नारायणगढ–मुग्लिन: चौथोपटक म्याद थप्ने तयारी

तीनपटकसम्म म्याद थपिँदा निर्माण कम्पनीले ७५ प्रतिशतजति काम मात्र सकेका छन्
रमेशकुमार पौडेल

चितवन — तीनपटक म्याद थप्दा पनि नारायणगढ–मुग्लिन सडक विस्तारको काम पूरा हुन सकेको छैन । चौथोपटक म्याद थपको तयारी भइरहँदा अझै २५ प्रतिशत काम बाँकी छ । विस्तार जिम्मा लिएका कम्पनीले सन् २०१५ अप्रिलमा दुई वर्षभित्र काम सक्ने सम्झौता गरेका थिए । 

नारायणगढ–मुग्लिन: चौथोपटक म्याद थप्ने तयारी

अब चौथोपटक म्याद थप्ने तयारी भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए । ‘कम्पनीहरूले काम नसकिनुका जायज कारणसहित माग पेस गरेकाले म्याद थप्न लागिएको हो,’ उनले भने । ३६ किमि लामो नारायणगढ–मुग्लिन सडक राजधानीलाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हो । यहाँबाट दैनिक झन्डै १० हजार बस–ट्रकसहितका सवारीसाधन ओहोरदोहोर गर्छन् । हाल साढे पाँच मिटर चौडा उक्त सडक एसियाली मापदण्डअनुरूपको दुई लेन बनाउने तयारी हुँदै छ । यसमा विश्व बैंंकको तीन अर्ब रुपैयाँ ऋण सहयोग छ ।

भरतपुरको आँपटारीदेखि मुग्लिनसम्मको ३३ किमि खण्डमा विस्तारको काम भइरहेको छ । आयोजना कार्यालयका अनुसार आँपटारीदेखि दासढुंगा, दासढुंगादेखि सिमलताल र सिमलतालदेखि मुग्लिन गरी तीन खण्डमा फरकफरक निर्माण कम्पनीले जिम्मा लिएका छन् ।

‘आँपटारीदेखि दासढुंगासम्म भारतीय कम्पनी बीएलए र नेपाली एससीसीले संयुक्त रूपमा काम गरेका छन् । यो खण्डमा ७५ प्रतिशतभन्दा बढी काम भएको छ । तेस्रोपटक थपिएको म्यादअनुरूप यहाँ फागुन २ मै विस्तार कार्य सम्पन्न भइसक्नुपथ्र्यो,’ आयोजनाका परामर्शदाता आवासीय इन्जिनियर पुष्कर रेग्मीले भने ।

भारतीय कम्पनी उडहिल र नेपाली लामाले जिम्मा लिएको दासढुंगा–सिमलताल खण्ड फागुन ८ भित्र सम्पन्न गर्नुपर्ने सम्झौता छ तर अहिलेसम्म ८३ प्रतिशत हाराहारी काम मात्रै सकिएको छ । तेस्रो खण्ड सिमताल–मुग्लिनको जिम्मासम्म भारतीय कम्पनी सुप्रिम र नेपाली रौताहाले लिएका छन् । फागुन ८ कै समयावधि रहेको यहाँ सबैभन्दा कम ६४ प्रतिशतजति काम सकिएको छ । आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले समग्रमा ७५ प्रतिशत हाराहारी काम भएको बताए । समयमा काम नसके ठेकेदारलाई कारबाही र जरिवानाको प्रावधान रहे पनि काम नसकिनुमा उनीहरूले पेस गरेका कारण जायज लागेकाले चौथोपटक म्याद थप्ने स्वीकृति दिन लागिएको आयोजना प्रमुख यादवले दोहोर्‍याए । ‘पछिल्लोपटक दसैं–तिहार जस्ता पर्व र चुनावका कारण अलमल भयो । गाडी लगातार चल्दा काम गर्न गाह्रो हुन्छ । उहाँहरूले यही जानकारी गराउनुभएको छ,’ उनले भने । यादवका अनुसार पहिलो खण्डको म्याद आगामी वैशाख २७ सम्मलाई थप्ने प्रस्ताव भएको छ । दोस्रो खण्डको म्याद जेठ ६ र तेस्रो खण्डको जेठ १६ सम्म म्याद थप्ने प्रस्ताव छ ।

निर्माण व्यवसायी र आयोजनाका अधिकारीले शक्तिशाली भूकम्प र भारतीय नाकाबन्दीले निम्त्याएको समस्याका कारण पनि काममा ढिलाइ भएको बताउँदै आएका छन् । वर्षा, पहिरो र गाडीको चापले काममा बाधा पुगेको निर्माण व्यवसायीको गुनासो छ । दोस्रो खण्डको काम गर्दै आएका उडहिल–लामाका म्यानेजर रवीन्द्र श्रेष्ठले दैनिक आठ घण्टा पूरा गर्न नपाएका कारण समयमै सक्न गाह्रो भएको बताए । ‘निर्माण क्रममा गाडी एकतर्फी मात्र सञ्चालनमा ल्याउने, पूरै आठ घण्टा काम गर्ने वातावरण बनाउने सम्झौता थियो । तर, एकतर्फी गरिँदा पनि काम भनेजसरी अघि बढ्न सकिएन । अहिले दिनमा छ घण्टा गाडी पूरै बन्द गरिएको छ,’ उनले भने । पछिल्लोपटक चार महिना म्याद थप्नुपर्ने देखिएकामा तीन महिना मात्रै पाएको श्रेष्ठले बताए ।

अहिले १७ किलोमिटरजतिमा पहिलो तहको कालोपत्रे भएको छ । त्यस्तै १५ किमिमा दोस्रो तहको कालोपत्रे सकिएको छ । यो खण्डमा तीन तहको कालोपत्रे हुने आयोजनाका अधिकारीहरूले बताएका छन् । समयमै सडक सम्पन्न नहुँदा यात्रुले हैरानी खेप्नुपरेको छ । घण्टौं जाममा फस्नुपर्ने बाध्यता छ । पहिरोमा परेर ज्यानैसम्म जाने गरेको छ ।

विस्तार कार्य चाँडो सम्पन्न गर्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीसमेत स्थलगत अनुगमनमा आएर अधिकारीहरूलाई निर्देशन दिएका थिए । केही दिनअघि निरीक्षणमा आएका प्रदेश नम्बर ३ का नवनियुक्त मुख्यमन्त्री डोरमणि पौडेलले पनि काम चाँडो नसके कारबाही गर्ने चेतावनी दिएका छन् । तर, कामको गति देख्दा चौथोपटक थपिएको म्यादमा पनि सडक सम्पन्न हुनेमा ढुक्क हुने अवस्था छैन ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?