कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुवै छिमेकी निकटता बढाउन ‘आतुर’

प्रधानमन्त्री ओलीलाई भारत र चीन भ्रमण गर्न निम्तो
चन्द्रशेखर अधिकारी

काठमाडौँ — छिमेकी मुलुक भारत र चीन प्रधानमन्त्री केपी ओलीलाई छिटोभन्दा छिटो आफ्नो मुलुकमा स्वागत गर्न ‘आतुर’ देखिएका छन् । नयाँ सरकारसँग निकटता बढाउन दुवै देशका समकक्षीले ओलीलाई बधाई र शुभकामनासँगै भ्रमणको निम्तोसमेत पठाइसकेका छन् ।    

दुवै छिमेकी निकटता बढाउन ‘आतुर’

चिनियाँ राजदूत यू होङले बिहीबार ओलीले शपथ लिनुअघि नै प्रधानमन्त्री ली खछ्याङको बधाई तथा शुभकामना वक्तव्य सुनाएकी थिइन् । वक्तव्यमा चीनले नयाँ सरकारसँग निकै निकट रहेर आर्थिक समृद्धिका लागि सहकार्य गर्न चाहेको उल्लेख छ ।


संक्षिप्त भेटमा राजदूत होङले प्रधानमन्त्री ओलीलाई बेइजिङमा स्वागत गर्न आफ्नो सरकार आतुर रहेको जनाउँदै राजनीतिक स्थायित्व र विकासका लागि चीन सधैं साथ रहने बताइन् । उनले निर्वाचनमा वाम गठबन्धनको बहुमत र सरकारमा सहकार्यका लागि शुभकामनासमेत दिइन् । ओली र होङबीच दुई देशबीचका सम्झौता अघि बढाउने विषयमा पनि कुराकानी भएको थियो ।


भारतीय राजदूत मन्जिभसिंह पुरीसमेत बिहीबार राति नै प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुषमा स्वराजको बधाई सन्देश बोकेर ओली निवास बालकोट पुगेका थिए । पुरी त्यहीँ रहँदा मोदी र स्वराजले पालैपालो ओलीसँग टेलिफोन संवादसमेत गरेका थिए । दुवैले ओलीलाई शुभकामनासहित भारत भ्रमणको निमन्त्रणा दिए । मोदीले बिहीबार राति साढे १० बजे टेलिफोन गरेका थिए । यो कुरा मोदीको टवीटमा पनि उल्लेख छ । मोदीले ओलीलाई पहिल्यैदेखि ‘भावी प्रधानमन्त्री’ भन्दै आइरहेकामा टेलिफोन वार्तामा पनि यसै विषयलाई लिएर केहीबेर हँसीमजाक गर्दै सफल कार्यकालको शुभकामना दिएको ओलीनिकट एक नेताले बताए ।

टेलिफोन वार्तामा मोदीले भारत नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासको पक्षमा रहेको र वर्तमान सरकारसँग निकट रहेर काम गर्न चाहेको सन्देश दिए । ‘यहाँको कार्यकालमा नेपालमा आर्थिक प्रगति र उन्नति भएको हेर्न भारत आतुर छ, यसका लागि जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार छ,’ मोदीको सन्देश उद्धृत गर्दै दूतावासका एक अधिकारीले भने, ‘यहाँलाई दिल्लीमा स्वागत गर्न हामी आतुर छौं ।’


यसको जवाफमा ओलीले नेपालको विकास र समृद्धिलाई अघि बढाउँदै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा लैजान आफू तयार रहेको बताए । उनले मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए । मोदीलाई जनकपुर र मुक्तिनाथ भ्रमण गर्न ओलीको आग्रह थियो ।


ओली पहिलो पटक प्रधानमन्त्री छँदा भारतले नाकाबन्दी लगाएको थियो । सोही कारण भारतसँग चिढिएका ओलीले चीनसँग ऐतिहासिक सम्झौता गरे । सोही विषयलाई लिएर ओली चीनतर्फ ढल्किन सक्ने आशंकाका कारण अहिले भारत त्यसअघि नै ओलीसँग निकट सम्बन्ध बनाउन अग्रसर देखिएको नेताहरूको टिप्पणी छ ।


दुई देशबीचको सम्बन्धलाई प्रगाढ र सुमधुर बनाएर लैजान आफू प्रतिबद्ध रहेको ओलीले मोदीलाई बताएका थिए । बिहीबार रातिको भेटमा राजदूत पुरीले ओलीसँग दुईपक्षीय हित र सरकार विस्तारलगायत विषयमा समेत छलफल गरे । पुरीले ओलीको कुशल नेतृत्वमा नेपालले आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै यसमा भारतको सहयोग रहने उल्लेख गरेको दूतावासको टवीटमा उल्लेख छ ।


यसैबीच पाकिस्तानी विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै ओलीलाई त्यहाँका प्रधानमन्त्रीका तर्फबाट शुभकामना तथा बधाई सन्देश दिएको छ । ओलीको नेतृत्वमा यस क्षेत्रको विकास र शान्तिका लागि मिलेर काम गर्न आफूहरू तयार रहेको वक्तव्यमा उल्लेख छ । नेपाल पनि विकासको युगमा प्रवेश गरेको पाकिस्तानले दिएको सन्देशमा उल्लेख छ ।


यसअघि बंगलादेश र अमेरिकाले पनि ओलीलाई बधाई दिइसकेका छन् । सार्क महासचिव अम्जद हुसेन बी सियालले पनि ओलीसँग निकट रहेर काम गर्न र सार्कको विकासमा सहकार्य गर्न उत्साही रहेको भन्दै शुभकामना दिएका छन् । प्रधानमन्त्री ओली सार्कका अध्यक्षसमेत रहेकाले उनको नेतृत्वमा यस क्षेत्रमा धेरै काम हुन सक्ने महासचिवले विश्वास व्यक्त गरेका छन् । उनलाई अन्य मुलुकका राजदूतहरूले पनि शुभकामना दिइरहेका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७४ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?