कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आमाको किरिया गर्दै पाँच छोरी

शिल्पा कर्ण

काठमाडौँ — पछिल्लो दुई वर्षदेखि कान्छी छोरी शान्ता अर्यालसँगै बस्थिन् अर्घखाँचीकी उमाकला ज्ञवाली । पत्थरी र पक्षघातले तीन दिनदेखि खानपिन छोडेकी थिइन् । पाँच छोरीकी आमा र उमेरले ९२ पुगिसकेकी उनको मंगलबार निधन भयो । 

आमाको किरिया गर्दै पाँच छोरी

अहिले पाँचै छोरी उनको किरिया बसेका छन् । आइतबार उनका छोरी पशुपतिमा आमाको छैटौं दिनको काजकिरिया गर्दै भेटिए । बिहानै उठ्ने, नुहाउने र पिण्ड दिनेलगायत सबै काम पाँचै जना मिलेर गर्छन् । ‘ज्वाइँहरू ५ दिन बसे । विवाहित छोरीले आमाबुबाको किरिया प्राय: ५ दिन बस्ने चलन छ,’ जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा कार्यरत कान्छी छोरी अर्यालले भनिन् ।


बुबा हराएको झन्डै ५० वर्ष भइसकेको र आमाले एक्लै आफूहरूलाई हुर्काएकाले सन्तानको हकले किरिया गर्नु दायित्व भएको जेठी छोरी गोमा अधिकारीले भनिन् । ‘आमाले कहिल्यै मेरा छोरा छैनन्, बुढेसकालमा कसले पाल्छ वा कसले दागबत्ती देला भन्ने दुखेसो गर्नुभएन,’ ७० वर्षीया अधिकारीले थपिन्, ‘त्यो समाजमा एक्ली महिलाले ५ सन्तान हुर्काउनु, पढाउनु सबै गर्नुभयो ।’


अर्की छोरी ६५ वर्षीया रीमादेवी गौतम र सीता गौतम पनि आमाको मृत्युको खबर पाएलगत्तै पशुपति पुगे । ‘हामी माइली, साइली र कान्छी मिलेर दागबत्ती दियौं,’ ५५ वर्षीया चन्द्रकला भट्टराईले भनिन् ।

आमाको किरिया बस्नुलाई कुनै नयाँ काम वा ‘क्रान्ति’ का रूपमा नलिई सन्तानको कर्तव्यको हिसाबमा लिएको उनले बताइन् ।


‘आफन्तमा छोरा पर्ने नभएको होइन, दागबत्ती दिन र किरिया बस्न तयार भाइ पर्ने थिए । तर सन्तान हामी भएकाले पहिलो दायित्व हाम्रै थियो,’ गौतमले थपिन् । यसमा आफ्ना श्रीमान् तथा परिवारको पर्याप्त सहयोग पाएको उनीहरूको भनाइ छ ।


निजामती सेवा ऐनले निजामती कर्मचारीका आमाबुबाको मृत्यु भएमा सन्तानले किरिया बिदा पाउने उल्लेख भएकाले महिला भए पनि बिदा स्वीकृत गराउन सहज भएको अर्यालले बताइन् ।

प्रकाशित : माघ २९, २०७४ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?