समानुपातिक सांसद सूची: कांग्रेस र माओवादीले आज बुझाउने

काठमाडौँ — कांग्रेस, माओवादी र मधेस केन्द्रित दलहरूले प्रतिनिधिसभा समानुपातिकतर्फको सांसदको सूची निर्वाचन आयोगमा सोमबार बुझाउने तयारी गरेका छन् । जितेका सिटमा समूह मिलाउने प्राविधिक तयारीले आइतबार बुझाउन नभ्याइएको ती दलले जनाएका छन् ।

समानुपातिकतर्फ कांग्रेसले ४०, माओवादीले १७, संघीय समाजवादी फोरम र राजपाले ६/६ सिट जितेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक रूपमा सूची टुंगो लागे पनि प्राविधिक ‘क्लस्टर’ मिलाउन बाँकी रहेको जानकारी दिए । ‘खालि प्राविधिक पक्ष मिलाएर बुझाउन बाँकी छ,’ शर्माले भने । सूची मिलाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बिहान डाकिएको छ ।


प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरी कांग्रेसको कुल ७६ सांसद हुनेछन् । जसको ३३ प्रतिशत अर्थात् २६ महिला हुनुपर्छ । राष्ट्रिय सभामा ६ जना महिला निर्वाचित भएकाले कांग्रेसले अब प्रतिनिधिसभाको समानुपातिकतर्फ २० जना महिला पठाए पुग्छ । महिला कोटामा खस/आर्यबाट ६, दलित ३, आदिवासी जनजाति ६, मधेसी ३, थारू १ र मुस्लिमबाट १ महिला सहभागी गराउनुपर्ने छ । कांग्रेसको प्रत्यक्षमा २३ जना मात्रै निर्वाचत भएका कारण समानुपातिकमा २० जना पुरुष जान पाउने छन् । जसमा खस/आर्य ६, आदिवासी जनजाति ५, दलित ३, मधेसी ३, मुस्लिम १, थारू १ र पिछडिएको क्षेत्रबाट १ जनाको प्रतिनिधित्व गराउने तयारी छ । मधेसी महिलाबाट मीनाक्षी झा लगातार तेस्रो पटक समानुपातिकमा पर्ने सम्भावना छ । पार्टीले अपवादबाहेक एक पटक समानुपातिक सुविधा लिइसकेकालाई नदोहोर्‍याउने भने पनि उनलाई ल्याउन नेता विमलेन्द्र निधिको दबाब छ ।


कांग्रेसको सम्भावित सूची

खस/आर्य (पुरुष) : बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे । आदिवासी जनजाति : बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा ।


दलित : मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली । मधेसी : विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय । महिला (खस/आर्य) : सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा । महिला (जनजाति) : ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुवर्ण ज्वारचन । महिला (दलित) : सुजाता परियार, लक्ष्मी परियार, बिमला नेपाली । महिला (मधेसी) : सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा । थारू : पद्मनारायण चौधरी । मुस्लिम : अतहर कमल मुसलमान । पिछडिएको क्षेत्र : जयपति रोकाय ।

प्रकाशित : माघ २९, २०७४ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?