कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दरबार हाइस्कुलको नक्सामै विवाद

दामोदर न्यौपाने

काठमाडौँ — रानीपोखरीस्थित दरबार हाइस्कुलको पुनर्निर्माण गर्न चीन सरकारले ठेकेदारसमेत नियुक्त गरिसकेको छ । तर उसले बनाएको नक्सा सम्पदा जोगाउने तरिकाको नभएको भन्दै नक्सा पासमै विवाद भएको छ । नक्सा पास गर्न बसेको जुरीका सदस्यले सम्पदा मासिने गरी स्कुलको डिजाइन गरेको भन्दै अनुमति दिएको छैन ।

दरबार हाइस्कुलको नक्सामै विवाद

नक्सा विवाद सुल्टाउन फेरि बसेको ‘जुरी’ ले पनि निर्णय गर्न सकेन । दुई दिन पहिला स्कुलको नक्साबारे निर्णय गर्न जुरी बसेको थियो । एक महिनाअघि पनि महानगरले पहिलोपल्ट जुरी आयोजना गरेको थियो । त्यहाँ पनि आर्किटेक्ट इन्जिनियरहरूको संस्था नेपाल आर्किटेक्ट इन्जिनियर्स एसोसिएसन (सोना) का पदाधिकारीले मौलिकता नमासीकन विद्यालय बनाउनुपर्ने अडान राखेपछि विवाद भएको थियो । महानगरले १० हजार ‘स्वायर फिट’ भन्दा बढीको नक्सा पास गर्नुपर्दा ‘जुरी’ मा छलफलका लागि लानुपर्ने व्यवस्था छ । जुरीमा आर्किटेक्ट इन्जिनियरको संस्था, स्ट्रक्चरल इन्जिनियरको संस्था, भवन विभाग, पुरातत्त्व विभागलगायतका निकायको सहभागिता छ । । महानगरले आयोजना गरेको जुरीमा पुरातत्त्व विभाग अनुपस्थित रह्यो । ‘पुरातत्त्व विभाग सम्पदा निर्माणमा गैरजिम्मेवार छ भन्ने यहाँ कोही पनि उपस्थ्ति नहुनुले प्रस्ट हुन्छ,’ सोनाका सहसचिव सुरज खनाल भन्छन् ।


पुरातत्त्वविद्ले भत्किएको भाग बनाउन सकिने र चर्किएको भाग रेट्रोफिट गरेर बनाउन सकिने र भत्काउनै परे पनि मौलिकता नमासिने गरी प्राचीन निर्माण सामग्री प्रयोग गर्न सुझाव दिएका थिए । आर्किटेक्ट इन्जिनियरहरूको संस्था सोनाले दुई वर्ष पहिले प्राचीन शैलीको नक्सा बनाएर बुझाएको थियो । त्यो नक्सालाई दाताले परिवर्तन गरेर मौलिकता मास्ने गरी डिजाइन गरेपछि सोनाले आपत्ति जनाएको सहसचिव सुरज खनालले जानकारी दिए । पुनर्निर्माण प्राधिकरणले हाइस्कुलको पुनर्निर्माण बाह्यस्वरूप परम्परागत ढाँचामा रहने गरी यथाशीघ्र पुनर्निर्माण गर्न सरोकारवाला निकायलाई निर्देशन दिइसकेको छ ।


यहाँ भानु मावि र संस्कृत मावि गरी दुई स्कुल सञ्चालित छन् । दुवै विद्यालयका गरेर तीन सय विद्यार्थी अध्ययनरत रहेको संस्कृत माविका प्रधानाध्यापक बद्रीप्रसाद दाहालले जानकारी दिए । जोखिमयुक्त ठाउँमा राखेर विद्यार्थी पढाउनुपरेकाले छिटो अनुमति दिन विद्यालयले आग्रह गरेको छ । ‘हाम्रा विद्यार्थी तीन वर्षदेखि टहरामा छन्,’ प्रधानाध्यापक दाहाल भन्छन्, ‘यो स्कुल सम्पदा नै होइन । पुरातत्त्व विभागले पनि सम्पदा होइन भनेको छ । त्यही भएर यसलाई भत्काएर नयाँ बनाउन लागेका हौं ।’


सोनाले भने सम्पदा होइन भन्ने भनाइप्रति आपत्ति जनाएको छ । यो नेपालको पहिलो विद्यालय हो । जंगबहादुर बेलायतबाट फर्केको दुई वर्षपछि आफ्ना नातागोता र छोराछोरी पढाउन वि.सं. २०१० सालमा स्कुल खोलेका हुन् । अंग्रेजी पढाउन बेलायतबाट दुईजना शिक्षक पनि उनले झिकाए । स्कुल सञ्चालन र सुपरिवेक्षण गर्ने जिम्मा रोसलाई दिइएको थियो । पहिलो प्रधानाध्यापक क्यानिङ थिए । उनी पनि बेलायती नागरिक थिए । यी दुवै नागरकिलाई जंगबहादुरले भारतबाट ल्याए । त्यतिबेला भारत बेलायतको उपनिवेश थियो ।

स्कुल कहिले थापाथली दरबार, कहिले कता गर्दै चलाइएको थियो । स्कुल दरबारको दाखचोकको भुइँतलामाबाट सुरु भएको थियो । त्यही भएर स्कुललाई दरबार स्कुल भन्न थालियो ।


स्कुल सुरुमा सर्वसाधारणका लागि खुला थिएन । राणा प्रधानमन्त्रीका छोरा, भतिजाहरूले मात्र प्रयोग गर्न पाउँथे । साधारण जनतालाई शिक्षा दिने प्रयास भएन । दरबार हाइस्कुलको रेखदेख गर्न शिक्षा डाइरेक्टर पदको पनि सिर्जना गरिएको थियो । उक्त पदमा जनरल बबरजंग राणा नियुक्त भएका थिए । जंगबहादुरकै पालामा १९३२ सालमा भोजपुरमा बालब्रह्मचारी षडानन्दले संस्कृत पाठशाला खोलेका थिए । नागरिकका तर्फबाट खुलेको यो नोपलको पहिलो विद्यालय मानिन्छ ।


जंगबहादुरको छोरा जनरल जितजंगले वि.सं. १९३१ मा एउटा पाठशाला खोलेर ब्राह्मणका छोराछोरीलाई पढाउने व्यवस्था गरिदिएका थिए । तर केही समयमै स्कुल बन्द भएको इतिहास छ । कुनै विश्वविद्यालयसँग सम्बन्धन नभएकाले यहाँको शिक्षाले कतै मान्यता पाएको थिएन । त्यही भएर रणोद्दीप सिंहको पालामा कलकत्ता विश्वविद्यालयसँग सन् १९३६ मा सम्बन्धन लिइएको थियो । रणोद्दीप सिंहले जंगबहादुरको नीतिबाट शिक्षालाई मुक्त गरेका थिए । अब राणा परिवारका अरू सदस्य, भारदारका छोराहरू, चाकडियाका छोरहरूले पनि अनुमति लिएर पढ्न पाउने गरी यसलाई दरबारबाट बाहिर ल्याइयो । रानीपोखरी पश्चिमतिर यसलाई सारियो । यो ठाउँ वीरशमशेरको गोठ थियो ।


बाहिर निकालिएको स्कुलको रेखदेख गर्ने जिम्मा तत्कालीन कमान्डर इन चिफ धीरशमशेरलाई दिइएको थियो ।

प्रकाशित : फाल्गुन ४, २०७४ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?