द्वि–अध्यक्षात्मक प्रणालीमा सहमति

वाम एकताको विधि तयार
-पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’  -सरकारको नेतृत्व ओलीले गर्ने  -७०/३० को हिस्सेदारी  -शीर्ष नेताको समिति बन्ने
दुर्गा खनाल

काठमाडौँ — एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले ‘संयुक्त रूपमा’ गर्ने गरी पार्टी एकताको समझदारी बनेको छ । पटक–पटकको छलफलपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल द्वि–अध्यक्षात्मक विधिअनुसार एकता गर्ने निष्कर्षमा पुगेका हुन् । 


औपचारिक निर्णय गर्नुअघि कुनै बदलाव नआए अब एकतापछिको पार्टीमा ओली र दाहाल दुईजना अध्यक्ष रहनेछन् । दुई नेताबीच सोमबार झन्डै दुई घण्टा लामो छलफलबाट एकताको विधिमा करिब सहमति जुटेको हो । मंगलबार केही प्राविधिक विषयमा थप छलफल गरी सहमतिलाई औपचारिकता दिने गरी पुन: ओली र दाहालबीच बैठक हुनेछ ।

‘दुवै पार्टीको सम्मानजनक एकता हुनुपर्छ भन्ने ढंगले कुरा भएको छ । यसका लागि दुवै अध्यक्ष समान किसिमको पदमा रहने भन्ने छ,’ दुई दलबीचको एकता प्रक्रियामा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले कान्तिपुरसँग भने, ‘उहाँहरू (ओली र दाहाल) दुई जनाबीच अन्य धेरै विषयमा कुरा भएको छ, बाहिर ल्याउनुभएको छैन । सम्भवत: मंगलबारभित्रै एकताको एउटा स्वरूप तयार हुन्छ ।’

माओवादी नेता वर्षमान पुनले पनि दुई अध्यक्षबीचको छलफल ‘ब्रेक थ्रु’ को अवस्थामा पुगेको जानकारी दिए । ‘करिब सबै कुरा मिलिसक्यो भन्दा हुन्छ । अब समझदारीलाई लिपिबद्ध गर्ने काम मात्र बाँकी छ,’ नेता पुनले भने । चुनावी तालमेल बनेयता दुवै अध्यक्षले वाम गठबन्धनको मुख्य नेताका रूपमा नेतृत्व गर्दै आएका छन् ।

सहमतिअनुसार दुवै नेताले पार्टी बैठकको आलोपालो अध्यक्षता गर्नेछन् । एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ मात्र राखिने छ । सरकारको नेतृत्व अहिले एमाले अध्यक्ष ओलीले गर्नेछन् । तर पाँचवर्षे कार्यकालभित्र दाहाललाई पनि प्रधानमन्त्री बनाउने समझदारी भएको माओवादी पक्षको दाबी छ । ‘संयुक्त नेतृत्वको अवधारणामा जाँदा पार्टी र सरकार दुवैमा नै त्यो लागू हुने हो,’ माओवादी नेता पुनले भने । एमाले नेताहरू भने यो विषयमा अझै स्पष्ट बोलेका छैनन् । सकेसम्म एउटै व्यक्तिले पाँच वर्षसम्म सरकारको नेतृत्व गर्नुपर्ने उनीहरूको धारणा छ । ‘सरकार र पार्टीको नेतृत्व फरक विषय भएकाले एउटै विधिअनुसार हुँदैन,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने । यीलगायत अस्पष्ट रहेका सबै विषयमा दुई अध्यक्षबीच मंगलबार थप छलफल गरी एकता संयोजन समितिको बैठकबाट सहमतिलाई औपचारिकता दिने तयारी छ । मंगलबार पूर्ण समझदारी बने बुधबार एकता संयोजन समितिको बैठक बस्नेछ । फागुन पहिलो साताभित्र नयाँ सरकार बन्ने भएकाले त्यसअघि नै एकताको खाका टुंग्याउने सहमति भएको छ । झन्डै चार महिनाअघि पार्टी एकता गर्ने घोषणासहित वामपन्थी गठबन्धन बनाएर दुई दल प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सहभागी भएका थिए । पार्टी एकता नै गर्ने सन्देश दिँदै चुनावमा दौडेका दुई दलले झन्डै दुई तिहाइ सिट जिते । तर एकीकृत पार्टीको नेतृत्व कसरी गर्ने भन्नेमा समझदारी नबन्दा चुनाव सकिएको दुई महिनासम्म एकता प्रक्रिया अवरुद्ध थियो । दुवै पक्ष एकअर्काले राख्दै आएको अडान छाड्दै अघि बढ्न तयार भएपछि एकताको गाँठो फुकेको हो ।

