विकासमा सहकार्य गर्न बेलायत तयार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमणमा आएका बेलायतका सशस्त्र बलसम्बन्धी राज्यमन्त्री मार्क ल्यानकास्टरले राजनीतिक भेटवार्ता गरेका छन् । उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरे । 

विकासमा सहकार्य गर्न बेलायत तयार

भेटवार्तामा दुई शताब्दी पुरानो नेपाल–बेलायत कूटनीतिक सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विषयमा छलफल भएको जनाइएको छ । पत्नी एवं स्वास्थ्य तथा सामाजिक हेरचाहसम्बन्धी राज्यमन्त्री क्यारोलाइन डाइननेगका साथ एक सातादेखि नेपाल भ्रमणमा रहेका मन्त्री ल्यानकास्टरले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षामन्त्री भीसेनदास प्रधान तथा नेपाल सरकारका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरिसकेको बताइएको छ ।


भेटवार्ताका क्रममा एमाले अध्यक्ष ओलीले नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती राज्यमन्त्री ल्यानकास्टरलाई आग्रह गरे । मार्कले नेपालमा वाम गठबन्धनले निर्वाचनमा विजय हासिल गरेकामा बधाई दिंदै आफूहरु लगानी बढाउन सकारात्मक रहेको बताएको एमालेले जनाएको छ । यस्तै, माओवादी अध्यक्ष दाहालले संविधान कार्यान्वयनको महत्वपूर्ण कडी तीनवटै तहको निर्वाचन सम्पन्न भई मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढेकाले नेपालमा लगानीका लागि आग्रह गरेका थिए ।


दाहालले एमाले र माओवादी केन्द्र एक भएर राजनीतिक स्थायित्वमा जोड दिएको समेत बताएका थिए । मार्कले सबै भेटघाटमा नेपालमा राजनीतिक स्थायित्वको अवस्था देखा परेको भन्दै लगानी तथा विकासमा सहकार्य गर्न बेलायत तयार रहेको जानकारी दिएका थिए ।

प्रकाशित : फाल्गुन १, २०७४ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?