कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शिवपुरीका ३ सय घर स्थानान्तरण गरिँदै

मूलखर्क, ओख्रेनी, चिलाउने र कुने गाउँलाई गोकर्णेश्वर नगरपालिका–३ को नयाँपाटी र सुन्दरीजल क्षेत्रमा सार्न प्रस्ताव

काठमाडौँ — शिवपुरी–नागार्जुन निकुञ्जको उत्तरपूर्वमा रहेका चारवटा बस्तीका ३ सयभन्दा बढी घर गोकर्णेश्वर नगरपालिकामा स्थानान्तरण गरिने भएको छ । निकुञ्जले मूलखर्क, ओख्रेनी, चिलाउने र कुने गाउँलाई गोकर्णेश्वर नगरपालिका–३ को नयाँपाटी र सुन्दरीजल क्षेत्रमा स्थान्तरण गर्ने प्रस्ताव वन मन्त्रालयमा पेस गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) कमलजंग कुँवरले ‘बस्तीको स्थानान्तरणसम्बन्धी प्रस्ताव’ राष्ट्रिय निकुञ्ज विभागमा पेस गरेका हुन् । प्रस्ताव विभाग हुँदै मन्त्रालय पुगेको छ । 

शिवपुरीका ३ सय घर स्थानान्तरण गरिँदै

निकुञ्जअन्तर्गतका मूलखर्क, ओख्रेनी, चिलाउने र कुनेका बासिन्दाले स्थानान्तरणको इच्छा देखाएपछि प्रस्ताव तयार गरिएको हो । चिफ वार्डेन कुँवरले स्थानान्तरण प्रस्ताव मन्त्रालयमा पेस गरिएको र निर्णय हुन बाँकी रहेको जानकारी दिए ।


निकुञ्जले स्थानीयसँग स्थानान्तरणबारे पटक–पटक छलफल र राय संकलन गरेको थियो । स्थानान्तरणपछि उनीहरूलाई राखिने ठाउँको व्यवस्थापन गर्न निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईको संयोजकत्वमा वन मन्त्रालयका उपसचिव राजु क्षत्री र चिफ वार्डेन कुँवर सदस्य रहेको समिति बनाइएको छ ।

समितिले निकुञ्जको ‘कोर एरिया’ बाहिरको गोकर्णेश्वर नगरपालिकाअन्तर्गत क्षेत्रमा जग्गा हेरिसकेको छ । ‘बस्ती बाहिर सार्दा स्थानीयलाई पनि राहत हुने भएकाले यसलाई अघि बढाइएको हो,’ उपमहानिर्देशक भट्टराईले आइतबार कान्तिपुरसँग भने, ‘उनीहरूलाई कहाँ राख्दा उपयुक्त हुन्छ भनेर अध्ययन गरिरहेका छौं, निकुञ्जको आफ्नै जग्गामा उनीहरूलाई व्यवस्थापन गर्न सकिन्छ ।’


सहरी क्षेत्रमा पर्ने नयाँपाटी र सुन्दरीजल क्षेत्रमै निकुञ्जको आफ्नै जग्गा छ । पहिलो चरणमा उनीहरूलाई त्यही बस्तीमा व्यवस्थापन गर्न सकिने भट्टराईले बताए । अहिलेका चारवटा बस्तीमा जान निकुञ्ज प्रवेश गर्नुपर्ने, जंगली जनावरको डर हुने, कुनै पनि विकास निर्माण गर्दा निकुञ्जसँग अनुमति लिनुपर्ने, लगाएको खेती बँदेल, बाँदरलगायत वन्यजन्तुले नष्ट गर्नेलगायत कारणबाट स्थानीयले स्थानान्तरणमा रुचि देखाएका थिए ।


निकुञ्जमा मध्यवर्ती क्षेत्र हेर्ने सहायक संरक्षण अधिकृत राजु घिमिरेका अनुसार उत्तरपूर्वमा पर्ने यी चार बस्तीमा तामाङ समुदायको बाहुल्य छ ।


यी बस्ती स्थानान्तरण गरिए पानीको मुख्य स्रोत थप व्यवस्थित र स्वच्छ हुने, वनमा परेको असर न्यून हुने, वन्यजन्तुको गतिविधि, बासस्थान र आहार बढ्ने अपेक्षा गरिएको छ । सँगै मानव–वन्यजन्तु द्वन्द्वसमेत घट्नेछ । स्थानीयलाई उनीहरूको जग्गाको अनुपातमा जग्गा नै प्रदान गर्ने तयारी भइरहेको छ । निकुञ्जले यसै आर्थिक वर्षदेखि बस्ती स्थानान्तरण गर्न सकिने योजनाअनुसार प्रस्ताव तयार गरेको हो ।

प्रकाशित : माघ २९, २०७४ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?