एमालेले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा एउटै व्यक्ति हुनुपर्ने अडान राख्दै आएको थियो । माओवादीले एकीकृत पार्टीको अध्यक्ष आफैंले पाउनुपर्नेमा जोड दिँदै आएको थियो । पार्टीको आकार र संगठनात्मक कार्यशैलीका कारण पनि माओवादीलाई एकल नेतृत्व हुने गरी अध्यक्ष पद दिन नसकिने एमालेको धारणा थियो । पार्टीको सम्पूर्ण कमान्ड छाडिदिएर प्रधानमन्त्री बन्दा आफूलाई दाहालले लगाम लगाउन सक्ने भय ओलीमा थियो । त्यसैले उनी आफ्नो भूमिका नै नरहने गरी एकल नेतृत्व दाहाललाई दिन तयार थिएनन् ।

माओवादी आफ्नो पार्टीको आकार जत्रो भए पनि दुई फरक धारबीचको एकता भएकाले त्यसको सम्मानजनक व्यवस्थापनका लागि अध्यक्ष पाउनुपर्ने अडानमा थियो । माओवादीको ठूलो पंक्तिले दाहाललाई पार्टीको नेतृत्व छाडेर कुनै पनि हालतमा एकता नगर्न पछिल्लो समय दबाब बढाएको थियो । आ–आफ्ना अडानमा अल्झिइरहँदा एकता भाँड्न खोज्नेहरूलाई बल मिलेको निष्कर्ष दुवै पक्षले निकालेपछि ओली र दाहाल पछिल्लो समझदारीमा पुगेका हुन् ।

दुवै अध्यक्षले आ–आफ्ना दलका शीर्ष नेतासँग छलफल गरेका थिए । उनीहरूले सरकार गठनअघि नै एकताको खाका नबनाए गठबन्धनमै समस्या आउने सुझाव दिएपछि ओली र दाहाल एकता प्रक्रिया टुंग्याउनेतर्फ अग्रसर भए ।

केन्द्रमा एकप्रकारको समझदारी नबने प्रदेश सरकार गठनमा समेत समस्या आउने देखिएको थियो । त्यसैले दुवै दल एकतालाई टुंग्याइहाल्न अघि सरे ।

दुई दलबीचको एकतामा अध्यक्षबाहेक अन्य नेताहरूको व्यवस्थापन र वैचारिक विषय पनि जोडिएका थिए । त्यसमा पनि करिब समझदारी बनेको छ ।अध्यक्षबाहेक दुवै दलका शीर्ष नेता रहेको एउटा समिति बनाउने तयारी छ । ‘अब कोही वरिष्ठ, कनिष्ठ भन्ने रहँदैन,’ एमाले उपाध्यक्ष गौतमले भने, ‘निर्णयहरू गर्न एउटा सानो कमिटी बन्छ ।’ त्यसमा दुवै दलका माथिल्लो तहका नेता रहनेछन् । सकेसम्म त्यो समिति छरितो बनाउने समझदारी छ ।

समितिमा को–को रहने भन्ने तय भएको छैन । तर हाल पार्टी एकता संयोजन समितिमा रहेका दुई अध्यक्षबाहेक एमालेका झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र माओवादीका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा त्यसमा रहने निश्चित छ । त्यसबाहेक, अन्य क–कसलाई थप्ने भन्ने निर्णय हुन बाँकी छ । दुवै दलको केन्द्रीय समितिलाई पनि सानो बनाउने तयारी छ ।

झन्डै साढे ३ सय हाराहारीमा केन्द्रीय समिति रहने सम्भावना छ । माओवादीको केन्द्रीय समितिमा झन्डै ४ हजारको संख्यामा रहेकाले त्यसलाई कसरी व्यस्थापन गर्ने भन्ने चुनौती छ । सरकार बनेपछि पनि यी विषय मिलाउँदै जान सकिने दुई दलको धारणा छ ।

