२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

प्रकाशकीय : कान्तिपुरको रजत जयन्ती

कान्तिपुर संवाददाता

काठमाडौँ — आज हामी २५ वर्षको भएका छौं । निजी क्षेत्रको पहिलो एकीकृत प्रकाशन गृहका रुपमा कान्तिपुरले रजत जयन्ती मनाउँदैछ । यो खुसियाली र सफलतामा हामी सर्वप्रथम तपाईं पाठकहरुलाई नमन गर्न चाहन्छौं । हाम्रो २५ वर्षको यात्रा तपाईंहरुको साथ र समर्थनबिना सम्भव छँदै थिएन ।

प्रकाशकीय : कान्तिपुरको रजत जयन्ती

यो विशेष अवसरमा म श्रद्धेय पाठकहरुसहित कान्तिपुर पब्लिकेसन्सका सम्पूर्ण सहकर्मी मित्रहरु, विक्रेता एवम् वितरक बन्धुहरु, विज्ञापनदाता, विज्ञापन एजेन्सी तथा शुभेच्छुक महानुभावहरुप्रति आभार प्रकट गर्न चाहन्छु ।

२५ वर्षअघि हामी कान्तिपुर र दी काठमान्डु पोस्ट मात्र लिएर आएका थियौं, यात्राका क्रममा साप्ताहिक, रेडियो, टीभी, नेपाल, नारी, डिजिटल कोर्पलगायत विभिन्न अंगहरु जोडिँदै गए । यी सबैको साझा जगमा अहिले कान्तिपुर मिडिया ग्रुप उभिएको छ । यहाँसम्म आइपुग्दा हामीले के–कस्ता उतारचढावहरु भोग्यौं, तपाईंहरुले खुला रुपमा देख्न–पढ्न पाउनु भएकै छ ।

वास्तवमा यो २५ वर्ष सहज थिएन । मलाई लाग्छ– हामी सधैँ कुनै न कुनै किसिमको संघर्षबाट गुज्रिरह्यौं । २०४६ सालपछिको खुलापनले हामीलाई ब्रोडसिट पत्रिका सुरु गर्ने वातावरण बनाइदिएको थियो । तर हामी आफ्नो खुट्टामा उभिन लाग्दा माओवादी आन्दोलन सुरु भइहाल्यो । देश हिंसा–प्रतिहिंसामा जेलियो । त्यसबेला मुलुक शान्तिमार्गमा फर्कियोस् भनेर प्रयत्न गर्दा हामीलाई ‘राजद्रोह’ समेत लगाइयो । संकटकाल र सेना परिचालन भएपछि त काम गर्न अरु अप्ठ्यारो भयो । शाही शासन सुरु भएपछि हाम्रो भवन नै सेनाको घेराउमा पर्‍यो । तापनि प्रेस स्वतन्त्रताको दियो जलाउने साहस गरिरह्यौं । २०६२–६३ को जनआन्दोलनको एउटा हिस्सेदारसरह हामीले भूमिका निर्वाह गर्‍यौं । त्यो किन जरूरी थियो भने हाम्रो लोकतान्त्रिक अधिकार नै हनन गरिएको थियो, प्रेसले जसको विरोध अनिवार्य रुपमा गर्नैपर्छ ।

विगत २५ वर्षको अवधिमा कान्तिपुरमाथि जे–जस्ता देखिने–नदेखिने प्रहारहरु भए, हामीले एकजुट भएरै त्यसको सामना गर्‍यौं । यसले अत्यन्त प्रतिकूल परिस्थितिमा पनि काम गर्न सक्ने संस्थागत क्षमताको विकास गरिदिएको छ । वास्तवमा कान्तिपुर भनेकै ‘टिम वर्क’ को नमुना हो । हाम्रो यो कार्यशैली उदाहरणीय बन्दै जाओस् भन्ने चाहन्छौं ।

हामी यहाँ आइपुग्दा राजनीतिक संक्रमणको लामो चरण समाप्त भइसकेको छ । नयाँ संविधान लागू भएर स्थानीय, प्रदेश र केन्द्र तीनवटै तहका निर्वाचनहरु भइसकेका छन् । केन्द्र र प्रदेशमा सरकारहरु बनिसकेका छन् । अब संक्रमणकाल भनेर ढिलासुस्ती गर्ने छुट कसैलाई छैन । नयाँ सरकारले विकास र समृद्धिको यात्रालाई तीव्रताका साथ अगाडि बढाउने हाम्रो अपेक्षा छ । राजनीतिज्ञहरुलाई यसैतर्फ घच्घच्याइरहने समाचार र विश्लेषणहरुमा हाम्रा प्रकाशनहरु केन्द्रित हुनेछन् ।

संघीयताको कार्यान्वयनसँगै हामीले सातवटै प्रदेशबाट कान्तिपुरका छुट्टाछुट्टै संस्करणहरु निकाल्न थालेका छौं । केन्द्र र प्रदेशका समाचारकक्षहरुको पुन:संरचना गरिएको छ । प्रिन्ट र डिजिटलबीच समन्वय बढाउने गरी काम हुँदैछ । आगामी वर्षहरुमा हाम्रा प्रकाशनहरु अरु चुस्त, आकर्षक र समायानुकूल बन्दै गएको तपाईंहरुले महसुस गर्नु हुनेछ ।

हामीले ‘कान्तिपुर आइकन’ लाई अब बर्सेनि विभिन्न चारवटा क्षेत्र (कला–साहित्य, अर्थ–वाणिज्य, विज्ञान–प्रविधि र सामाजिक–राजनीतिक) मा प्रदान गर्दैछौं । सम्बन्धित क्षेत्रका विज्ञहरु समाविष्ट जुरीहरुले स्वतन्त्र रुपमा गरिरहेको विजेता चयनको घोषणा निकट भविष्यमै हुनेछ । यससँगै आउँदो वैशाखमा ‘कान्तिपुर इन्टरनेसनल कन्क्लेभ’ को पनि आयोजना गरिँदैछ ।

पछाडि फर्केर हेर्दा, मेरो जीवनको सबभन्दा ऊर्जाशील अवधि कान्तिपुरमै बित्यो । २५ वर्षको यो अनुभवले हामीलाई धेरै कुरा सिकाएको छ । यो मोडमा आएर म प्रतिबद्धता जनाउन चाहन्छु– भविष्यमा यसका रुप र माध्यमहरु परिवर्तन होलान्, तर मूल कर्तव्यबाट हामी कहिल्यै विमुख हुनेछैनौं । पाठकहरुलाई केन्द्रमा राखेर विश्वसनीय पत्रकारिता प्रवद्र्धनमै लाग्ने छौं । यहाँसम्म आइपुग्दा कान्तिपुर अब कुनै निजी कम्पनीमात्र रहेन, राष्ट्रिय संस्थाझैं बनिसक्यो । जनताको साझा सम्पत्ति भइसक्यो । हामीले यो जिम्मेवारीबोध गहिरोसँग गरेका छौं । लोकतन्त्र र राज्यको सच्चा पहरेदारका रुपमा नेपाली मिडिया रहनेछ र कान्तिपुर पनि ।


कैलाश सिरोहिया

अध्यक्ष तथा प्रबन्ध निर्देशक


प्रकाशित : फाल्गुन ७, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?