१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

छिटो मन्त्री पठाउन ओलीको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले गत बुधबारदेखि अड्किएको एकतासम्बन्धी छलफललाई आइतबार निरन्तरता दिने भएका छन् । पार्टी एकताको विधिलगायत विषयमा विवाद भएपछि गत बुधबार वाम एकता संयोजन समिति सहमतिमा पुग्न सकेको थिएन ।

छिटो मन्त्री पठाउन ओलीको आग्रह

आइतबार पुन: छलफल गर्ने गरी दुई नेताले वाम एकता संयोजन समितिको बैठक बोलाएका छन् ।


‘दुई दलबीच सहमतिको प्रक्रिया सकारात्मक ढंगले अघि बढेको छ,’ शनिबार ओलीसँगको भेटपछि दाहालले सञ्चारकर्मीसँग भने । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तारमा ढिलाइ गर्न नहुने, सकेसम्म आइतबार नै कुनै निष्कर्षमा पुग्नुपर्ने भन्दै माओवादीका तर्फबाट मन्त्रीहरू पठाउन दाहालसँग आग्रह गरेको स्रोतले जनायो । माओवादीका मन्त्रीहरू नआउँदासम्म एमालेबाट पनि मन्त्री नथपिने भएकाले यसमा छिटो सहमति जनाउनुपर्ने ओलीको आग्रह थियो । दाहालले मन्त्री पठाउने विषयमा पार्टीभित्र समस्या नरहेको, तर सबै विषय टुंग्याउँदा राम्रो हुने बताएका थिए । त्यसैले सकेसम्म आइतबार संयोजन समितिबाट टुंग्याउन पहल गर्ने समझदारी भएको छ ।


दुई दलबीच एकीकृत पार्टीको नेतृत्व संयुक्त रूपमा गर्ने समझदारी भइसकेको छ । तर अन्य नेताहरूको व्यवस्थापन, प्रधानमन्त्रीबाहेक राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत मुख्य पदको भागबन्डा भने टुंगिएको छैन । त्यस्तै, पार्टीको सिद्धान्तको सम्बन्धमा पनि मिलेका विषयलाई लिपिबद्ध गर्दै बाँकी महाधिवेशनसम्म छलफलमा लैजाने भन्ने दुई दलको समझदारीजस्तै थियो । तर बुधबारको एकता वार्तामा दुवै पार्टीले हाल अवलम्बन गर्दै आएका सिद्धान्तबारे अहिले नै टुंग्याउनुपर्ने धारणा राखेपछि समझदारी बन्न नसकेको हो ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?