दुवै पार्टीबीच नमिलेका वैचारिक विषयलाई महाधिवेशनसम्म छलफल चलाउँदै लैजाने समझदारी छ । एमालेले ‘जनताको बहुदलीय जनवाद’ लाई आफ्नो सिद्धान्त मान्दै आएको छ भने माओवादीले ‘माओवाद’ भन्दै आएको छ । यी वैचारिक लाइनभित्र मिलेका विषयमा समझदारी बनाई लिपिबद्ध गर्ने र नमिलेका विषयलाई महाधिवेशनबाट टुंग्याउने समझदारी छ । दुवै पार्टीको मूल वैचारिक लाइन ‘शान्तिपूर्ण, प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीमा प्रतिबद्ध’ भन्ने हुनेछ । त्यसबाहेक कम्युनिस्ट पार्टीले अवलम्बन गर्ने समाजवाद र सामाजिक न्यायका विषयमा जोड दिने भन्ने पनि हुनेछ । एमालेको जनताको बहुदलीय जनवाद र माओवादीले शान्ति प्रक्रियामा आएपछि लिएको राजनीतिक धारको मूल भावना लोकतान्त्रिक प्रतिस्पर्धा भएकाले यसमा कुनै समस्या नरहेको दुवै दलका नेताको भनाइ छ ।

फागुन पहिलो साताभित्रै सरकार बनाइसक्ने दुवै दलबीच समझदारी छ । त्यसको स्वरूपमा पनि करिब समझदारी छ । एमाले र माओवादीले गत चुनावमा ६० र ४० प्रतिशतको भागबन्डासहित संयुक्त उम्मेदवारी दिएका थिए । चुनावपछि दुई दलको परिणाम ७० र ३० प्रतिशतको अनुपातमा आएको थियो । अब पार्टी एकता नै भए पनि तत्कालको सरकारको हिस्सेदारी त्यहीअनुसार हुनेछ । प्रदेश सरकारमा यसअघि नै ७० प्रतिशत एमाले र ३० प्रतिशत माओवादीका मन्त्रीहरू रहने समझदारी भइसकेको छ । मुख्यमन्त्री र प्रदेश सभामुख पनि त्यसरी नै बाँडिएको छ । केन्द्रमा बन्ने सरकारमा पनि त्यही विधि लागू हुनेछ ।

प्रदेशमा मुख्यमन्त्रीपछिको ठूलो पदमा अर्को दलको मन्त्री बन्ने मोडल अपनाइएको छ । केन्द्रमा पनि प्रधानमन्त्रीपछिको मन्त्री माओवादीको रहने खालको विधिअनुसार सरकार बन्नेछ । सरकारले गर्ने मुख्य कामको विषयमा पनि दुई दलले वामदेव गौतमको नेतृत्वमा संयुक्त कार्यदल बनाएका छन् । त्यो कार्यदलले सरकारको मूल कामको खाका बनाइरहेको छ । ‘सरकार गठन हुनेबित्तिकै हामी हस्तान्तरण गर्नेछौं,’ गौतमले भने, ‘त्यही आधारमा सरकारले आफ्ना काम अघि बढाउनेछ ।’ यसअघि दुवै दलले जारी गरेको संयुक्त घोषणापत्रकै मूल विषय सरकारको मुख्य नीति तथा कार्यक्रम हुनेछ ।

प्रकाशित : फाल्गुन १, २०७४ ०६:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सन्दीपको कमाल

नेपाल विश्वकप छनोटनजिक
विनोद पाण्डे

काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) को गत महिना भएको अक्सनमा दिल्ली डेयरडेभिल्सले भाउ लगाएपछि सन्दीप लामिछाने विश्वभर चर्चामा आए । नामिबियामा भइरहेको विश्व क्रिकेट लिग डिभिजन–२ मा सन्दीपले चर्चा हुन लायक अर्को प्रदर्शन देखाइरहेका छन् । 


डिभिजन–२ मा देखाएको प्रदर्शनले उनी कुन स्तरका खेलाडी हुन् भनेर फेरि एक पटक प्रमाणित गरेको छ । पाँच पटक एकदिवसीय विश्वकप खेलिसकेको केन्यामाथि सोमबार सन्दीपले २० रन खर्चेर ५ विकेट लिए । त्यसमा ५ ओभर त मेडन नै थियो । उनको यो प्रदर्शन लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा नेपाली खेलाडीको उत्कृष्ट बलिङ हो ।

अफ्रिकी मैदानमा भइरहेको प्रतियोगिताको ४ खेलमा उनले १४ विकेट लिइसकेका छन् । उनी नेपालको मात्र नभई प्रतियोगिताकै प्रमुख बलरका रूपमा देखिएका छन् । विशेष भनेको सन्दीपको प्रदर्शनले नेपाललाई विश्वकप छनोटको नजिक पुर्‍याएको छ । केन्यामाथि अन्तिम बलमा पाएको विजयले विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना नजिकिएको हो ।

