३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

प्रधानमन्त्रीले भने, ‘समृद्धिको सपना साकार पार्ने युग सुरु’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माणको ऐतिहासिक अवसर सुरु भएको बताएका छन् । 

प्रधानमन्त्रीले भने, ‘समृद्धिको सपना साकार पार्ने युग सुरु’ 

६८ औं प्रजातन्त्र दिवसलाई राजधानीको टुँडिखेलमा सोमबार सम्बोधन गर्दै ओलीले लामो समयदेखि अपेक्षा गरेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको सुरुवात भएको बताएका हुन ।


तीन वटै तहको निर्वाचन सकिएर सरकार गठनको चरणमा प्रवेश भएकाले सबै तहका सरकारले आफ्ना अधिकारका सीमा र सम्वन्धमा रही समन्वयात्मक तवरबाट शासन सञ्चालन हुने बताए । ‘सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता एवं हितको रक्षा, कानूनी शासनको सुदृढीकरण, सुशासन, स्थिरता, विकास र समृद्धि अबको कार्यदिशा हुनेछ,’ ओलीले भने, ‘संविधानले अंगिकार गरेको दर्शनलाई जनताले अनुभूत गर्ने गरी रुपान्तरण एवं बढोत्तरी गर्ने समय आएको छ ।’ उनले मुलुकको विकास, प्रगति र समृद्धिको लागि आफ्नो कर्म क्षेत्रबाट उठेर देश विकासमा लाग्न सबैलाई आग्रह गरेका छन् ।


विभिन्न आरोह, अवरोध पार गर्दै प्रतिकुल अवस्थामा निरंकुश व्यवस्थालाई परास्त गर्दै आजको दिनसम्म आइपुगेको भन्दै प्रधानमन्त्रीले समय सापेक्ष संविधानको कार्यान्वयन निरपेक्ष विकासबाट सम्भव नभएको बताए । ‘अब जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रमबाट नेपालीको मुहारमा खुसियाली ल्याउने महाअभियान सुरु भएको छ ।’

उनले सबै राजनीतिक दल र आम नेपालीसंग साँझा संकल्प गर्दै राजनीतिक परिवर्तनको युगबाट मुलुकको आर्थिक परिवर्तन, समृद्धि, सुशासन र सामाजिक न्यायको युगको यात्रामा हातेमालो गर्न अपिल गरेका छन् । ‘जनताले युगौ देखि साँचेका सपनाको वैधानिक र वैज्ञानिक रुपान्तरण गर्ने अवसर पाईएको छ,’ ओलीले भने, ‘ऐतिहासिक अभिभारा पूरा गर्न समयमै स्रोत र साधनलाई परिचालन गरी बृहत्तर हित र समृद्धिका लागि जुट्न आह्‍वान गर्न चाहन्छु ।’





प्रकाशित : फाल्गुन ७, २०७४ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?