ओली–दाहाल ‘सहमतिनजिक’

सोमबार एकता संयोजन समितिले टुंगो लगाए माओवादी मंगलबारै सरकारमा सहभागी हुने 
वैचारिक विषय महाधिवेशनसम्म थाती राखेर जानेबारे छलफल सकारात्मक
कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले र माओवादी केन्द्र वैचारिक विवादलाई महाधिवेशनसम्म छलफल गर्दै लैजाने सहमतिको नजिक पुगेका छन् । सोमबार वाम एकता संयोजन समितिले निष्कर्ष निकाले माओवादीले मंगलबार आफ्नातर्फबाट मन्त्री पठाउने सम्भावना छ । 

ओली–दाहाल ‘सहमतिनजिक’

माओवादी स्रोतका अनुसार सरकारको नेतृत्व रामबहादुर थापाले गर्नेबारे कुराकानी भइरहेको छ । यद्यपि, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मालगायतले सरकारमा पार्टीबाट आफैं नेतृत्व गर्ने आन्तरिक माहोल बनाउन खोजिरहेका छन् ।


प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच तीन दिनयता भएको एकल छलफल वैचारिक विवादलाई थाती राख्दै तत्काल अन्य विषय मिलाएर जानेतर्फ सकारात्मक देखिएको हो । ‘दुई अध्यक्षबीचको छलफल सकारात्मक बनेको छ, अब वाम एकता संयोजन समितिले अन्तिम रूप दिन्छ,’ वाम गठबन्धनका एक नेताले भने, ‘माओवादीबाट सरकारमा मन्त्री पठाउने विषयमा पनि करिब सहमति बनेको छ ।


दुई दलबीच पछिल्ला छलफलमा आधारित रहेर निष्कर्षमा पुग्न सोमबार एकता संयोजन समितिको बैठक बस्ने सम्भावना छ । त्यही बैठकमा औपचारिक सहमति भए माओवादी मंगलबार सरकारमा सहभागी हुनेछ । यसअघि गत बुधबार समितिको बैठकमा एमालेले अघि सार्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्दै आएको एक्काइसौं शताब्दीको जनवादको विषयमा विवाद भएको थियो । त्यही कारण करिब सहमतिमा पुगेका विषयमा पनि दुई दलबीच लिखित समझदारी हुन सकेन । दुई दलबीच विवाद जारी रहेकाले प्रधानमन्त्री भएलगत्तै ओलीले बिहीबार गठन गरेको मन्त्रिपरिषद्मा माओवादी मन्त्री सामेल भएका छैनन् । पार्टी एकताका विषयमा लिखित समझदारी नबन्दासम्म सरकारमा सहभागी नहुने अडान माओवादीले राखिरहेको छ ।


प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले आइतबार व्यापारी दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा झन्डै ४ घण्टा छलफल गरेका थिए । छलफलमा दुवै अध्यक्षले सरकार विस्तारमा ढिलाइ भए नकारात्मक सन्देश जाने भन्दै सकेसम्म छिटो टुंग्याइहाल्नुपर्ने धारणा व्यक्त गरेका थिए । ओलीले माओवादीबाट मन्त्री नपठाउँदासम्म मन्त्रिपरिषद् विस्तार नगर्ने भन्दै दाहाललाई सहमति गरिहाल्न आइतबारको बैठकमा जोड दिएका थिए ।


दाहालले पनि छलफल सहमति बन्ने दिशामा पुगेको जानकारी दिएका छन् । आइतबार माओवादी संसदीय दलको बैठकमा दाहालले दुई दलको छलफल सकारात्मक बनेको बताएका थिए । उनले चुनावी जनमत वामपन्थी गठबन्धनको सरकार र पार्टी एकताकै लागि भएकाले माओवादी इमानदार भएर त्यसलाई पालना गर्न लागेको उल्लेख गरे । एमालेसँगको एकतालाई निष्कर्षमा पुर्‍याउनु अनिवार्य रहेकाले आफ्नातर्फबाट अधिकतम प्रयास भइरहेको दाहालले बताए । उनले दुई दलबीच धेरै विषयमा सहमति बनिसकेको बताएका थिए ।


दुई दलबीच संयुक्त नेतत्व गर्ने, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समितिको आकार सकेसम्म चुस्त बनाउनेलगायत विषयमा करिब समझदारी बनेको छ । तर, पछिल्ला वार्तामा सिद्धान्तको विषय पनि जोडिएकाले केही अप्ठेरो अवस्था आएको थियो । अब त्यसलाई महाधिवेशनसम्म लैजाने र तत्कालका वैचारिक विषय के हुन्छन् भन्नेमा एउटा खाका तयार गर्ने विषयमा सकारात्मक छलफल भएकाले यसले एकतालाई नअडकाउने नेताहरूले बताएका छन् ।


दाहाल बने दलको नेता

माओवादी केन्द्रको संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल सर्वसम्मत चयन भएका छन् । संसदीय दलको आइतबारको बैठकले दाहाललाई सर्वसम्मत चयन गरेको हो । दाहालले संसदमा सक्रिय भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएका छन् ।

प्रकाशित : फाल्गुन ६, २०७४ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?