२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

पौडेल पहिलो मुख्यमन्त्री

-प्रदेश ५ मा मुख्यमन्त्री नियुक्ति माग गर्दै पोखरेलको पत्र-संसदीय दलको नेता बनेपछि प्रदेश ४ को मुख्यमन्त्रीमा गुरुङ निश्चित-प्रदेश १ मा भण्डारी र प्रदेश ६ मा शाही सभामुख

हेटौंडा — प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् । संघीय नेपालका ७ वटा प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने उनी पहिलो व्यक्ति हुन् । अन्य प्रदेशमा पनि मुख्यमन्त्री नियुक्ति प्रक्रियामा छ ।

पौडेल पहिलो मुख्यमन्त्री

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । संविधानको उक्त धारामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

मुख्यमन्त्रीमा निर्वाचित पौडेल स्थानीय शासनका विज्ञ हुन् । २०४९ र २०५४ सालको स्थानीय निकायको निर्वाचनमा हेटौंडा नगरपालिकाको मेयरमा निर्वाचित भएका उनले १५ वर्ष नेपाल नगरपालिका संघको अध्यक्ष भएर काम गरेका छन् । २०७२ मा संविधान जारी भएपछि गठन भएको स्थानीय तह पुन:संरचना आयोगमा पनि उनी सदस्य थिए । नेपालमा विकासमा जनसहभागिताको अवधारणा सुरु गरेको श्रेय पनि पौडेललाई जाने गरेको छ । मेयर हुँदा उनले हेटौंडालाई ‘उत्कृष्ट नगर’ बनाएका थिए । १० वर्ष शिक्षण पेसामा संलग्न रहेका उनी मावि तहको शिक्षकबाट अवकाश लिएर मेयरको उम्मेदवार बनेका थिए ।

२०३० देखि विद्यार्थी राजनीतिमा सक्रिय पौडेल चार पटक जेल र १८ पटक हिरासतमा बसेका छन् । उनी मानविकी संकायमा स्नातक हुन् । मिलनसार र मिजासिला स्वभावका पौडेल सामाजिक काममा उत्तिकै चासो राख्छन् । मुलुककै पर्यटकीयस्थल बनेको हेटौंडास्थित सहिद स्मारकका अध्यक्ष पनि हुन् । मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष रहेका उनी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् । मुख्यमन्त्री नियुक्त भएपछि प्रतिक्रिया दिँदै पौडेलले प्रदेशलाई मुलुककै समृद्ध र नमुना प्रदेश बनाउने घोषणा गरे ।

३ सदस्यीय मन्त्रिपरिषद् आजै

मुख्यमन्त्री पौडेलले सोमबार ३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने बताए । कान्तिपुरसँग कुराकानी गर्दै उनले आफूसहित एमालेबाट २ र माओवादी केन्द्रबाट एक मन्त्री सहभागी हुने जानकारी दिए । उनले मन्त्रिपरिषद् ७ जनाभन्दा ठूलो नहुने बताए । यसैबीच, प्रदेशसभा ३ को बैठकले प्रदेशसभा नियमावलीको मस्यौदा तयार गर्न ११ सदस्यीय समिति गठन गरेको छ । समितिमा सांसदहरू राजेन्द्र पाण्डे, दीपक निरौला, सरस्वती बस्नेत, बुद्धिमान माझी, कञ्चन खनाल, छिरिङ दोर्जे लामा, राधा घले, रमेश पौड्याल, सुरेन्द्रराज गोसाईं, रिना गुरुङ र रिता माझी सदस्य छन् । यस्तै कार्यसञ्चालन गर्न, सुव्यवस्था कायम राख्न र समितिहरूको गठन, काम, कारबाही र समितिसम्बन्धी अन्य विषय नियमित गर्न समिति गठन गरिएको प्रदेशसभा सचिव रोजनाथ पाण्डेले बताए ।

प्रदेश ५ मा एमाले प्रदेश संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्री नियुक्त हुने भएका छन् । एमाले र माओवादी गठबन्धनले आइतबार पोखरेललाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखको कार्यालयमा औपचारिक पत्र दर्ता गराएको हो । प्रदेश प्रमुख कार्यालयले सोमबार नियुक्ति गर्ने गरी प्रक्रिया थालेको जनाएको छ । तर मुख्यमन्त्रीको शपथ फागुन ३ गते तय गरिएको छ ।

एमाले र माओवादीको पक्षमा बहुमत भएको दाबीसहित पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख उमाकान्त झालाई आग्रह गर्दै पत्र बुझाएका हुन् । पत्र बुझाउन पोखरेल, माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी, एमाले प्रदेश इञ्चार्ज विष्णु पौडेल, माओवादी प्रदेश इञ्चार्ज वर्षमान पुन, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, माओवादीका दधिराम न्यौपाने प्रमुख कार्यालय पुगेका थिए ।

यस्तै, प्रदेश ४ मा एमाले नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुने निश्चित भएको छ । प्रदेशसभामा पार्टीको संसदीय दलको नेता चयन भएपछि उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । संसदीय दलको आइतबार भएको बैठकमा अर्का आकांक्षी किरण गुरुङकै प्रस्तावमा पृथ्वीसुब्बा गुरुङको पक्षमा सर्वसम्मत निर्णय भएको हो ।

उता, प्रदेश १ मा एमालेका प्रदीपकुमार भण्डारी र प्रदेश ६ मा एमालेकै राजबहादुर शाही सभामुख बनेका छन् । आइतबार सभामुख पदका लागि उम्मेदवारी मनोनयनमा उनीहरूको मात्र नाम दर्ता भएको हो । सोमबार बस्ने प्रदेशसभाको बैठकले औपचारिक रूपमा उनीहरूलाई सभामुख घोषणा गर्नेछ ।

प्रकाशित : माघ २९, २०७४ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?