कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

भारतीय नागरिक सकुशल अपहरण मुक्त गराइए

देवनारायण साह

मोरङ — प्रहरीले तीन जना भारतीय नागरिकलाई बेलबारी नगरपालिका-९ स्थित एक घरबाट सकुशल अपहरण मुक्त गराएका छन् । भारतको खगडीया जिल्लाको बेन्दोर पञ्चायतका अजय साह, उक्त ठाउँका अखिलेश कुमार साह र दिनबन्धु तिबारीलाई जिल्ला प्रहरी मोरङले अपहरण मुक्त गराएका हुन् ।

बुधबार अपहरणमा परेको उनीहरुलाई प्रहरीले शनिबार राति मुक्त गराएको हो ।


अपहरणमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । सुनसरीको इनर्बा नगरपालिका-३ का ५७ वर्षीय नारायण शाह, उक्त ठाउँका २५ वर्षीय मधुकर शाह, सुन्दरहरैंचा नगरपालिका-१ का ३८ वर्षीय टिकाराम चौधरी, सुन्दरहरैंचा-१० का ३७ वर्षीय कान्छा भन्ने ठाकुर गुरुङ र सुन्दरहरैंचा-१२ का २४ वर्षीय नवराज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


प्रहरीले उनीहरुको साथबाट ५० हजार भारतीय रुपैयाँ, ५ थान मोवाईल र को१४प ५२४४ नम्बरको मोटरसाईकलसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताए ।

‘फारबिसगञ्जका बालेश्वरले आफुनो घर नेपालमा पनि रहेकोले त्यहाँ पूजा पाठ गराउन भनी दिनबन्धु तिबारीलाई बोलाएको थियो,’ अपहरण मुक्त भएका अजयले भने, ‘दिनबन्धुलगायत अखिलेश, दिनबन्धु, राजकिशोर साह, बालेश्वर रजक, रञ्जित कुमार र आफ्नो आफ्न्त रहेको फारबिसगञ्जमा बालेश्वरसँग पहिलेदेखि नै भेट भइरहेको र फोनमा कुराकानी हुने गरेकोले आफूहरुलाई पनि पूजामा सहभागी हुन निम्तो दिएका थिए ।’


फोनमा कुराकानी भए अनुसार दिनबन्धुलगायत आफूहरु ६ जना बुधबार भारतको फारबिसगञ्जमा बालेश्वरलाई भेट्न आएको अजयले सुनाए । फारबिसगञ्जमा बालेश्वरसँगै स्थानीय सुरेश कुमार, पूर्णियाका सन्तोष कुमार, उक्त ठाउँका सुमन यादवसँगै नेपालका लागि हिँडेको र साँझ जोगबनी आइपुगेको अजयले बताए । बालेश्वरले जोगबनीमा गाडी रिजर्ब गरी राति ९ बजे सुन्दरहरैंचा-१० स्थित मोनालिसा होटलको २ वटा कोठामा राति बास बसेको उनले बताए । राति नै केही व्यक्ति आएर छुरा देखाएर कुटपिट गर्दै तिमीहरु अपहरणमा परेको र आ–आफ्नो घरमा फोन गरेर १/१ लाख रुपैयाँ ल्याएर बुझाउन भनेको अजयले सुनाए ।


प्रहरी उपरीक्षक बिसीका अनुसार अपहरणमा परेका मध्ये राजकिशोर साह बिहिबार बेलुका ४ वजे होटलमा नास्ता खाने क्रममा शौच गर्ने बहानामा भाग्न सफल भएको बताए । साह भागेर आफ्नो घर गई आफ्न्तहरुलाई लिएर शनिबार जिल्ला प्रहरी मोरङमा घटनाको बारेमा जानकारी गराएको उनले बताए ।


घटनाको जानकारी पाउने बित्तिकै प्रहरी टोली परिचालन गरेर सुन्दरहरैंचा ९ स्थित नारायण शाहको डेराबाट तीन जनालाई सकुशल अपहरण मुक्त गराएको बताए । राजकिशोर आफू भाग्न सफल भएपनि उनको भिनाजु अजय अपहरणमा नै रहेकोले प्रहरीलाई जानकारी गराएको उनले सुनाए ।


‘बालेश्वर रजक र रञ्जित कुमारले आफूहरु गरीव भएकोले ५०/५० हजार मात्रै फिरौती दिन सक्ने बताएपछि अपहरणकारीहरुले स्विकार गरे,’ प्रहरी उपरीक्षक बिसीले भने, ‘दुवै जनाको परिबारजनले अपहरणकारीलाई पैसा लिन जोगबनी बोलाए ।’


अपहरणकारीमध्येका नवराज गौतमले बेलबारी ६ का ढोडिलाल चौधरीलाई साथमा लिएर को१४प ५२४४ नम्बरको मोटरसाइकलमा जोगबनी गएर एक लाख भारु फिरौती लिएको उनले बताए । गौतमले आफूसँग अपहरितमध्येका एक जनालाई लगेको र फिरौती पाएपछि अर्को जनालाई पनि मुक्त गरेर पठाएको उनले सुनाए । बरामद रकम फिरौतीमध्येकै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।


अपहरणमा परेकामध्ये अजय उच्च विद्यालय परमानन्दपुर, बेगुसराय, भारतको शिक्षक, दिनबन्धु खेतीपातीसँगै पूजापाठ गराउने, राजकिसोर पसले र अन्य किसान हुन् । अपहरणमा परेका सबै जना पहुँच नभएको सामान्य परिबारका हुन ।


‘अपहरणकारीहरुले पहुँच नहुने सामान्य परिबारका व्यक्तिहरुलाई अपहरण गर्दा फिरौती असुल्न कुनै किसिमको जोखिम नहुने भनेर यस्ता व्यक्तिहरुलाई अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी उपरीक्षक बिसीले भने, ‘उनीहरु यसअघि पनि यसरी भारतीय अपराधीहरुलाई परिचालन गरेर अपहरण गरी फिरौती उठाइसकेको हुनुपर्ने भएकोले छानबिनपछि अन्य विषय उजागर हुन्छ ।’ अपहरणमा संलग्न अन्य ४/५ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ २९, २०७४ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?