बाजुराको पूर्वी क्षेत्रमा खाद्य संकट

कान्तिपुर संवाददाता

बाजुरा — कर्णालीसँग जोडिएका बाजुराको पूर्वोत्तर क्षेत्रमा बर्सेनि खडेरीले अन्न उत्पादन घटदा त्यहाँका बासिन्दा भोकमरीको मारमा पर्न थालेका छन् । चरम खडेरीका कारण वर्षे र हिउँदेबाली करिब १९ करोड ४० लाख बराबरको खाद्यान्न उत्पादन ह्रास भएको आकलन गरिएको छ । 

बाजुराको पूर्वी क्षेत्रमा खाद्य संकट

खडेरीले प्रमुख हिउँदे बाली गहुँ करिब ३८ सय मेट्रिक टन, जौ ७ सय ८० मेट्रिक टन र अन्य बाली २ सय २७ मेट्रिक टन उत्पादन ह्रास हुने कृषि विकास कार्यालय बाजुराले प्रारम्भिक आकलन गरेको हो । खाद्यान्न उत्पादन घटेपछि जिल्लाको कोल्टी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिकाका साथै जगन्नाथ, हिमाली र स्वामीकार्तिक गाउँ पालिकाका बासिन्दाहरू भोकमरीको चपेटामा पर्न थालेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने उक्त समितिले २५ सय मेट्रिक टन खाद्यान्न तत्काल त्यस क्षेत्रमा पठाउनुपर्ने माग गरेको छ ।


समितिले आपूर्ति मन्त्रालयमा खाद्यान्न माग गर्दै बिहीबार पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए । ‘उत्पादन घटेकाले स्थानीयलाई अहिले छाक टार्नै कठिन भएको छ,’ प्रजिअ क्षत्रीले भने, ‘उत्पादन घटेसँगै भोकमरी हुन सक्ने अवस्थालाई मध्यनजर गरी जिल्लाबाट आपूर्ति मन्त्रालयमा खाद्यान्नको थप कोटा उपलब्ध गराइदिन माग गरेका हौं ।’


बाजुरामा कुल २० प्रतिशत मात्र खेतीयोग्य जमिन छ । त्यसमा पनि २.२७ प्रतिशत भूमिमात्र सिञ्चित क्षेत्र हो । सामान्य अवस्थामा समेत बाजुरामा वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग रहेको तथ्यांक छ । ‘तत्काल कुनै वैकल्पिक व्यवस्था नहुने हो भने हामीलाई बाँच्नै कठिन छ,’ साप्पाटाका मनवीर विकले भने, ‘बजारमा चामल किन्न पाइने भए पनि निमुखा गरिबले कसरी बजारको खाद्यान्न किन्नु ?’


भोकमरीको चपेटामा पर्न थालेका स्थानीय बासिन्दालाई वितरणका लागि नभई ‘कामका लागि खाद्यान्न’ योजना दिएर खाद्यान्न उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको प्रजिअ क्षत्री बताउँछन् । जिल्लामा सिञ्चित खेतीयोग्य जमिन नहुनु मुख्य समस्या भएको कृषि क्षेत्रका विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार अधिकांश खेती आकाशे पानीको भरमा रहेका कारण बाजुरा जहिल्यै पनि भोकमरीको उच्च जोखिममा रहने गरेको छ । ‘आकाशे पानीको भरले पाखो जमिनमा उत्पादन बढ्दैन,’ कृषि विकास कार्यालयका प्रमुख मीनप्रसाद जैशीले भने ।


खडेरीका कारण यस क्षेत्रमा खेतीपाती हुने जमिन बाँझै छ । खाद्यान्न अभावले मानवीय संकट निम्त्याउँदै छ । उत्पादन शून्य भएकाले घरमा भएको जायजेथा बिक्री गरेर खाद्यान्नको जोहो गरेका छन् यहाँका स्थानीयले । उसै पनि विपन्न समुदायको बसोबास रहेको बाजुरा कर्णाली क्षेत्रमा अधिकांश परिवारमा खाद्यान्न किन्दाकिन्दै भएभरको जेथासमेत सकिएको छ ।


‘जमिन बाँझै छ । घरमा भएको जायजेथा बिक्री गरी खाद्यान्नको जोहो गर्‍यौं । अब त्यही पनि सबै सकिएर के गरी छाक टार्नु ?’ जगन्नाथका लालवीर सार्कीले भने । सबैको अवस्था उस्तै भएकाले ऋणकर्जा खोज्ने ठाउँसमेत नभएको उनले बताए ।

भारत पलायन बढ्यो

गाउँमा खाद्यान्न संकट बढ्दै गएपछि स्थानीय बासिन्दाहरूले गाउँ छाड्ने क्रम बढेको छ । २ सय ५५ भन्दा बढी परिवारको बसोबास रहेको बाजुराको साप्पाटामा पर्ने मुक्तिकोट गाउँमा यतिबेला महिला, बालबालिका र वृद्धवृद्धा मात्रै भेटिने गरेको स्थानीय शिक्षक मनबहादुर रोकायाले बताए । मुक्तिकोट मात्रै हैन, घरमा खाद्यान्न जोहो गर्ने उपाय नभएपछि पुरुषहरू कामको खोजीमा धमाधम भारत पलायन

हुने क्रम बढेको छ । ‘गाउँघरमा छाक टार्नै मुस्किल भएपछि भारतको नैनिताल जाँदैछौं,’ बाटोमा भेटिएका रुगिनका लालबहादुर विकले भने, ‘यता गाउँघरमा पानी नपरेर खेतीपाती स्वाहा भयो, बालबच्चा परिवार पाल्नै पर्‍यो, त्यसैले रोजगारीका लागि भारत जान लागेका हौं ।’ गाउँघरमा खाद्यान्न अभाव र आयआर्जनका उपायहरू नभएपछि स्थानीय युवा उमेरकाहरू घर गुजारा चलाउन करिब ८० प्रतिशत पुरुषहरूले गाउँ छाडेको स्थानीय शिक्षक रोकाया बताउँछन् ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?