१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दार्चुला–तिंकर सडक : १० वर्षमा २३ किलोमिटर

हरेक वर्ष ६० देखि ७० प्रतिशत बजेट फ्रिज 
मनोज बडू

दार्चुला — तिंकर सडकमा बर्सेनि बजेट आएको आयै छ । कामले भने गति लिन सकेको छैन । निर्माण सुरु भएको दशक बित्यो । अहिलेसम्म २३ किलोमिटर ट्रयाक मात्र खुलेको छ । उत्तर–दक्षिण जोड्ने सामरिक महत्त्वको यो सडकको ‘कछुवा गति’ ले सीमावर्ती क्षेत्रका बासिन्दाको स्वदेशी बाटोमै गाडी चढ्ने धोको पूरा हुन सकेको छैन् ।

दार्चुला–तिंकर सडक : १० वर्षमा २३ किलोमिटर

सरकारले दार्चुला–तिंकर सडकलाई उच्च प्राथमिकता दिएर बजेट विनियोजन गरिरहेको छ । तर, हरेक वर्ष ६० देखि ७० प्रतिशत बजेट फ्रिज जान्छ । पछिल्लो ४ वर्षयता मात्रै उक्त सडकमा करिब ७१ करोड बजेट निकासा भयो । त्यसमध्ये २२ करोड ९३ लाख बराबरको काम भयो ।


बाँकी रकम फिर्ता गएको आयोजना कार्यालयको प्रगति विवरणमा उल्लेख छ । १ सय ४० किलोमिटर लम्बाइको यो सडकलाई महाकाली करिडोरअन्तर्गत राखिएको छ ।


अहिलेकै गतिमा काम भए निर्माण पूरा हुनै ३० वर्षभन्दा बढी समय लाग्न सक्ने स्थानीयको अनुमान छ ।

व्यास गाउँपालिकाको घाटीबगडसम्मको ७५ किलोमिटरमा ट्रयाक खोल्न ठेक्का भए पनि दुई वर्षदेखि काम ठप्प छ । सुन्सेरासम्म ‘ब्याक कटिङ’ भइरहेको छ । यसमा पनि सोचेअनुरूप प्रगति हुन सकेको छैन । आयोजनाका इन्जिनियर दिनेश रैखोलाले भने, ‘ठेकेदारलाई जिलेटिन उपलब्ध गराउन नसक्दा निर्माण गति सुस्त देखिएको हो ।’


भारतीय नाकाबन्दी, निर्माण सामग्री र इन्धन अभाव तथा एकवर्षे ठेक्का प्रणालीलगायत कारणले सडक निर्माणमा ढिलाइ भएको आयोजनाका कर्मचारीको दाबी छ । आयोजनाले ३ वर्षअघि नेपाली सेनाको काठमाडौंस्थित बारुदखानालाई बसुन्धरा क्यान्टिनमार्फत १० हजार १ सय केजी (१० दशमलव १ टन) विस्फोटक माग गरेको थियो । त्यसका लागि २६ लाख १५ हजार रकम बुझाए पनि सेनाले अझैसम्म आवश्यक विस्फोटक पदार्थ उपलब्ध गराएको छैन ।


स्थानीय तहका जनप्रतिनिधिले विस्फोटक पदार्थ उपलब्ध गराउन पटक–पटक आग्रह गरिरहेका छन् । तर, सेनाले विस्फोटक उपलब्ध गराउन अझै ढिलो हुन सक्ने जानकारी दिएको छ । सेनाले ३ वर्षअघि ३ हजार १ सय केजी र २ वर्षअघि २ हजार ६ सय केजी विस्फोटक पदार्थ मात्रै उपलब्ध गराएको छ । आयोजनाका अनुसार उक्त सडक निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ उपलब्ध नहुँदासम्म कामले गति लिन सक्ने स्थिति छैन ।


तिंकर सडकलाई ८ वर्षदेखि सरकारले राष्ट्रिय प्राथमिकतामा राखेर रणनीतिक सडकमा रूपमा विस्तार गर्न खोजेको छ । तर, निर्माण कार्यले गति नलिँदा स्थानीय आक्रोशित छन् । ‘सरकारले प्राथमिकतामा राख्दै आए पनि कार्यान्वयन भने प्राय:शून्य नै छ,’ व्यास ५ धौलाकोटका ७१ वर्षीय जयसिंह धामीले भने, ‘सडक निर्माण पूरा भएमा यो क्षेत्रको बृहत्तर विकासमा ठूलो टेवा पुग्नेछ ।’


यो क्षेत्रमा सडक सुविधा नहुँदा यहाका बासिन्दा अहिले पनि महाकालीमा रहेको जोखिमपूर्ण तुइन प्रयोग गरेर भारतीय बाटो आउजाउ गर्न बाध्य छन् । व्यासका स्थानीय अगुवा धीरेन्द्र बोहराले भने, ‘गतवर्ष मात्र तुइन चुँडिएर यो क्षेत्रमा ४ जनाले ज्यान गुमाए ।’ स्थानीय तहमा जनप्रतिनिधि आएपछि सडक निर्माणले गति लिने आशामा रहेका स्थानीय अहिले निराश छन् ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?