सीमा बिर्साउने सम्बन्ध

यताका स्थानीय मजदुरी गर्न पारि पुग्छन्, उताका पनि वारि आउँछन् । दुवैतिर ज्याला पनि समान छ ।
भरत जर्घामगर

बरियारपट्टी (सिरहा) — सिरहाको बरियारपट्टीमा नेपाल–भारत सीमा छुट्याउँछ, २५५ नम्बरको स्तम्भले । तर, सीमा वारिपरि दुवैतिरका स्थानीयलाई आफूहरू फरक–फरक देशका हौं भन्ने हेक्कै रहँदैन । एउटै गाउँ, एउटै परिवारजसरी व्यवहार गर्छन् उनीहरू । एक–अर्कालाई भरथेग गर्छन् । 

सीमा बिर्साउने सम्बन्ध

दशगजापारि चन्देश्वर र महेश रामलगायत १४ परिवार दलितको बसोबास छ । नेपालतर्फ सोही समुदायका ५० परिवार बस्छन् । वारि बरियारपट्टी गाउँपालिकाको ३ नम्बर वडा पर्छ भने पारि भारतको लदनिया । दशगजा दुवैतर्फका बालबालिकाको खेलमैदान बनेको छ । ‘बिहान–बेलुका क्रिकेट खेल्ने साथी नै बरियारपट्टी राम टोलका छन्,’ क्रिकेट खेलिरहेका १८ वर्षीय सञ्जय रामले भने, ‘खेल खेल्दा, हिंड्डुल गर्दा दुई देशका हौं भन्ने पनि बिर्सिन्छौं । भोलिपल्ट विद्यालय पुग्दा मात्र आफू भारतको हो भन्ने महसुस हुन्छ ।’ सञ्जय लदनियामा आईएमा अध्ययनरत छन् ।


सञ्जयसँगै क्रिकेट खेलिरहेका थिए, बरियारपट्टी दलित बस्तीकै कृष्णा राम । उनी कक्षा ८ मा अध्ययनरत छन् । ‘हामी सधैं यही स्थल (दशगजा) मा क्रिकेट खेल्छौं,’ उनले भने, ‘विद्यालय र लदनिया हाटमा किनमेल गर्न जाँदा फरक–फरक देशका रहेछौं भन्ने भान हुन्छ, अरूबेला त्यस्तो केही थाहै हुन्न ।’

दशगजा क्षेत्र पुग्दा ती दुवै बस्तीका ८ वर्षीय रविशंकर, मन्तोरिया, विमला, रोशनी सीमास्तम्भ वरिपरि ‘पासपास’ खेलिरहेका थिए । उनीहरूको लुक्ने र साथीलाई छक्याउने साधन त्यही स्तम्भ बनिरहेको थियो । बालबालिका मात्र होइन, दुईतिरका अभिभावकबीच पनि उस्तै सम्बन्ध छ । लदनियाका चन्देश्वर र महेश राम कृषि मजदुरी गरी गुजारा चलाउँछन् । आफ्नो खेतीपातीको काम भ्याएपछि ती दुवै परिवार नेपालतर्फ जनबनीमा खट्छन् । ‘हामी सुकुम्बासी परिवारका हौं,’ लदनियाका ५५ वर्षीय चन्देश्वर रामले भने, ‘दुवैतर्फ जनबनीमा खटेर गुजारा चलाउँछौं ।’


नेपालतर्फको सुकुम्बासी दलित बस्तीको राम समुदाय भारततिर मजदुरी गर्न जान्छ । ‘यताका उत्तापट्टि र उताका पनि यतातिर आउँछन् । जता काम पाइन्छ उतै खटिन्छौं,’ ३० वर्षीय नन्दी रामले भने, ‘देशमात्रै फरक हो, श्रम र मजदुरी ज्याला उत्ति नै पाउँछौं ।’


दुवै बस्तीलाई सीमा स्तम्भले छुट्याए पनि श्रम, जातीय संस्कारलगायत केही फरक नभएको लदनियाका महेश रामले बताए । उनकी श्रीमती उर्मिलादेवी सिरहा मिर्चैयाकी हुन् । ‘श्रम, संस्कारसँगै वैवाहिक सम्बन्धले हामी झन् नजिकिएका छौं,’ उनले भने, ‘आफू पनि ससुराली गइरहने । दोहोरो आवतजावतले भावनात्मक सम्बन्ध झन् कसिलो बनाइदिएको छ ।’ उर्मिलाले दशगजा छेउमै घर भएकाले माइती गाउँमै बसेको अनुभव हुने गरेको सुनाइन् ।


यो सम्बन्ध पुर्खांैदेखि कायम रहेको महेशकी आमा ६४ वर्षीया रामवती रामले सुनाइन् । ‘उमेर हुन्जेल वारिपारि जनबनीमा खट्थें, त्यसरी नै दुई छोरा चन्देश्वर र महेशलाई हुर्काएँ,’ उनले भनिन्, ‘जेठोको भारत लक्ष्मीनिया र कान्छाको नेपालको मिर्चैयाबाट विवाह गरेर बुहारी भित्र्याएँ ।’ दुई देश आउजाउमा कुनै कठिनाइ भोग्नुनपरेको रामवतीले बताइन् । त्यस्तै अनुभव बरियारपट्टीका ७० वर्षीय दुखीराम र ६५ वर्षीया सीतादेवी दम्पतीको पनि छ । उनीहरू हाटबजार गर्न सीमापारि ५ मिनेट परको लदनिया बजार पुग्थे । ‘यता पहिला हाटबजार लाग्दैनथ्यो,’ उनले भने, ‘नुन, तेल जोहो गर्ने बजार नै लदनिया थियो ।’

बरियारपट्टी गाउँपालिका ३ का वडाध्यक्ष अनन्तलाल यादवले सदियौंदेखि नेपाल–भारत सम्बन्ध कायम रहेको र अझ दुवै बस्तीका चमार समुदायको संस्कारसमेत मिल्ने भएकाले सम्बन्ध अझ प्रगाढ भएको बताए । उनले दुवैतर्फका परिवार वारिपारि रोजगारीका लागि खटिँदै आएको सुनाए ।


एकै खाले संस्कार र जीविका रहे पनि उनीहरूलाई आआफ्ना सरकारले गर्ने व्यवहारमा भने आकाश–जमिनको फरक छ । लदनियाकी रामवतीको परिवार पहिले सुकुम्बासी थिए । उनीहरूलाई भारत सरकारले थातथलो र जीविकोपार्जनका लागि ११ कट्ठा जग्गा उपलब्ध गराएको छ । त्यही जग्गाको उब्जनीबाट दुई छोरा चन्देश्वर र महेशले डेढ कट्ठा जमिन जोडेका छन् । तर, नेपालतर्फको चमार (राम) बस्तीका स्थानीय अभै सुकुम्बासी नै छन् । ऐलानी जग्गामा बसोबास गर्छन् । ७० वर्षीय दुखीरामले सरकारले उताजस्तो जग्गा नदिए पनि थातथलोका लागि बस्ती बसाएको बताए ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?