कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घुमघाम, मदिरा सेवन अनि ‘बलात्कार’

जनकराज सापकोटा

काठमाडौँ — दिनभर घुमघाम र मदिरा सेवन अनि राति बलात्कार । २१ माघको राति बानेश्वरको बुद्धनगरमा भएको बलात्कार घटनामा सहयोगी बनेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ ।

घुमघाम, मदिरा सेवन अनि ‘बलात्कार’

घटनाको पाँच दिनपछि आफू बलात्कृत भएको भन्दै सुदूरपश्चिम घर भई मध्य बानेश्वरको एक अस्पतालमा ल्याब असिटेन्टका रूपमा कार्यरत युवतीले जाहेरी दिएपछि घटना बाहिर आएको हो । अनुसन्धान नटुंगिएको र मुख्य आरोपी फरार रहेको भन्दै प्रहरीले घटनाबारे विस्तृत बताउन चाहेको छैन ।


घटनाको १५ दिन भइसक्दा पनि मुख्य आरोपी जुम्ला सिञ्जा घर भएका मनोज खत्रीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । मुख्य आरोपी खत्री शृंखलाबद्ध गुन्डागर्दीमा संलग्न धादिङको राधे समूहनिकट छन् । अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा खोजी जारी रहे पनि आरोपी फरार छन् । वृत्तका डीएसपी रवि पौडेलले यतिमात्रै भने, ‘फरार रहेका मुख्य आरोपीको खोजी जारी छ ।’ स्रोतका अनुसार पक्राउ परेकी युवती बलात्कृत युवतीकी रुममेट हुन् । घटनाको राति उनी आफ्नो प्रेमीसँग अर्को कोठामा थिइन् ।


यसरी भयो बलात्कार

नेपालगन्जमा पढ्दादेखि नै सँगै डेरा गरी बसेका दुवै युवती बुद्धनगरमा भाडामा बस्थे । घटनाको दिन यी दुईसहित तीन युवती सुन्धारा पुगे । त्यहाँ उनीहरूले भेट्न आएका ४ जना केटासँगै बसेर खाना खाए र मदिरा पिए । सातमध्ये पाँच जना सुन्धाराकै एक रात्रिकालीन क्लबमा पुगे भने दुई युवती ट्याक्सी चढेर राति बुद्धनगरस्थित कोठामा फर्के ।


राति मनोजसहित कमल शाही र कमल सिंह युवतीकै कोठामा आए । थुनामा रहेकी युवती एउटा कोठामा आफ्नो प्रेमीसँग बसिन् भने अर्को कोठामा पीडित युवती, उनकी साथी, मनोज खत्री र कमल सिंह सुते । फरक–फरक ओछ्यानमा सुते पनि मध्यरातमा मनोजले आफूलाई बलात्कार गरेको भन्दै घटनाको पाँच दिनपछि युवतीले बानेश्वर वृत्तमा जाहेरी दिइन् । स्रोतका अनुसार मदिरा लागेकाले बलात्कार गर्दा प्रतिकारमा आफू असफल भएको युवतीले बताएकी छन् । घटनालगत्तै मौन रहेकी युवती आफ्ना केटा साथीको सल्लाहअनुसार प्रहरीकहाँ जाहेरी लिएर पुगेकी थिइन् ।

घटनाको राति कोठामै रहेका कमल शाही बाँके कोहलपुरका नेविसंघ कार्यकर्ता हुन् । प्रहरीले मुख्य आरोपी मनोज खत्रीको कल डिटेलसमेत झिकाएर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार सुरुमा सार्वजनिक लोकलाजका कारण खुल्न नसकेकी पीडित युवतीले आफ्नो केटा साथीसँग सम्पर्कमा पुगेपछि मात्रै जाहेरी दिने आँट गरेको देखिन्छ ।


पक्राउ पर्दैनन् आरोपी

एकपछि अर्को गर्दै बलात्कारका घटना सार्वजनिक भइरहँदा पनि आरोपित फरार रहँदै आएका छन् । माघ पहिलो साता दरबारमार्गमा भएको घटनामा प्रहरीले अनुसन्धानपछि विकास गौतम, शैलेश कार्की, दीपक श्रेष्ठ र रवि पौडेल सामूहिक बलात्कारमा संलग्न भएको निष्कर्ष निकालेको थियो । तर महिना दिन बित्न लाग्दा पनि उनीहरूलाई पक्राउ गरिएको छैन । स्रोतका अनुसार चारै आरोपित नेपाल बाहिर छन् र उच्च शक्ति केन्द्रमार्फत सुरक्षित हुन सक्ने वातावरण खोजिरहेका छन् । दरबारमार्गको जस्तै बानेश्वर घटनामा पनि प्रहरीले मुख्य आरोपीलाई पक्राउ गर्न सकेको छैन ।


बालबालिका पीडित हुने क्रम बढ्दो

बलात्कारका पछिल्ला घटनाले बालबालिका यौन हिंसा पीडित हुने क्रम बढेको देखिन्छ ।

गत २७ गते काँडाघारी बस्ने १३ वर्षीया बालिका बलात्कार भएको भन्दै महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी पर्‍यो । घर नजिकै एकान्त स्थानमा एक युवाले बलात्कार गरेको बालिकाले अभिभावकलाई भनेपछि घटनाको खुलासा भएको थियो । शनिबार मात्रै बानेश्वर वृत्तले घटनामा संलग्न उदयपुरको कटारी घर भई काँडाघारी बस्ने दिनेश गुरुङलाई पक्राउ गरेको छ । बानेश्वर वृत्तका डीएसपी पौडेलले गुरुङमाथि काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि थुनामा राख्ने म्याद थप भइसकेको बताए ।


यौन हिंसाको सिकार बालिका मात्रै नभएर बालक पनि हुन थालेका छन् । असोज २४ गते टीकाथलीका एक बालक आफ्नै बाबुबाट यौन हिंसाको सिकार बने । इँटाभट्टामा काम गर्ने आमा घरमा नभएको मौका छोपेर बाबुले ती बालकमाथि यौन हिंसा गरेपछि एक गैरसरकारी संस्थाको सहयोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


पुस १४ गते मात्रै महानगरीय प्रहरी वृत्त बानेश्वरले १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा नेपाली सेनाका मेजर प्रभवविक्रम शाहलाई पक्राउ गरी आवश्यक कारबाहीका निम्ति सेनालाई बुझाएको थियो । मेजर शाहले घरमै कार्यरत किशोरीमाथि यौन शोषण गर्दै आएका थिए ।


भक्तपुर १० कमलविनायककी करिब ५ वर्षकी बालिका बारम्बार बलात्कारको सिकार भएको घटना माघ अन्तिम साता मात्रै बाहिर आयो । बालिकालाई स्थानीय वसन्त तामाङले पुस ३० र माघ ३ गते बलात्कार गरेका थिए । महानगरीय प्रहरी वृत्त जगातीले तामाङलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । माघको अन्तिम साता मात्रै जगातीमा बलात्कारसम्बन्धी पाँच फरक–फरक घटनाको उजुरी दर्ता भएको थियो, जसमा माघ २३ गते सूर्यविनायक नगरपालिका ५ सिर्जनानगरका १४ र १५ वर्षीया किशोरी बलात्कृत भएका थिए । त्यस्तै अर्को घटनामा चाँगुनारायण नगरपालिका ९ ताथलीकी १६ वर्षीया किशोरी बलात्कृत भएकी थिइन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?