१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बालुवा चोरीमा संलग्नलाई ३ लाख जरिवाना

हरिहरसिंह राठौर

धादिङ — गजुरीस्थित आदर्श माध्यमिक विद्यालयको जग्गाबाट बालुवाचोरीको आरोपमा नियन्त्रणमा लिएका ४ जनाबाट ३ लाख रुपैयाँ असुल गरी छाडिएको छ । 

बालुवा चोरीमा संलग्नलाई ३ लाख जरिवाना

बुधबार गजुरी सोतीखोलाको ३२ रोपनी मध्ये ४ रोपनी जग्गाको बालुवा चोरीमा प्रयोग गरिएका उपकरण, टिपर सहित बेनीघाटस्थित माविका शिक्षक जयराम ढुंगानालाई समातेर प्रहरीलाई बुझाएका थिए ।

स्थानीयको उजुरीका आधारमा मुनाल एकेडेमीका सञ्चालक रमेशदास श्रेष्ठ, स्थानीय एमाले नेता माधव भण्डारी र चोरीको बालुवा किन्ने फिरफिरेका सञ्चालक एवं माओवादी केन्द्रका नेता कर्णवहादुर लामालाई समेतलाई पक्राउ गरेको थियो ।


विद्यालय व्यवस्थापन पक्ष र स्थानीयको सहमतिमा रकम तिराइएको हो । ‘स्काभेटर, टिपर, चालक र आरोपितहरुलाई एक रात थुनेर वडाअध्यक्ष राजकुमार पण्डितको रोहबरमा छाडेका छौं । आरोपितबाट ७५ हजारका दरले रकम तिराइएको छ,’ इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाले भने ।

राजमार्ग छेउका अवैध वालुवाखानी गाउँपालिका पदाधिकारी, आफन्त र गाउँपालिकाका कर्मचारीकै संलग्नता सञ्चालन भइरहेका छन् । गजुरी बजारमा जडान गरिएका सिसी क्यामराबाट अवैध निकासी भएको निगरानी गरेपनि स्थानीय प्रशासनले बेवास्ता गरेको त्रिशुली बचाउ अभियानमा संलग्नहरुको आरोप छ ।


गाउँपालिका प्रमुख र कार्यालय सहयोगी पनि बालुवा व्यवसायी

गल्छी गाउँपालिकाका प्रमुख कृष्णहरि श्रेष्ठ बालुवा खानी सञ्चालक मात्रै हैनन् । श्रेष्ठका सयौं टिपर राजमार्गमा गुड्छन् । गाउँपालिकाका कार्यालय सहयोगी कृष्णप्रसाद अधिकारी समेत बालुवा बिक्रीमा संलग्न छन् ।

कार्यालय सहयोगी अधिकारीलाई २०६१ सालमा बालुवाखानीको रकम दाखिला नगरी अपचलन गरेको आरोपको मुद्दा अझै विचाराधीन छ । उनी जग्गा धरौटी राखेर छुटेका थिए ।

उनले गल्छी चोकमा १ करोड मूल्य पर्ने घर र काठमाडौंमा घडेरी खरिद गरेका छन् । तस्करसँग सेटिंग मिलाउने अधिकारीलाई गाउँपालिकाले मोटरसाइकलको समेत व्यवस्था गरिदिएको छ । अधिकारीका स्काभेटरहरु पनि बालुवा खानीमै भाडामा लगाएका छन् ।

प्रकाशित : फाल्गुन ३, २०७४ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?