कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भारतीय सेना प्रमुख आज आउँदै

काठमाडौँ — भारतीय स्थल सेना प्रमुख विपिन राउत सोमबार नेपाल आउँदैछन् । नेपाल एकीकरणको २ सय ५० औं वर्षगाँठ मनाउने क्रममा मंगलबार गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिका रूपमा भारतीय सेनाध्यक्ष सहभागी हुनेछन् ।

भारतीय सेना प्रमुख आज आउँदै

नेपाली सेना र भारतीय सेनाबीचको सम्बन्ध विगतदेखि नै प्रगाढ रहँदै आएको छ । राउत नेपाली सेनाका मानार्थ सेनापतिसमेत हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राउतलाई २०७३ चैत १६ मा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरेकी थिइन् । राउतले काठमाडौं रहँदा उच्च राजनीतिक भेटघाटसमेत गर्ने छन् ।

यसैबीच, अमेरिकी सेना एसिया प्यासिफिकका कमान्डिङ जनरल रोबर्ट बी. ब्राउन नेपालको ४ दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा आएका उनले उच्चस्तरीय राजनीतिक भेटघाटसमेत गरेका थिए । उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध मजबुत बनाउन दुईपक्षीय सेनाको सम्बन्धले पनि भूमिका निर्वाह गरेको सन्देश दिएर गएका छन् ।

ब्राउनले प्रधान सेनापति क्षत्री तथा रक्षा सचिव विनोद केसीसँग छुट्टाछुट्टै भेटवार्ता गरे । त्यस अवसरमा उनले प्रकृति संरक्षण, विपद् व्यवस्थापन तथा शान्ति स्थापनामा नेपाली सेनाले पुर्‍याउँदै आएको योगदान र थप प्रभावकारी कार्यान्वयनका लागि भइरहेको तयारी सम्बन्धमा छलफल गरेको नेपाली सेनाले उल्लेख गरेको छ । अमेरिकी सेनाले नेपाली सेनालाई पूर्वाधार निर्माण, हातहतियार तथा सैनिक उपकरण, पेसागत ज्ञान अभिवृद्धिका लागि तालिमलगायतका अन्य क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ । बेलायती सेनाध्याक्ष निकोलस प्याट्रिक कार्टर भने नेपालमै छन् ।

प्रकाशित : माघ २९, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?