कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अनधिकृत प्लटिङले बस्ती जोखिममा

प्रशान्त माली

ललितपुर — चापागाउँ सल्यान टोलका रमेश अधिकारीको घर सामुदायिक वन क्षेत्रमुनि भिरालो ठाउँमा पर्छ । उनको घरको बायाँपट्टि भिरालो जग्गा डोजर लगाएर सम्याइसकेको छ । अहिले घरमाथि भागमा जग्गा सम्याउन रुख कटान गरिसकेको छ । भिरालो ठाउँ त्यसमाथि बस्ती माथि जग्गा सम्माउँदा वर्षायाममा पहिरोले घर पुरिने र खानेपानी सुक्नेमा स्थानीयवासी चिन्तामा छन् ।

अनधिकृत प्लटिङले बस्ती जोखिममा

जबरजस्ती घरमाथि डोजर चलाउन थालेपछि सल्यान टोलकै शोभा न्यौपाने पनि मानसिक तनावमा छिन् । ‘वर्षायाममा उसै त बस्ती तलको खोलाले घरलाई तान्छ,’ उनले भनिन्, ‘त्यसमाथि माथिबाट पहिरोले झर्दा घर पुरिने डर छ ।’

राजु महत, केशवनाथ अधिकारी, अस्मिता घिमिरेलगायतको समस्या पनि उस्तै छ । जग्गा प्लटिङ गर्न नगर विकास प्राधिकरणसँग स्वीकृति पनि लिएको छैन । केही व्यक्तिले भिरालो बस्तीमाथि जग्गा प्लटिङ गर्न खोज्दा सल्यान टोलका मात्रै अहिले पाँच घरपरिवार जोखिममा छन् । स्थानीयवासीले बस्तीमाथि हुन लागेको प्लटिङ रोक्न सुरुमा जग्गा साहुलाई मौखिक रूपमा आग्रह गरेका थिए । जबरजस्ती डोजेर लगाउन थालेपछि पुस १२ मा गोदावरी नगरपालिका १० वडा कार्यालयमा उजुरी दर्ता गरेका थिए ।

‘प्लटिङ गर्दा वर्षायाममा लेदोसहितको भेलले बस्तीमा प्रत्यक्ष असर पर्ने, घरबस्ती पहिरोमा परिणत हुने, खानेपानी सुक्नेलगायत खतरा भएकाले स्थानीयवासीले प्लटिङ गर्न नदिने निर्णय गरेका छांै,’ उजुरीमा उल्लेख छ । स्थानीय केशव अधिकारी भन्छन्, ‘जग्गा प्लटिङ गर्नेले सँधियारसँग एक पटक पनि सोधेनन् । उल्टो प्लाटिङको काम रोकिएमा ज्यान मार्नेसमेत धम्की दिए । बस्ती क्षेत्रमाथि प्लटिङ गर्नुअगावै सम्पूर्ण बस्ती उठाउने भएमा कुनै आपत्ति छैन ।’ उनका अनुसार प्लटिङ साहुले स्थानीयवासीको निर्णयले तोकेको मूल्यमा बस्ती उठाउनुपर्नेछ ।

‘अन्यथा शोषणविरुद्ध बस्तीका बासिन्दा कुनै पनि प्रकारको मूल्य चुकाउन बाध्य हुनेछन्,’ उनले भने । वडा कार्यालयमा उजुरी दिँदा पनि प्लटिङ नगरोकिएपछि स्थानीवासीले पुस १९ मा गोदावरी नगरपालिकामै अनधिकृत रूपमा बस्तीमाथि हुन लागेको प्लटिङ रोकी पाऊँ भनी

पुन: उजुरी दर्ता गरेका थिए । ‘त्यसपछि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले चासो दिँदा सुरुमा केही दिन डोजर चलाउन बन्द भयो,’ स्थानीयवासी भन्छन्, ‘पछि जस्ताको तस्तै सञ्चालन भयो ।’ गोदावरी नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत टेकराज पन्थीले उजुरीमाथि कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

‘उपमेयरको संयोजकत्वमा न्यायिक समिति छ,’ उनले भने । अहिले सरकारले जग्गा प्लटिङमा रोक पनि लगाएको छ । भूमिसुधार मन्त्रालयले जग्गा चक्लाबन्दी गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीको कृषियोग्य जग्गा कुनै प्रकारले खण्डीकरण (कित्ताकाट) गरी घडेरीका रूपमा बिक्रीवितरण नगर्न निर्देशन जारी गरेको छ । गोदावरी नगरपालिकाले सल्यान टोलमा प्लटिङ गर्ने व्यक्तिहरूलाई खेतीयोग्य जमिन बनाउन तथा आवतजावतका लागि बाटो निर्माण गर्न भनी घुमाउरो पारामा अनुमति दिएको थियो ।

नगरपालिकाबाट दिएको स्वीकृतिमा साँधसँधियार तथा छरछिमेकी एवं सार्वजनिक जग्गालाई असर नपर्ने गरी खेतीयोग्य जमिन बनाउन तथा आवतजावतका लागि बाटो निर्माण गर्न सकिने कुरा उल्लेख छ । तर, प्लटिङले बस्तीलाई प्रत्यक्ष असर परेको भन्दै नगरपालिकामा उजुरी पर्दा पनि सम्बन्धित निकाय मौन छ । नगर विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपुरका इन्जिनियर पूर्णप्रसाद महर्जनले अनुगमन गरिने बताए । ‘कानुनी दायरामा ल्याउँछौं,’ उनले भने ।

प्रकाशित : माघ २९, २०७४ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?