३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले लिए शपथ

हेटौंडा — प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेलले सोमबार बिहान शपथ लिएका छन् । संघीय नेपालका ७ वटा प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने उनी पहिलो व्यक्ति हुन् । अन्य प्रदेशमा पनि मुख्यमन्त्री नियुक्ति प्रक्रियामा छ । 

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले लिए शपथ

प्रदेश प्रमुख अनुराधा कोइरालाले नवनियुक्त मुख्यमन्त्री पौडेललाई शपथ खुवाएकी छन् । शपथ ग्रहणमा सभामुख सानुकुमार श्रेष्ठको पनि उपस्थिति थियो । मुख्यमन्त्री पौडेलले सोमबार बिहान ११ बजे पदबहाली गर्ने कार्यक्रम छ ।

यसैगरी मुख्य मुख्यमन्त्री पौडेलले आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल र भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई नियुक्त गरेका छन् ।


उनीहरुलाई मुख्य मन्त्रीको उपस्थितिमा प्रदेश प्रमुखले सपथ खुवाउने कार्यक्रम रहेको छ ।


मुख्यमन्त्रीमा निर्वाचित पौडेल स्थानीय शासनका विज्ञ हुन् । २०४९ र २०५४ सालको स्थानीय निकायको निर्वाचनमा हेटौंडा नगरपालिकाको मेयरमा निर्वाचित भएका उनले १५ वर्ष नेपाल नगरपालिका संघको अध्यक्ष भएर काम गरेका छन् ।


२०७२ मा संविधान जारी भएपछि गठन भएको स्थानीय तह पुन:संरचना आयोगमा पनि उनी सदस्य थिए । नेपालमा विकासमा जनसहभागिताको अवधारणा सुरु गरेको श्रेय पनि पौडेललाई जाने गरेको छ । मेयर हुँदा उनले हेटौंडालाई ‘उत्कृष्ट नगर’ बनाएका थिए । १० वर्ष शिक्षण पेसामा संलग्न रहेका उनी मावि तहको शिक्षकबाट अवकाश लिएर मेयरको उम्मेदवार बनेका थिए ।


२०३० देखि विद्यार्थी राजनीतिमा सक्रिय पौडेल चार पटक जेल र १८ पटक हिरासतमा बसेका छन् । उनी मानविकी संकायमा स्नातक हुन् । मिलनसार र मिजासिला स्वभावका पौडेल सामाजिक काममा उत्तिकै चासो राख्छन् । मुलुककै पर्यटकीयस्थल बनेको हेटौंडास्थित सहिद स्मारकका अध्यक्ष पनि हुन् । मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष रहेका उनी विभिन सामाजिक संघसंस्थामा आबद्ध छन् । मुख्यमन्त्री नियुक्त भएपछि प्रतिक्रिया दिँदै पौडेलले प्रदेशलाई मुलुककै समृद्ध र नमुना प्रदेश बनाउने घोषणा गरे ।


मुख्यमन्त्री पौडेलले सोमबार ३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने बताए । उनले आफूसहित एमालेबाट २ र माओवादी केन्द्रबाट एक मन्त्री सहभागी हुने जानकारी दिए । उनले मन्त्रिपरिषद् ७ जनाभन्दा ठूलो नहुने बताए ।

प्रकाशित : माघ २९, २०७४ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?