् । ओली आफैंले भारतसँग सम्बन्ध सुधारका लागि पहल गरेका हुन् र आगामी बाटो पनि उनले लिने नीतिमा नै निर्भर हुने विश्लेषकको बुझाइ छ ।

विशेषगरी, मधेसवादी दलका माग सम्बोधन गर्न संविधान संशोधनको विषयलाई लिएर ओली र भारतको सम्बन्धमा चिसोपन आएको थियो । भारतले तत्काललाई संविधान संशोधनको विषय छाडेको हुनाले सम्बन्ध सहज रूपमा अगाडि बढ्ने एकथरीको विश्लेषण छ । ‘नाकाबन्दीका कारण नेपालमा भारतविरोधी भावना बढेको र यही एजेन्डाका कारण पनि वाम गठबन्धनले चुनाव जितेको महसुस दिल्लीले गरेको छ । त्यतिमात्र होइन संविधान संशोधनको विषय कूटनीतिक माध्यमले उठाउनुपर्नेमा त्यसमा आफू चुकेको महसुस गरेको छ,’ मेहताले भने ।

मधेस केन्द्रित दलहरूले उठाइरहेको संविधान संशोधनको विषयलाई भारतले तत्काल नउठाउने भएपछि ओली र भारतको सम्बन्धमा यो विषय पहिलेको जस्तो प्राथमिकताका साथ उठ्ने छैन । विगत ३ वर्षमा ओली र भारतको सम्बन्धमा संविधान संशोधनको विषय मुख्य विषय थियो, तर अहिलेका लागि त्यो विषय थाँती राख्नेमा दुवै सहमत देखिन्छन्, तथापि नयाँदिल्लीस्थित विश्लेषकहरूका अनुसार अब ओलीले चीनको सम्बन्धमा लिने नीतिले दुई देशबीचको सम्बन्धको दिशा तय गर्नेछ ।

विशेषत: नेपालमा बढदो चिनियाँ प्रभावले आफ्नो राष्ट्रिय सुरक्षामा असर गर्ने भनी भारतीय पक्षले चासो व्यक्त गरिरहेको छ । ‘नेपालमा बढदो चिनियाँ प्रभाव आफ्ना लागि हितकर छैन भन्ने भारतीय पक्षको बुझाइ छ, त्यसैले ओलीले चीनको सम्बन्धमा लिने नीतिमा दिल्लीको चासो देखिन्छ,’ मेहताले भने ।
स्रोतका अनुसार नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीको पहलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई दुई–दुई पटक फोन गरेका थिए । फोन संवादका क्रममा ओलीले आफूले राजनीतिक तहसँग नै सम्बन्ध विस्तार गर्न चाहेको आशय व्यक्त गरेपछि मोदीले सुष्मालाई पठाउने निर्णय गरेका थिए ।

नेपालमा जस्तै दिल्लीमा पनि यतिबेला स्वराज भ्रमणको समयका बारेमा भने बहस नै चलिरहेको छ । नेपालमा नयाँ सरकार नबन्दै हतारिएर भ्रमणमा जान आवश्यक थिएन भन्ने राय एकथरी भारतीय कूटनीतिज्ञको छ । विशेषत: नेपालका लागि भारतीय राजदूतको भूमिका निर्वाह गरिसकेका पूर्वराजदूतहरूले भ्रमणको समयका बारेमा प्रश्न उठाइरहेका छन् । नयाँ सरकार बनिसकेपछि मात्र भ्रमण गरेको भए उचित हुने विचारसमेत कूटनीतिक वृत्तमा उठिरहेको छ । अबको दुई वर्ष लगातार मोदी निर्वाचनमा व्यस्त हुने भएकाले नेपाललगायत छिमेकी मुलुकमा उनले कम ध्यान दिनेछन् । निर्वाचनको समयमा छिमेकीसँगको सम्बन्ध ट्रयाकमा रहेको सन्देश मोदीले दिन चाहिरहेका छन् । मोदीले त्यसैले पनि प्रोएक्टिभ ढंगले नेपालसँगको सम्बन्धलाई अगाडि बढाइरहेको विश्लेषकहरूको बुझाइ छ ।
ओलीले भारत भ्रमण गर्नुभन्दा अगाडि नै मोदीले नेपाल भ्रमण गर्न सक्ने कुरालाई विश्लेषकहरू अस्वीकार गर्दैनन् । ‘मोदीले कति बेला के निर्णय र मुभ गर्छन्, कसैले आकलन गर्न सक्दैनन्, त्यसैले उनले ओलीले भन्दा पहिला नेपालको भ्रमण गरे भने आश्चर्य नमाने हुन्छ,’ एक अधिकारीले भने ।

अर्काेतर्फ दिल्ली यतिबेला नेपालको आन्तरिक मामिलामा आफूले हस्तक्षेप नगर्ने सन्देश दिन खोजिरहेको छ । एमाले र माओवादी केन्द्रबीचमा पार्टी एकता नहोस् भन्ने आफूहरूको चाहना भए पनि पहिलेको जस्तो आफूहरूको कुनै प्रेस्क्रिप्सन नरहेको भारतीय पक्षको दाबी छ । विदेशमन्त्री स्वराजको भ्रमणले विशेषगरी एमाले नेतृत्व पंक्ति सम्बन्धमा सुधारमा बढी नै आशावादी देखिए पनि ओली नेतृत्वमा बन्ने सरकारले चीनका सम्बन्धमा अख्तियार गर्ने नीतिले नै नेपाल–भारत सम्बन्धमा न्यानोपन आउँछ अथवा तिक्त हुन्छ भन्ने प्रस्ट हुने दिल्लीको बुझाइ छ । सुष्माको भ्रमणको विषयमा चीनको के प्रतिक्रिया आउँछ, त्यसको पर्खाइमा दिल्ली रहेको देखिन्छ ।

प्रकाशित : माघ २८, २०७४ ०७:३५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दिन बिराएर खानेपानी

४६ करोडमा खानेपानी आयोजना निर्माण भए पनि खाँदबारीका बासिन्दा खोलाको धमिलो पानी पिउन बाध्य
दीपेन्द्र शाक्य

संखुवासभा — सदरमुकाम खाँदबारी र चिचिला गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी ४६ करोड लागतमा खानेपानी आयोजना निर्माण गरिए पनि उपभोक्ताले भने पिउने पानी पाएका छैनन् । उनीहरू खोलाकै धमिलो पानी पिउन बाध्य छन् ।


चार पटकसम्म निर्माण अवधि थपेर खाँदबारी साना सहरी खानेपानी आयोजना सम्पन भएको थियो । ठेकेदार कम्पनीले आयोजना जिम्मा लगाइसकेको छ । निर्माण सम्पन्न भए पनि सदरमुकाम खाँदबारीका उपभोक्ताले आयोजनाबाट उपलब्ध पानी खान पाएका छैनन् । खाँदबारीमा २ दिन बिराएर पानी वितरण गर्ने गरिएको छ । अन्तिमपटक ठेकेदार कम्पनी र आयोजनाबीच २०७४ पुस १६ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । निर्माण कार्य सकिएर आयोजना जिम्मा लगाइए पनि पानीको चरम अभाव छ । कतिपय धारामा मिटरसमेत जडान गरिएको छैन । सदरमुकाममा पानीकै हाहाकार छ ।

पानी सञ्चालनमा आए पनि उपभोक्ताका घरसम्म पुग्न नसकेको हो । पानी नआएपछि जिल्ला कारागारका कैदीबन्दीलाई समस्या छ । जेलर विनोद अधिकारीका अनुसार पानी नआउँदा दैनिकी कष्टपूर्ण बनेको छ । ‘दैनिक २ ट्यांकर सभाखोलाबाट पानी ल्याउने गरिएको छ,’ उनले भने, ‘जुन यहाँका लागि पर्याप्त होइन ।’ सभाखोलाबाट दैनिक २ ट्यांकर अर्थात् ८ हजार लिटर पानी ल्याउँदा प्रतिलिटर १ रुपैयाँ २५ पैसा तिर्नुपर्छ ।

