विवादबीच न्यायाधीश नियुक्तिको तयारी

काठमाडौँ — नागरिकता र शैक्षिक प्रमाणपत्रको चरम विवादकाबीच प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायपरिषद र न्याय सेवा आयोगको बैठक डाँकेका छन् । 

विवादबीच न्यायाधीश नियुक्तिको तयारी

कानूनमन्त्रीको सचिवालय स्रोतका अनुसार, शुक्रबार नै बैठकको चिठी मन्त्रीको हातमा पुगेको छ । न्यायपरिषद र न्याय सेवा आयोगको अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ । केही दिनपछि अवकाश पाउने कानूनमन्त्री यज्ञबहादुर थापा समेत दुवै निकायमा सदस्य छन् ।

चौतर्फी विवादकाबीच प्रधानन्यायाधीश गोपाल पराजुलीले बैठक डाँकेको र विवादास्पद निर्णयमा सामेल हुनुपर्ने देखिएपछि त्यसबाट जोगिन सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधिश दिपकराज जोशी फागुन ८ गतेसम्म बिदामा रहेको सर्वोच्च अदालत स्रोतले बतायो । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश समेत दुवै निकायमा सदस्य हुन्छन् ।

अर्कोतर्फ हाल काम चलाउ सरकारका रहेका कानूनमन्त्री समेत केही दिनमा पदबाट मुक्त हँुदैछन् । ‘विवाद टुंगिएर नयाँ कानूनमन्त्री आएपछि बोलाउनुपर्नेमा हतारहतार बैठक डाँक्नु उचित थिएन,’ सर्वोच्च अदालत स्रोतले भन्यो ।

स्रोतका अनुसार, जिल्ला र उच्च अदालतका न्यायाधीश नियुक्ति नै न्यायपरिषद बैठकको मुख्य एजेण्डा हो । प्रधानन्यायाधीश पराजुलीले केही उच्च अदालतमा न्यायाधीशहरु नियुक्त गर्ने योजनामा छन् । स्रोतका अनुसार, सम्भव भएमा सर्वोच्च अदालतमा समेत खाली रहेको एक सिटमा न्यायाधीशको नाम सिफारिसबारे छलफल हुनसक्नेछ ।


प्रकाशित : माघ २८, २०७४ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?