कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नागा साधुको सेवा सुरु

दामोदर न्यौपाने

काठमाडौँ — पशुपतिनाथमा महाशिवरात्रिमा आएका साधुमध्ये आइतबारबाट नागा साधुको सेवा सुरु भएको छ । एकादशी बिहान आफ्ना कपडा खोलेर झन्डै ५ सय नागा बाबा पशुपति क्षेत्रभित्र प्रवेश गरेका छन् । गुठी संस्थानले एकादशीबाट नागा साधुको र द्वादशीदेखि अन्य साधुको सेवा गर्ने परम्परा छ ।

नागा साधुको सेवा सुरु

शरीरभरि विभूत घसेर नांगै उभिएका बाबा पशुपतिनाथ परिसरमा यत्रतत्र बसेका छन् ।

‘आजबाट सेवा सुरु भयो । पहिलो दिन नागालाई सेवा सुरु गरेपछि क्रमश: अरू दिन सबै साधुलाई सेवा दिइन्छ,’ गुठी संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेले भने, ‘यो सेवा चार दिनसम्म रहन्छ ।’ जोगीका चार सम्प्रदायमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । पशुपतिमा चारै सम्प्रदायका साधु आउने गर्छन् । चार सम्प्रदायमा सन्न्यासी, वैष्णव, नानक र उदासी सम्प्रदाय पर्छन् । सन्न्यासी सम्प्रदाय शिवभक्तका रूपमा चिनिन्छन् । वैष्णव सम्प्रदाय रामको भक्त मानिन्छन् । रामका भक्त सेतो वस्त्र धारण गरेर बसेका छन् । उनीहरू निधारमा वैष्णव टीका धारण गर्छन् ।

तेस्रो समुदाय नानक समुदाय हुन् । यिनीहरूलाई शिख भनेर चिनिन्छ । गुरु नानकलाई मान्ने सम्प्रदाय शिखका रूपमा चिनिन्छन् । नानकका छोरा श्रीचन्द्र भगवान्ले नानककै दर्शन मान्दै अर्काे सम्प्रदाय खडा गरे । ती सम्प्रदायलाई उदासी मानिन्छ । अर्काे सम्प्रदाय नाथ हुन् । यिनीहरूचाहिँ गुरु गोरखनाथका भक्त हुन् । यिनीहरू कानफट्टा जोगीका रूपमा चिनिन्छन् । ‘यी सबै सम्प्रदायको आस्था केन्द्र हुनुहुन्छ पशुपतिनाथ,’ उनी भन्छन्, ‘सबै साधुको सेवा गर्ने जिम्मेवारीचाहिँ गुठी संस्थानको पर्छ ।’

साधुका लागि थरीथरी खानाको व्यवस्था गरेको उनले जानकारी दिए । ‘खानाको मेन्यु फरकफरक छ,’ पाण्डेले भने, ‘एक दिन पुरी तरकारी, एक दिन हलुवा, एकछाक मालपुवा तरकारी र शिवरात्रिको दिन फलहार गराउँछौं । एक किलो मिक्स फलफूल र आधा किलो दही दिने व्यवस्था गरेका छौं । अन्तिम दिन शुद्ध घिउमा पकाएको एक पाउ पेडा खुवाएर बिदाइ गर्छाैं ।’

यहाँ आउने साधुलाई दक्षिणा दिएर बिदा गर्ने चलन छ । जोगीको तहअनुसारको दक्षिणा दिने परम्परा रहेको उनले जानकारी दिए । ‘३ सय ५१ देखि १७ सय रुपैयाँसम्म दक्षिणा दिन्छौं,’ उनले भने, ‘दक्षिणाको पनि श्रेणी हुन्छ । साधना गरेको, गृहस्थ बसेर साधना गरेको, लोभलाई जितेको, काममा जितेका खास साधु हुन् । कपडा खोलेका छन् तर स्त्रीजाति देख्दा पनि उत्तेजित नभएकाहरू खासमा साधु हुन् । तिनले कामलाई जितेका छन् । साधुका यस्ता विभिन्न तह हेरेर दक्षिणा छुट्याइएको हुन्छ ।’