२०१९ को विश्वकप छनोटको आधार रहेको डिभिजन–२ का शीर्ष दुई टोली मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् । चार खेलको समाप्तिमा क्यानडा र नेपालको समान ६ अंक छ । नेपाल रन रेटमा दोसो स्थानमा छ ।यूएई ४ अंकसहित क्यानडा र नेपाललाई पछ्याइरहेको छ ।

दिल्लीले आईपीएल अक्सनमा सन्दीपमाथि २० लाख भारुको भाउ लगाएको थियो । यो आईपीएलको सबैभन्दा न्यूनतम पारिश्रमिक हो । तर त्यसैले सन्दीपको प्रदर्शनमा ठूलो प्रभाव पारेको नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासले बताए । ‘नेपाल र सन्दीपको हिसाबमा हेर्ने हो भने सही समयमा उनको छनोट आईपीएलमा भयो । उनले खुला दिमागले खेल्न पाए । आईपीएल छनोटले उनको मनोबल उच्च बनाएको छ,’ नेपालका पूर्वकप्तान दासले भने, ‘पहिला पनि उनी बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगको अक्सनमा पनि परेका थिए, तर त्यसमा छनोट नहुँदा अलिक मलिन देखिन्थे ।’

०१६ मा बंगलादेशमा आईसीसी यू–१९ मा दास नेपाली टोलीका सहायक प्रशिक्षक थिए । सन्दीपले नेपालबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेक्रममा त्यही १४ विकेट लिएपछि धेरैको ध्यान तानिएको थियो । आयरल्यान्डसँग त उनले ह्याट्रिक विकेट नै लिएका थिए । यू–१९ विश्वकपमा यो केवल पाँच पटक सम्भव भएको छ ।
नामिबियामा सन्दीप बलिङमा आएपछिको पहिलो ओभरमै विकेट लिँदै आएका छन् । उनी नामिबिया र केन्यासँगको खेलमा ह्याट्रिक नजिक पुगेका थिए । ह्याट्रिक नै नलिए पनि उनको लेग स्पिन विपक्षीका लागि निकै भारी परिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार हालेको भिडियोमा उनको गुगली बल खेल्न केन्याका ब्याट्सम्यानले भेउ नपाएको देखिन्छ ।
सन्दीपको यो आत्मविश्वासी प्रदर्शन आईपीएलमा छनोटकै कारण बढी भएको भन्न हिचकिचाउँदैनन् दास । ‘एसोसिएट राष्ट्रका खेलाडी आईपीएलमा परेकाले उनलाई सबैले नजर गरिरहेको हुन्छ, यसले विपक्षी टोलीलाई छुट्टै योजना बनाएर खेल्न दबाब दिन्छ,’ दासले भने, ‘यसभन्दा अघि नेपालबाट नियमित विकेट लिइरहँदा वसन्त रेग्मीसँग विपक्षी टिम निकै होसियार साथ खेल्थे । अहिले त्यो भूमिकामा सन्दीप आएका छन् ।’

नामिबियाकै प्रदर्शन हेर्ने हो भने पनि सन्दीप नेपाली टोलीका स्ट्राइक बलर बनेका छन् । वसन्तले ०१२ मा मलेसियामा भएको डिभिजन–४ मा २१ विकेट लिएका थिए । राष्ट्रिय टोलीबाट एकै प्रतियोगितामा नेपाली खेलाडीको सबैभन्दा बढी विकेट लिने कीर्तिमान यही हो । दुई खेल बाँकी रहँदा सन्दीप त्योभन्दा ७ विकेटले मात्र पछाडि छन् । सन्दीपको प्रदर्शनमा दिल्ली डेयरडेभिल्स निरन्तर समाजिक सञ्जालमा छाइरहेको छ । प्रश्न अर्को एउटा के छ भने सन्दीपले दिल्लीबाट दुई महिनापछि हुने आईपीएलमा खेल्ने मौका पाउलान् ? सन्दीपले जुन प्रदर्शन दिएका छन्, त्यसले सम्भव नहोला भन्न सकिन्न ।

उनको आत्मविश्वास नै उनको प्रदर्शनको आधार रहेको मान्दै दास भन्छन्, ‘लेग स्पिनरलाई सुरुमा भिज्न समय लाग्छ, जसलाई आक्रमण गर्‍यो भने विपक्षी फस्न सक्छ । र, विशेषता भनेको बल लाइनमा फाल्नु हो, शर्ट बल होइन । लेग स्पिनको सबैभन्दा हतियार भनेको आत्मविश्वास हो, जुन सन्दीपमा छ ।’

प्रकाशित : फाल्गुन १, २०७४ ०६:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT