गाडी ठोक्किँदा दुई वडाध्यक्षको निधन

रमेशकुमार पौडेल

चितवन — पूर्व-पश्चिम राजमार्गको चितवन रत्ननगर खण्डमा आइतबार साँझ गाडी दुर्घटना हुँदा घाइते भएका दुईजना वडाध्यक्षको निधन भएको छ । चितवन प्रहरीले दिएको जानकारी अनुसार एकजना वडाध्यक्षको आइतबार साँझ नै र अर्को वडाका वडाध्यक्षको सोमबार निधन भएको हो ।

गाडी ठोक्किँदा दुई वडाध्यक्षको निधन

वडाध्यक्षहरु चढेको खैरहनी नगरपालिकाको गाडीलाई अर्को गाडीले ठक्कर दिएको थियो । नगरपालिकाको गाडीका चालक पनि घाइते भएको प्रहरीको भनाइ छ ।


चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यका अनुसार खैरहनी नगरपालिकाका- ४ का वडाध्यक्ष विश्व विजय बस्नेतको हिजो नै ज्यान गएको थियो । त्यस्तै अर्का घाइते खैरहनी-४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको उपचारका क्रममा आज सोमबार बिहान साढे १० बजे निधन भएको चितवन प्रहरीले जनाएको छ ।

उनीहरु चढेको नगरपालिकाको बा २ झ १३४४ नम्बरको गाडी तरकारी बोक्ने ना ३ च ९८४० नम्बरको जीपसँग ठोक्किएको थियो ।


‘आइतबार साँझ साढे आठ बजे पुर्व पश्चिम राजमार्गको रत्ननगर नगरपालिका-३ शान्तिचोकमा पर्साबाट टाँडी तर्फ आउँदै गरेको तरकारी बोकेको पिकअप भ्यानले टाँडीबाट खैरहनी पर्सातर्फ जाँदै गरेको खैरहनी नगरपालिकाको गाडीलाई ठक्क दिएको थियो’ प्रवक्ता डिएसपी शर्माले भने । ठक्करपछि दुवै गाडीहरु अनियन्त्रित भएर सडकमा पल्टेका थिए ।


सोही बेला पर्साबाट टाँडी तर्फ आउँदै गरेको ना ७ ख ४२२४ नम्बरको ट्रिपरसमेत आफै अनियन्त्रित भएर बाटोमा पल्टेको थियो । नगरपालिकाको गाडी पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । सो गाडीका चालक खैरहनीका राजकुमार अधिकारी पनि घाइते छन् । तरकारी बोकेको गाडी र ट्रिपरका चालक फरार रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : फाल्गुन ७, २०७४ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?