माओवादी संसदीय दलको नेतामा दाहाल सर्वसम्मत् चयन

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन भएका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको सांसद् हितबहादुर तामाङले जानकारी दिए ।

माओवादी संसदीय दलको नेतामा दाहाल सर्वसम्मत् चयन

बैठकमा संसदीय दलको नेताको चयनका लागि सांसद कृष्णबहादुर महराले अध्यक्ष दाहालको नाम प्रस्ताव गरेका थिए भने सांसद् गिरिराजमणि पोखरेलले समर्थन गरेका थिए । दाहाल प्रतिनिधिसभातर्फ चितवन–३ बाट निर्वाचित सांसद् हुन् ।


नेता तामाङका अनुसार बैठकमा अध्यक्ष दाहालले पार्टी एकता, सरकार गठनलगायत समसामयिक विषयमा ब्रिफिङ गरेका थिए । एमालेसँगको एकताबारे आइतबार शीर्ष नेताबीच छलफल हुने र भ्याएमा एकता संयोजन समिति बैठक बस्ने जानकारी दाहालले बैठकमा राखेका थिए ।


अध्यक्ष दाहालले समाजवादी समाज र समृद्ध नेपालका पक्षमा संसद्‍मा भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिएका थिए । संसदीय मोर्चालाई समेत युद्धकै एउटा स्वरुपका रुपमा लिएर भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।


माओवादीले पार्टी एकता, सरकार गठनलगायत विषयमा प्याकेजमा सहमति हुनुपर्ने माग गर्दै आएको छ । भागबन्डा नमिलेका कारण प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गरेको मा‌ओवादी केन्द्रबाट सरकारमा सहभागी भएको छैन ।

उक्त अवसरमा प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित हुने सांसदलाई अध्यक्ष दाहालले प्रमाणपत्र प्रदान गरेका थिए ।


प्रकाशित : फाल्गुन ६, २०७४ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?