कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

वाम एकता सरकार गठनअघि

आज ‘संयुक्त नेतृत्व’ सहितका समझदारी अनुमोदन हुने 
प्राविधिक विषय मिलाउन कार्यदल बनाइने 
कान्तिपुर संवाददाता

काठमाडौँ — एकल बहुमतीय सरकार बनेको सन्देश दिने गरी एमाले र माओवादी केन्द्र केही दिनभित्रै पार्टी एकतालाई औपचारिक रूप दिने कसरतमा जुटेका छन् । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची बुझाएलगत्तै सरकार बनाउने योजनामा रहेका उनीहरूले त्यसअघि नै एउटै पार्टी बनिसकेको सन्देश दिन खोजेका हुन् ।

वाम एकता सरकार गठनअघि

आयोगले ५ गतेभित्रै सूची बुझाइसक्ने तयारी गरेको छ । त्यसलगत्तै दुई दलका नेताले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्तिका लागि अनुरोध गर्नेछन् ।


पार्टी एकताको विधि र सरकारको स्वरूपमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सैद्धान्तिक समझदारी गरिसकेका छन् । अब त्यसलाई वाम एकता संयोजन समितिले औपचारिकता दिनेछ । मंगलबार ओली र दाहालको बैठकले बुधबार दिउँसोका लागि संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको छ । बैठकले एकताका सम्बन्धमा दुई अध्यक्षले तय गरेको समझदारीमाथि छलफल गर्नेछ । शीर्ष नेताहरूकै सुझावअनुसार ओली र दाहाल समझदारीमा पुगेकाले संयोजन समितिले त्यसैलाई अनुमोदन गर्नेछ ।


‘अहिलेसम्मका प्रगतिलाई संयोजन समितिमार्फत टुंग्याइने छ,’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार दुई दलबीचको छलफल निर्णायक अवस्थामा छ । अध्यक्ष दाहालले मंगलबार नै एकताका विषय टुंग्याउने भन्दै दिउँसो भाषण गरेका थिए । तर समय नपुगेकाले बुधबारसम्म लम्बिएको हो । एमाले नेता सुवास नेम्वाङले पनि दुई दलबीचको एकता प्रक्रिया अत्यन्त सकारात्मक रहेको बताए । ‘दुवै अध्यक्ष वान टु वान छलफलमा बसिरहनुभएको छ,’ नेम्वाङले भने, ‘पार्टी एकता अब टुंगिने विन्दुमा पुगेको छ ।’


मंगलबार नै समितिको बैठक बस्ने भनिए पनि माओवादी अध्यक्ष दाहाल ‘जनयुद्ध’ दिवसका अवसरमा काठमाडौंदेखि चितवनसम्मका कार्यक्रममा व्यस्त भएपछि संयोजन समितिको बैठक बस्न नसकेको हो । चितवनबाट फर्केलगत्तै ओली र दाहाल मानभवनमा करिब ४० मिनेट कुराकानी गरेका थिए । एकता संयोजन समितिको बैठक बस्न ढिला हुने भएपछि उनीहरूले बुधबारका लागि सारेका हुन् ।


दुई अध्यक्षबीच एकीकृत पार्टीको नेतृत्व संयुक्त रूपमा गर्ने समझदारी भएको छ । पार्टीको कार्यकारी काममा दुवैको समान हैसियत रहने गरी समझदारी बनेको हो । एकले अर्कालाई एकल नेतृत्व दिन नमानेपछि मध्यमार्गी विकल्पका रूपमा दुवैले समान हैसियतको पार्टीको कार्यकारी पदमा रहने समझदारी बनाएका हुन् । यो समझदारीको अन्तर्यमा सरकारको नेतृत्व पनि दुवै नेताले आलोपालो गर्ने भन्ने छ । त्यो विषय एमाले पक्षले खुलाएको छैन ।


तर माओवादी अध्यक्ष दाहालले मंगलबार चितवन पुगेर आलोपालो प्रधानमन्त्री बन्ने संकेत दिएका छन् । ‘ढिलोचाँडो म पनि प्रधानमन्त्री बन्न सक्छु,’ दाहालले मंगलबार चितवनमा आयोजित सार्वजनिक कार्यक्रममा भनेका छन् ।


एकताका प्राविधिक विषय संश्लेषित गर्ने र समग्र संगठन मिलाउने विधि तयार गर्न संयोजन समितिको बैठकले कार्यदल बनाउने सम्भावना छ । पार्टीका समग्र संगठनको स्वरूप र मिलेका सैद्धान्तिक विषय संश्लेषण गर्न यस्तो कार्यदल बनाउन सक्ने सम्भावना रहेको नेताहरूले बताएका छन् । यसअघि राष्ट्रिय सभाको उम्मेदवार छनोट र प्रदेशका मुख्यमन्त्री/सभामुख लगायतको बाँडफाँट गर्न संयोजन समितिले कार्यदल बनाएको थियो । त्यही कार्यदलमा रहेका नेतालाई राखेर बाँकी कामको पनि गृहकार्य गर्न जिम्मेवारी दिइने सम्भवाना छ । एमाले र माओवादीबीच वैचारिक रूपमा नमिलेका विषय महाधिवेशनसम्म लैजाने समझदारी छ । त्यस्तै, संगठनमा दुई अध्यक्षबाहेक अन्य शीर्ष नेताको एउटा समिति बनाउने पनि तयारी छ । दुवै दलका केन्द्रीय, पोलिटब्युरो र स्थायी समितिलाई मिलाएर महाधिवेशनसम्मका लागि छरितो संगठन बनाउने योजनामा दुई दल छन् ।

प्रकाशित : फाल्गुन २, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?