१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मुख्यमन्त्रीद्वारा नारायणगढ–मुग्लिन सडकको निरीक्षण

समयमा काम नसके कारवाही गर्ने चेतावनी
कान्तिपुर संवाददाता

चितवन — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार विस्तारको काम भइरहेको नारायणगढ मुग्लिन सडकको निरीक्षण गरेका छन् ।

मुख्यमन्त्रीद्वारा नारायणगढ–मुग्लिन सडकको निरीक्षण

यो सडक खण्ड राजधानी काठमाडौंलाई देशको पुर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्ग हो । तर काम समयमै नसकिदा दिनहुँ हजारौ यात्रुले हैरानी ब्यहोरिरहेका छन । मुख्यमन्त्री पौडेलले समयमा काम सक्न अधिकारीहरुलाई निर्देशन दिए ।


‘व्यवस्था बदलियो । देशले संघीयताको अभ्याससमेत सुरु गर्‍यो । तर निर्माणको जिम्मा लिएका व्यवसायी र आयोजनाका अधिकारीहरुले काम गर्ने शैली फेरेका रहेनछन् भन्ने उदाहरण यो सडकको हालत हेरे थाहा हुन्छ’ मुख्यमन्त्री पौडेलले भने । उनले राजधानीको लाइफ लाईनको रुपमा रहेको यो सडकको काम चाडो सक्न र नसके कारवाही गर्ने चेनावनी दिए ।


हाल साढे पाँचदेखि केही ठाउँमा सात मिटरसम्म चौडा रहेको नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाइदै छ । विश्व वैंकको करिब तीन अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको उक्त सडक अब नौदेखि ११ मिटरसम्म चौडा हुने छ । दुई वर्षभित्र काम सक्ने भनेर सन् २०१५ को अप्रिलमा सम्झौता भएको थियो । तर पटक पटक म्याद थप्दै आएको उक्त सडक खण्डको अहिलेसम्म ७५ प्रतिशत मात्रै काम पुरा भएको छ ।


समयमा काम पुरा नभएपछि तीन पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थपेको म्याद यो साता सकिदैछ । तर काम पुरा नहुने भएपछि आउँदो मे ३० अर्थात मध्ये जेठसम्म म्याद थप्ने तयारी रहेको नारायणगढ मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालले मुख्यमन्त्री पौडेललाई बताए । मुख्यमन्त्री पौडेलले उक्त समयभित्र काम सकिने ग्यारेन्टी के छ भनेर प्रतिप्रश्न गरे ।


‘हामीले उहाँहरुको सवै योजना मागेका छौं । कामदार र उपकरण थप्न भनेका छौं । कालोपत्रेका लागि सामाग्री बनाउने प्लान्ट थप्न भनेका छौं । अवस्था हेर्दा यो सयमभित्र काम सकिने आधारहरु देखिएका छन्’ आयोजनाका परामर्शदाता आवाशीय इन्जिनियर पुष्कर रेग्मीले भने । तर निर्माण व्यवसायीहरु भने उक्त समयमा पनि काम सक्नेमा प्रतिवद्ध देखिएनन् ।


‘काम सक्न चार महिना त अझै लाग्छ नै । तर उहाँहरुले भनेको समयमै सक्ने भरमग्दुर प्रयास जारी रहन्छ’ निर्माण कम्पनी उडहिल लामा जेभीका म्यानेजर रविन्द्र श्रेष्ठले भने । ३६ किलो मिटर लामो उक्त सडकको ३३ किलोमिटर क्षेत्रमा विस्तारको काम भइरहेको छ । सडकलाई तीन खण्ड बनाएर फरक फरक निर्माण कम्पनीलाई विस्तारको कामको जिम्मा दिइएको छ ।


लामाले दोस्रो खण्डको काम गर्दै आएको छ । अरु खण्डको भन्दा उक्त खण्डमा सवैभन्दा धेरै काम भएको छ । सडकको महत्व ख्याल राखेर अब जुनकसुकै हालतमा पनि समयमै काम सक्न मुख्य मन्त्री पौडेलले निर्देशन दिएका छन् ।


‘यो काम अब प्रदेश सरकारले नै हेर्छ । कामको सवालमा म कडा छु भन्ने ख्याल तपाइँहरुले राख्नु भएकै होला । मान्छे धेरै खटाएर हुन्छ कि उपकरण थपेर हुन्छ अब तोकिएकै समयमा निर्माण पुरा होस’ मुख्यमन्त्री पौडेलले चेतावनी दिए । मुख्यमन्त्री पौडेलसँगै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जम्कट्टेल र प्रदेश सांसदहरु पनि थिए ।


यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालिन संसदको विकास समितिले पनि उक्त सडक खण्डको अनुमगन गरेर चाडो काम सक्न निर्देशन दिएको थियो । निर्देशनपछि पनि काममा तिब्रता आउन सकेको भने छैन ।


उक्त सडकमा दैनिक १० हजार गाडी आवत जावत गर्छन । पुर्वी र पश्चिम नेपालका गाडीहरु राजधानी जाने योभन्दा फराकिलो सडक अहिलेसम्म अरु छैन । त्यसैले यात्रु बस मात्रै नभएर माल बाहक ट्रकहरु पनि यही सडक भएर ओहर दोहोर गर्छन् । सडक निर्माणको काम सुरु भएपछि घण्टौं जाम मात्रै होइन वर्षा र सुख्खायाममा पनि पहिरो गएर बाटो बन्द हुने र यात्रुको ज्यानै जानेसम्मका घटनाहरु हुने गरेका छन् ।

प्रकाशित : फाल्गुन १, २०७४ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?