जिल्ला अस्पताल पनि सभाखोलाकै धमिलो पानीको भरमा चल्छ । पानीको अभावमा ल्याब, अप्रेसन थिएटर सेवा प्रभावित हुने गरेको स्वास्थ्य प्रमुख विनीतकुमार झाले बताए । अस्पतालमा पानीको चरम अभाव भएपछि खोलाको पानी प्रतिलिटर १ रुपैयाँ २५ पैसाले किन्नुपरेको प्रमुख झाले बताए ।
‘अस्पतालमा दैनिक १२ हजार लिटर पानी आवश्यक पर्छ,’ उनले भने, ‘महँगो भएकाले खोलाबाट ल्याएको २ ट्यांकर पानीले काम चलाएका छौं।’ पानी अभावमा अस्पताल परिसरकै निवास, जिल्ला स्वास्थ्य र बिरामी कुरुवाले बाहिरबाट पानी ल्याउनुपर्ने बाध्यता छ । यो आयोजनाका लागि स्थानीयले ५० प्रतिशत लगानी गरेका छन् । बाँकी एडीबी र र नगर विकासबाट ऋण लिइएको छ । आयोजना २०७० देखिसुरु गरिएको खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव डिल्लीराम श्रेष्ठले बताए ।

स्थानीयबाट प्रत्यक्ष रूपमा ५ प्रतिशत रकम संकलन गरिएको थियो । ४५ प्रतिशत अप्रत्यक्ष रूपमा नगर विकास कोषको ऋण लिइएको सचिव श्रेष्ठले बताए । आयोजना ३४ करोड ८३ लाखमा सिनोटेक र आशिष कन्ट्रक्सनलाई ठेक्का दिइएको थियो । ठेकेदार कम्पनीले ठेक्काभित्रको सबै काम गत पुस १६ गते सम्पन्न गरिसकेका छन् । ३४ करोड ८३ लाखको २५ प्रतिशत मूल्य समायोजन गर्दा ३७ करोड ७५ लाख हुन्छ । यसमा झन्डै तीन करोड थपिन्छ । यसरी आन्तरिक र बाहय सबै गरी आयोजनामा कुल लागत ४६करोड बराबरको लगानी भएकोश्रेष्ठले बताए ।

सदरमुकाम खाँदबारीदेखि पानीको मुहान ४३ किलोमिटर टाढा पर्छ । खानेपानीको मुहान टाढा भएकाले आयोजना सम्पन्न गर्न चार वर्ष लागेको सचिव श्रेष्ठले स्वीकारे । मुहान नजिकैको मांसिमा भीरबाट पाइप गाडेर ल्याउनुपर्ने हुँदा भीरमा काम गर्न समस्या पर्नुका साथै पहिले स्टिमेट गर्दा नापजाँच तलमाथि भएकाले ‘ट्रयाक चेन्ज’ गरेर ल्याउनुपर्दा पनिढिलो भएको बताए ।

अर्कोतिर मुहान टाढा भए पनि ठाउँठाउँमा पाइपहरू फुट्ने र सडकमा पाइप गाडेर ल्याउनुपर्ने भएकाले सडक कार्यालयको समन्वयलगायत विभिन्न कारणहरूले गर्दा ढिलो भएको उनको भनाइ छ । मकालु गाउँपालिका ५ मांसिमा रहेको सिमाली खोलाबाट दैनिक २३ लाख लिटर खानेपानी आउँछ । सिमाली खोलाबाट ३५ किलोमिटर तल रहेको चिचिला गाउँपालिकाको कुवापानीमा बनेको ट्रिटमेन्ट प्लान्टसम्म प्रतिसेकेन्ड २७ लिटरका दरले पानी झर्छ । २४ घण्टामा प्रतिघण्टा ९७ हजार २ सय लिटर पानी जम्मा हुन्छ । २४ घण्टामा २३ लाख ३२ हजार ८ सय लिटर पानी आए पनि उपभोक्ताले भने पिउन पाएका छैनन् ।

प्रकाशित : माघ २८, २०७४ ०७:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT