कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

‘एमाले–माओवादी एकता हुँदैन’

कान्तिपुर संवाददाता

बुटवल — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्ने बताएका छन् । शनिबार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले पार्टी एकताका लागि कार्यनीति, रणनीति, नीति तथा सिद्धान्त, दर्शन र व्यवहार पनि मिल्नुपर्ने बताए ।

‘एमाले–माओवादी एकता हुँदैन’

राष्ट्रियताका विषयमा चुनावमा केही कुरा मिले पनि पार्टी एकता हुनै नसक्ने उनको दाबी छ । ‘एकताका लागि कार्यनीतिदेखि दर्शन र व्यवहार पनि मिल्नुपर्छ,’ उनले भने, ‘चुलोचौको मात्र मिल्दैमा पार्टी एकता हुँदैन, अहिले भएको त्यही हो ।’

नीति, सिद्धान्त र चुलोचौको मिले पार्टी एकता गर्न सकिने उनले बताए । माओवादीले वैद्य र विप्लवसँग पनि पार्टी एकता गर्ने भन्दै समिति नै निर्माण गरे पनि अहिलेसम्म सफल नभएको उनको भनाइ थियो ।

संघीयताको विरोध गर्दै आएका केसीले अब छिट्टै संघीयताविरोधी आन्दोलन नै चलाउने तयारी गरेको बताए । नेपाल र नेपाली जनताले अहिले पनि संघीयता नचाहेको उनको दाबी छ । ‘मैले संघीय प्रणालीको विरोध गरेको छैन,’ उनले भने, ‘तर नेपालको भौगोलिक, आर्थिक अवस्था र गरिबीको समस्याका कारण यसको खर्च देशले धान्न सक्दैन भन्ने हो ।’

प्रकाशित : फाल्गुन ६, २०७४ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?