२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

गाउँपालिका केन्द्रमा चहलपहल

मनोज बडू

हिकिला (दार्चुला) — दुहु गाउँपालिकाको केन्द्र हिकिलामा सडक पुगेपछि स्थानीय रामसिंह कार्की ठूलै लगानीमा घर निर्माण गरिरहेका छन् । दार्चुला–तिंकर सडक गाउँ छिचोल्दै अघि बढेपछि उनी जस्ता धेरै स्थानीय आधुनिक घर निर्माण गरेर व्यापार, व्यवसाय गर्ने योजना बुनिरहेका छन् ।

९ वर्षमा सडकको २० किलोमिटर ट्रयाक खोलिएको छ । हिकिलाको गोकुलबस्ती भएर सडक उत्तर सोझिएपछि स्थानीयले धमाधम घर बनाउन थालेको बताए । गाउँपालिकाकै दुर्गमका स्थानीय यो बस्तीमा घडेरी खरिद गर्न हानथाप गरिरहेका छन् । सदरमुकामबाट १८ किलोमिटर दूरीको दुहुमा राम्रो उब्जनी हुन्छ । जमिनको मूल्य सदरमुकाम खलंगाबाहेक जिल्लाकै अन्यत्र बजारको तुलनामा उच्च छ ।


सदरमुकामकेन्द्रित सरकारी सेवा पनि पछिल्लो समय गाउँ–गाउँ पुगेको छ । केही समयअघिसम्म दुर्गम मानिएका गाउँ विस्तारै बजारमा परिणत भइरहेका छन् ।

गाउँपालिका केन्द्र तोकिएका बजारमा त चहलपहल ह्वात्तै बढेको छ । घरजग्गाको कारोबार उच्च छ । गाउँसम्मै सरकारी कार्यालय स्थापना हुन थालेपछि स्थानीय उत्साहित छन् । ‘अघिल्लो वर्षको भन्दा दोब्बर मूल्य दिंदा पनि रैथानहरू घर–घडेरी बेच्न मानिरहेका छैनन्,’ हिकिलाका शिवराज जोशीले भने, ‘अहिले खाद्यान्न लगायतका अत्यावश्यक सामान पनि स्थानीय बजारमै उपलब्ध हुन थालेपछि २० किलोमिटर हिंडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छ ।’


स्थानीय बासिन्दा अत्यावश्यक कामका लागि मात्रै सदरमुकाम खलंगा जान्छन् । सडकको पहुँच पुगेपछि ग्रामीण भेगमा विकासले गति लिन थालेको छ । स्थानीयको जीवनस्तरमा समेत परिवर्तन आउन थालेको छ ।


घनाबस्ती र जनसंख्याको उच्च चाप रहेको हिकिलामा बजार विस्तार भएपछि स्थानीय व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । केही वर्षअघिसम्म सदरमुकाम खलंगाबाट दैनिक भारी बोकेर गुजारा चलाउनेहरू अहिले व्यावसायिक तरकारी खेतीमा जुटेको दुहु गाउँपालिका २ का रमेशसिंह कार्कीले बताए ।


गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्की स्थानीय तह गठन भएपछि विकासले गति लिंदै गएको बताउँछन् । यो गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना छ ।

पर्यटन प्रवद्र्धनका लागि स्रोत पहिचान र पदमार्ग निर्माण तयारीमा पनि आफू जुटेको उनको भनाइ छ । ‘ब्रह्मदह ताल, ब्रह्म मन्दिर, ब्रह्मलेक, थाइसैन, सिद्धकी टोपीलगायत अन्य थुप्रै ऐतिहासिक धार्मिकस्थल र ताल छन्,’ उनले भने, ‘तिनको प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धनमा ध्यान केन्द्रित गरेका छौं ।’ यस्तै नौगाड गाउँपालिकाको धुलीगाड, होपरीगाड, दल्लेक र मार्मा गाउँपालिकाको लटिनाथ र पारिबगाडमा पनि सडकको पहुँच पुगेको छ । बजार बनेपछि स्थानीय दैनिक उपभोग्य सामग्रीका लागि टाढा धाउने बाध्यताबाट मुक्त भएका छन् ।

प्रकाशित : माघ २९, २०७४ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?