साधुसन्तका लागि ३५ लाख रुपैयाँ लाग्ने अनुमान संस्थानको छ । गत वर्ष नागा र अन्य सम्प्रदायका गरी ३५ सय साधु आएको पाण्डेले जानकारी दिए । यो वर्ष यो संख्या बढ्ने संस्थानको अनुमान छ । यहाँ आउने साधुमा नेपाललगायत भारतका छन् । भारतका विभिन्न सन्न्यासी अखडाबाट साधु आउने गरेका छन् । नागालाई सन्न्यासीको सेनाका रूपमा लिइन्छ । यिनको मुख्य उद्देश्य धर्मको जर्गेर्ना गर्नु र प्रचार गर्नु हो । यिनीहरू अखडामा संगठित भएर बसेका हुन्छन् । जुना अखडा, निरञ्जनी अखडा, पञ्चदशनाम अखडाजस्ता जोगीका चर्चित अखडा हुन् । उपत्यकामा थापाथलीमा पनि सन्न्यासी अखडा छ । यहाँको अखडाका जोगीलाई पनि खाना खुवाउने, धुनीको व्यवस्था गर्ने लगायत व्यवस्था गुठी संस्थानले नै गर्छ ।



लागूऔषध निषेध

शिवरात्रिको अवसरमा पशुपति क्षेत्र वरपर भाङ, गाँजालगायत निषेध गरिएको छ । यहाँ यस्तो काराबार नगर्न र सकेसम्म आफू पनि सेवन नगर्न क्षेत्र विकास कोषले साधुलाई आग्रह गरेको छ । ‘गत वर्षको भन्दा यो वर्ष पशुपतिनाथ क्षेत्रमा विशेष व्यवस्था गरिएको छ,’ पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भने, ‘लागू पदार्थ दुव्र्यसनी निषेध गरेका छौं । विशेष गरी गाँजाको किनबेचले विकृत भएको थियो । यो विकृति हटाएका छौं । भक्तजन र किशोरकिशोरीमा यहाँ गाँजा खान जाने भन्ने थियो । यो भगवान्को आराधना गर्ने ठाउँ हो । नयाँ जीवन सुरू गर्ने दिन हो । लागू पदार्थ सुरू गर्ने दिन होइन । यहाँ अब ४/५ दिन धार्मिक र आध्यात्मिक वातावरण रहन्छ । हामी यो कायम गर्छाैं ।’


पार्किङ स्थल

पासवाला सवारीसाधन, तीर्थयात्री र पर्यटक वाहनका लागि तिलगंगामा पार्किङको व्यवस्था गरिएको छ । पर्व व्यवस्थापनसँग सम्बन्धित कर्मचारीको वाहनका लागि देवउद्यानस्थित कोषको कार्यालय र भण्डारखालमा व्यवस्था गरिएको छ । पासवाल सुरक्षा निकाय र सरकारी वाहनलाई महानगरीय प्रहरी वृत्त गौशालामा व्यवस्था गरिएको छ । तीर्थयात्री–दर्शनयात्रीका सवारीसाधन र स्थानीय दर्शनार्थीका लागि सिफलमा व्यवस्था गरिएको छ । गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण, बौद्धतर्फबाट आउने दर्शनयात्री/तीर्थयात्रीका लागि गुहेश्वरीपारि व्यवस्था गरिएको छ । महाशिवरात्रिको अघिल्लो दिन आज साँझ ७ बजेदेखि नै ६ पांग्रे मालवाहक तथा भारी सवाहरूलाई महारगन्ज चक्रपथ र कोटेश्वरदेखि प्रवेश निषेध गरिने कोषले जनाएको छ ।

प्रकाशित : माघ २९, २०७४ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?