१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कतार दूतावासले फेर्‍यो काँचुली

होम कार्की

दोहा (कतार) — केही अघिसम्म कतारस्थित नेपाली दूतावासलाई ‘मछलीबजार’ को उपनामले चिनिन्थ्यो । नेपाली दूतावास ‘दूतावास’ जस्तो थिएन । कार्यालयको खुला परिसर थिएन । एकतले भवन थियो ।

कतार दूतावासले फेर्‍यो काँचुली

राजदूतको कोठा ढकढकाउन जो पनि सीधै पुग्थे । कर्मचारीलाई काम गर्ने वातावरण थिएन । सेवाग्राहीको चापले दूतावासको एसीले काम गर्दैनथ्यो । कोठामा निसास्सिएर काम गर्नुपथ्र्यो । जतिखेर पनि कूटनीतिक कर्मचारीहरू तनावमा भेटिन्थे ।


राहदानीको नयाँ फाराम बुझ्ने र राहदानी लिने, मागपत्र प्रमाणीकरण गर्न, प्रहरी प्रतिवेदन बनाउनेदेखि श्रम समस्यामा परेका नेपालीको भीड नै लाग्थ्यो । दूतावासले दैनिक ७ सयदेखि एक हजार जनालाई सेवा दिनुपथ्र्यो । पीडितलाई आश्रय दिने कोठा थिएन । भान्सालाई नै आश्रयस्थल बनाइएको थियो । दूतावासको आफ्नै सुरक्षा गार्ड थिएन । शौचालय उस्तै अस्तव्यस्त । मुलुकको छविमै आँच आउने भएकाले कूटनीतिक भेटघाट दूतावासमा हुँदैनथ्यो, राजदूतकै निवासमा गरिन्थ्यो ।


यो हविगत देखेको परराष्ट्र मन्त्रालयको लामो प्रयासपछि अर्थ मन्त्रालयले सुविधायुक्त भवनमा दूतावास राख्न मिल्ने गरी भाडा रकम बढाइदियो । झन्डै १० लाख रुपैयाँ मासिक भाडा तिर्ने गरी अहिले दूतावास नयाँ भवनमा सारिएको छ । नयाँ भवनमा १६ कार्यकक्ष छन् । राजदूतको सुविधायुक्त सचिवालय छ । द्विपक्षीय छलफल गर्ने कूटनीतिक बैठक कक्ष, समुदायका अगुवासँग छलफल गर्न सामुदायिक बैठक कक्ष, कर्मचारीका लागि छुट्टै बैठक कक्ष छन् । विषयगत सेवा दिन छुट्टाछुट्टै काउन्टरको व्यवस्था छ । पुरुष र महिलाका लागि शौचालय पनि अलगअलग छन् ।


भौतिक पूर्वाधार मात्र होइन, दूतावासले आवश्यक जनशक्तिसमेत पाएको छ । कूटनीतिक कर्मचारी मात्रै ११ जना छन् । तीन जना जनसम्पर्क अधिकारी (पीआरओ) सहित स्थानीय कर्मचारी १० जना छन् । ‘महिला कामदारका लागि सुरक्षित आश्रयस्थल पनि राखेका छौं । त्यसमा खाना बनाउन मिल्ने र भित्रै शौचालय छ,’ नेपाली दूतावासका उपनियोग प्रमुख मणिरत्न शर्माले भने, ‘एकै खालका पीडित धेरै भए दूतावासकै गाडीमा राखेर पीडितलाई श्रम कार्यालयसम्म लैजानेसमेत व्यवस्था भएको छ ।’

कतारमा २५ वर्षदेखि कार्यरत धनुषाका साकिर अली बल्ल आफूहरूले चाहेजस्तो दूतावास पाएको बताउँछन् । ‘दूतावासले छुट्टाछुट्टै काउन्टर बनाइदिएको छ । कुन कामका लागि जान लागेको हो, गेटमै टोकन पाइन्छ । सम्बन्धित शाखाबाट सहजै काम हुन्छ,’ अलीले भने, ‘बल्ल दूतावास पुग्दा गौरव महसुस भएको छ ।’


शर्माका अनुसार सेवाग्राहीलाई छिटो र सहज रूपमा सेवा प्रदान गर्न सीसीटीभीबाट निगरानी हुन्छ जसलाई काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा जोड्ने तयारी छ ।


‘आपतकालीन राहदानी ३ दिनमै दिलाउँछौं, कन्सुलर सेवा अनलाइनमार्फत दिइरहेका छौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?