कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सातै प्रदेशमा महिला उपसभामुख 

कान्तिपुर संवाददाता

काठमाडौँ — गत संसदमा महिला सभामुख भए पनि सातै प्रदेश संसदको उपसभामुखमा महिला चयन भएका छन् । प्रमुख पद दावी गर्दै आए पनि उनीहरु उपसभामुख पदमा चयन भएका हुन् ।प्रदेश १ को उपसभामुख पदमा सरस्वती पोखरेलको मात्र उम्मेदवारी परेकोले  निर्विरोध निर्वाचित भएकी हुन् । 

सातै प्रदेशमा महिला उपसभामुख 

सुनसरी घर भएकी पोखरेल २०३२ सालमा प्युठानमा जन्मिएकी हुन् । २०४६ सालदेखि राजनीतिमा लागेकी उनी समाजशास्त्रमा स्नातकोत्तर गरेकी हुन् । २०५४ सालमा एमाले विभाजनपछि माले पार्टीमा काम गरिन् । ०५८ सालदेखि माओवादी जनयुद्धमा लागेकी हुन् । हाल उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सुनसरी जिल्लाको संयोजक हुन् । पोखरेल समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी हुन् ।


प्रदेश २ को उपसभामुखमा सप्तरीकी उपमा देव निर्वाचित भएकी छन् । सामान्य पारिवारिक अवस्थाकी देव समानुपातिक प्रदेशसभा सदस्य बन्दै उपसभामुखसम्मको यात्रा तय गरेकी हुन् । भारत बिहारको फारविसगन्ज माइती भएकी देव सन् १९९२ मा बिहेपछि नेपाली नागरिक भएकी थिइन् । २ छोरा र एक छोरीकी आमा उपमालाई अब घरकी गृहिणीसँगै २ नम्बर प्रदेशको नीति निर्माण गर्ने जिम्मेवारी पनि थपिएको छ ।

प्रदेश १ उपभामुख सरस्वती पोखरेल

प्रदेश २ उपसभामुख उपमा देव

प्रदेश ३ उपसभामुख राधिका तामाङ

प्रदेश ४ उपसभामुख सृजना शर्मा

प्रदेश ६ उपसभामुख पुष्पा घर्ती

प्रदेश ७ उपसभामुख निर्मला बडाल जोशी


‘हिजोका दिनजस्तो मधेसका महिलाहरू अब घुम्टोभित्र होइन, नीति निर्माण तहमा पुगेर काम गर्न सक्षक भइसकेका छन्,’ उनले भनिन्, ‘अबसर पाए मधेसी महिलामा जिम्मेवारी पूरा गर्न सक्छिन् ।’ राजनीतिमा इमान्दारीपूर्वक लागे समयमा मूल्यांकन हुने गरेको बताउँदै उनले आफूले पार्टी, आन्दोलन र जनताका लागि गरेको कार्यको सम्मानस्वरूप उपसभामुख हुन पाएको बताइन् ।


स्नातकसम्मको अध्ययन गरेकी उपसभामुख देव ८ वर्षअघि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरी राजनैतिक यात्रा प्रारम्भ गरेकी थिइन् ।


प्रदेश ३ को उपसभामुखमा नुवाकोटकी राधिका तामाङ चयन भइन् । २०४० सालमा जन्मिएकी मोक्तान २०५४ सालदेखि तत्कालिन माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा आवद्ध भएकी थिइन् । उनी २०६१ सालमा जिल्ला जनसरकार प्रमुख पनि भएकी थिएन । तामाङ २०७० सालको दोस्रो संविधानसभामा समानुपातिक सांसद थिइन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनले कृषि राज्यमन्त्रीको जिम्मेवारी समेत पाएकी थिइन् ।


प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना शर्मा निर्वाचित भएकी छन् । अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव शर्मा प्रदेश संसदको मत बिभाजनका आधारमा निर्वाचित भएकी हुन् ।

निर्वाचित उपसभामुख शर्माले संविधानको परिधिभित्र रहेर सबैलाई समेट्ने बताइन् । ‘यो संसदीय अभ्यास हो,’ उनले भनिन्, ‘देशलाई सुख र समृद्धिको लक्ष्यमा लैजान भूमिका खेल्छु ।’ उनले संविधानले महिलालाई दिएका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न आफ्नो सबैभन्दा ठूलो प्रयास रहने प्रतिक्रिया दिइन् । उनलाई आइतबार नै सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराए । विसं २००९ मा धरानमा जन्मिएकी उनी ०२६ देखि विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । विद्यार्थीकालपछि अखिल नेपाल महिला संघमा आवद्ध भइन् । उनी अनेमसंघको पोखरा नगर कमिटी, कास्की अध्यक्ष, केन्द्रीय सदस्य हुँदै केन्द्रीय सचिव भएकी हुन् ।


प्रदेश ५ को उपसभामुखमा पूर्व कमलरी बर्दियाकी ४२ वर्षिय कृष्णी थारु निर्वाचित भएकी छन् । राजापुर नगरपालिका ४ बर्दियाकी थारुलाई एमालेले उपसभामुखको उम्मेदवार बनाएको थियो ।

वाल्यकाल देखि करिब १७ वर्ष सम्म कमलरी र बुक्रेनी बनेकी बर्दिया राजापुर- ४ संर्घषनगरकी ४२ वर्षिया थारुलाई एमाले कोटाबाट प्रदेश नम्बर ५ बाट सदस्यमा मनोनित गरेको थियो । आठ वर्ष कमलरी बस्दा बस्दै १५ वर्षको उमेरमा उनको विवाह भयो । श्रीमान् पनि कमैया थिए । ‘कमैया बस्दा म बुक्रेनी(श्रीमान् सँगै घरेलु कामदार) भएर काम गरे उनले भनिन्, ‘साहुले नपढाउदा विद्यालयमा पढ्न पाइन् ।’ यनले वार्षिक एक सय रुपैया पाउने गरी कमलरी बसे बसेको बताइन् । ‘मैले कमलरी बस्दा त एक रुपैया पनि पाइन गरिबीका कारण अब कोही पनि अर्काको घरमा बन्धक भएर काम गर्न नपरोस ।’


प्रदेश ६ को उप-सभामुखमा माओवादी केन्द्रकी सांसद पुष्पा घर्ती विष्ट र्निविरोध निर्वाचित भएकी छिन् । सुर्खेतकी घर्ती समानुपातिक सांसद हुन् ।


माओवादी पार्टी पोलिटब्युरो सदस्य घर्ती चौकुने गाउँपालिका १० घाटगाउँमा २०३४ सालमा जन्मेकी हुन् । उनी एसएलसी दिएर माओवादी युद्धमा लागेकी थिइन् । उनी पूर्व सांसद नरबहादुर बिष्टकी श्रीमती हुन् । ‘म पदीय गरिमा भित्र रहेर काम गर्नेछु’ उनले भनिन् ।


प्रदेश ७ को सभामुखमा निर्मला बडाल जोशीलाई निर्वाचित भएकी छन् । उनी दार्चुलावाट माओवादी केन्द्रको समानुपातिक प्रदेशसभा सांसद हुन । पूर्व लडाकु जोशी माओवादी प्रदेश ७ का संयोजक एबं पूर्व सांसद लक्ष्मण जोशीकी श्रीमती हुन् । माध्यामिक तहमा पढै गर्दा उनी माओवादीमा लागेकी थिइन् ।


प्रकाशित : फाल्गुन ६, २०७४ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?