१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

प्रदेश–६ को मन्त्रीपरिषदले पूर्णता पायो

मुख्यमन्त्रीका आकांक्षी ज्वाला र भण्डारी पनि मन्त्री
प्रकाश अधिकारी

सुर्खेत — प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । मन्त्रिपरिषदमा ४ एमाले र २ मन्त्री माओवादी केन्द्रका छन् ।

प्रदेश–६ को मन्त्रीपरिषदले पूर्णता पायो

मुख्यमन्त्री माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नियुक्त भएको चार दिनपछि प्रदेश ६ को मन्त्रीपरिषदले पूर्णता पाएको छ । एमाले र माओवादी केन्द्रका ६ सांसदले आइतबार प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट पद तथा गोपनियताको सपथ लिए । मन्त्रीपरिषदमा मुख्यमन्त्रीसहित माओवादी केन्द्रका ३ र, एमालेका ४ मन्त्री छन् । एमालेबाट प्रकाश ज्वाला, दलबहादुर रावल, नन्दसिंह बुढा र खड्क खत्री तथा माओवादी केन्द्रबाट नरेश भण्डारी र विमला केसी मन्त्रीमा नियुक्त भएका छन् ।


सल्यानबाट निर्वाचित सांसद ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनी पछिल्लो व्यवस्थापिका संसदमा अर्थ समितिका सभापति थिए । एमाले पोलिट्ब्युरो सदस्यसमेत रहेका ज्वालाले संसदीय दलको नेतामा दाबी गरेपनि अन्तिम समयमा अर्का पोलिट्ब्युरो सदस्य यामलाल कंडेललाई समर्थन गरेका थिए । मन्त्रीपरिषद्को दोस्रो वरियतामा उनी छन् । पूर्वसांसदसमेत रहेका ज्वाला मुख्यमन्त्री हुने आकांक्षाले प्रदेशसभामा झरेका थिए । मुख्यमन्त्रीमा दाबी गरेका जुम्लाका माओवादी केन्द्रका सांसद नरेश भण्डारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी पूर्व सभासद पनि हुन् ।


एमालेबाट हुम्लाका दल रावलले सामाजिक विकास मन्त्रालय, डोल्पाका नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण, सुर्खेतका खड्क खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । खत्री निर्माण व्यवसायी पनि हुन् । उनी ०४९ र ०५४ को स्थानीय निर्वाचनमा साबिकको रामघाट गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी केन्दबाट रुकुमकी विमला केसीले भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनी पनि पूर्व सभासद हुन् । शुक्रबार मुख्यमन्त्रीसँगै सपथ खुवाउने माओवादी केन्द्रको योजना भएपनि एमालेले मन्त्री छनौट गर्न ढिलाइ गरेकाले आइतबार मन्त्रीपरिषदले पूर्णता पाएको हो । मन्त्रीपरिषदमा दलित, जनजाति क्षेत्रको प्रतिनिधित्व नभएको भन्दै सांसदहरुले असन्तुष्टि पोखे ।


नवनियुक्त मन्त्रीहरुले ६ नम्बर प्रदेशको परिचय बदल्ने अठोट व्यक्त गरे । ‘पिछडिएको, गरिब प्रदेशको परिचय बदल्नेछौं । भाषणमात्र गर्ने होइन्,’ नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सञ्चारकर्मीसँग भने, ‘अब साँच्चिकै काम गर्ने बेला आएको छ । प्रदेशको विकास र सम्वृद्धिका लागि सरकारले छिटै योजना बनाउँछ ।’ सपथ लगत्तै मन्त्रीहरु आ–आफ्नो मन्त्रालय पुगेर पदवहाली गरे । नवनियुक्त मन्त्रीलाई लिन मन्त्रालयका गाडीसहित मन्त्रालयका कर्मचारीहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । पदवहाली लगत्तै मुख्यमन्त्री तथा प्रदेश मन्त्रीपरिषदको कार्यालयमा मन्त्रीपरिषद्को पहिलो बैठक बसेको थियो ।

प्रकाशित : फाल्गुन ६, २०७४ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?