२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एसिड आक्रमणपछि झन झांगियो प्रेम

वेदराज पौडेल

विराटनगर — जामुनगाछी हटियामा पकौडा र ढुंग्री बिक्री गर्दै गर्दा भेटिइन् बिमला दास । उनका श्रीमान् आशिष पनि उनलाई सघाउन छेउमै बसेका थिए । आशिष रिक्सा चलाउँछन् । तर खाली भएका बेला श्रीमतीलाई सघाउने गर्छन् । आशिषको देब्रे आँखाको गेडी छैन ।

एसिड आक्रमणपछि झन झांगियो प्रेम

यो कुनै दुर्घटनाको कारण गुमेको नभइ श्रीमती बिमलाले एसिड हाल्दिएपछि आँखाको गेडी निस्किएको हो । श्रीमतीले नै एसिड आक्रमण गरे पनि अहिले दुवै मिलेर जीवन चलाइरहेका छन् । श्रीमान् श्रीमतीबीचमा एसिड आक्रणपछि पनि दुवै मिलेर बसेको यो दुर्लभ घटना हो ।


विराटनगर–६ डेरामा बस्ने बिमला श्रीमानको बानीलाई लिएर विरक्तिइन् । सधैं जसो झगडा हुन थाल्यो । श्रीमान् सधैं रक्सी खाएर आउने अनि विभिन्न बहानामा झगडा गर्न थाले । दिनभरि रिक्सा चलायो बेलुका रक्सीमा सबै पैसा सकेर घर डेरा पुग्यो । हुँदाहुँदा बिमलाले हटियामा खाजा बिक्री गरेर कमाएको रकम समेत चोरेर हिँड्न थाले । आशिषको बानीबाट आजित विमलाले धेरै सहिन् । दुई छोरीहरू सानै थिए । एक मनले त उनले आशिषलाई छाडेर अर्कै घरजम गरौं कि भन्ने सोचमा पुर्‍यायो । फेरि छोरीहरूको बिजोक हुने सम्झेर अर्को बिहे गर्ने सोच त्यागिन् ।


सहदासहदै पनि श्रीमानको अत्याचार कम भएन । घरबेटी, गाउँले साथीभाइ सबैले सम्झाए पनि नसुध्रिएपछि बिमलाले बरु दुवै आँखामा एसिड हालेर अन्धो बनाएर भए पनि पाल्छु भन्ने सोचमा पुगिन् । आँखै नदेख्न भएपछि त रक्सी खान जान पनि सक्दैन अनि घरमै बसिरहन्छ । त्यसपछि त झगडा पनि हुँदैन भन्ने कठोर निर्णयमा बिमला पुगिन् ।


हटियामा आउँदा जाँदा बाटोमा पर्ने सुन पसलेहरूलाई उनले चिनेकी थिइन् । एक दिन खुट्टामा आएको घाउ निको नभएको र त्यसमा हाल्न एसिड चाहिएको बताएपछि सुन पसललेले बिमलाले लगेको सानो सिसिमा एसिड भरिदियो । उनी चुपचाप डेरामा एसिड लिएर आइन् ।


बेलुका आशिष उसैगरी मातेर होहल्ला गर्दै आए । उनले खाना खान दिइन् र ओछ्यानमा सुताइन् । तिम्रो आँखा त रातोरातो भएको रैछ म औषधि हाल्दिन्छु भनिन् । आशिषले मानेनन् । उनले जिद्दी गर्दै आँखा सन्चो हुन्छ भन्दै सिसीको एसिड निकालिन् र देब्रे आँखामा तुरक्यादिइन् । अर्कोमा हाल्ने प्रयास गर्दागर्दै आँखा पोलेर आशिष चिच्याउँदै उठ्यो । उठेर बाहिर भाग्यो ।


आशिष बिमलालाई छाडेर पोल्दै गरेको आँखा लिएर बाबुको घर पुग्यो । अस्पतालमा पुगेपछि एसिडले आँखा सबै जलाएको जानकारी पाएपछि श्रीमतीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दियो । प्रहरी पक्रन आएको थाहा पाएपछि बिमला छोरी छाडेर धरानतिर भागिन् । झन्डै एक महिनापछि बिमलाले जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरिन् ।


दुवैबीच फेरि सँगै मिलेर बस्ने कागज भयो । यो बीचमा आशिषले पनि आफूले बिमलामाथि गरेको अन्यायले उसले यो कदम बाध्य भएर चालेकी हो, दोषी खासमा म नै हो भन्ने सोचे । उनलाई आत्माग्लानी भयो । बिमलाले पनि यो बीचमा आफूले श्रीमान्लाई त्यसरी आँखै विग्रने गरी एसिड नहानेको भएहुन्थ्यो भन्ने सोचिन् ।


एक महिनापछि प्रहरी कार्यालयमा भेट हुँदा दुवैबीच आक्रोश थिएन । दुवैले एकअर्कालाई माया दर्शाए । बिमलाले मायालु पारामा सोधिन्, ‘छोरीहरूको खबर के छ ?’ आशिषले पनि सोधे, ‘किन यतिका दिन हराएकी घर आउन पर्दैन ।’ दुवैबीच मुद्दामा मेलमिलाप भयो ।


दुबैले आफ्ना कमजोरी सुधारे । एक वर्षपछि बिमलाले छोरा पाइन् । छोरा पाएपछि फेरि परिवारमा नयाँ खुसीको सञ्चार भयो । परिवार झन कसिलो भयो । बिमलाको काममा अहिले आशिषले सघाउँछन् । आशिष पनि रिक्सा चलाएर पैसा कमाउँछन् । दुबैको जीवन हासिखुसी नै चलिरहेको छ । बिमला भन्छिन्, ‘आगो पनि नठोसी बल्दैन भनेझैं कहिलेकाहीं ठाकठुक त पर्छ नि ।’ श्रीमान् श्रीमतीका सम्बन्धमा पर्ने ठाकठुकले अहिले उग्ररूप लिँदैन । उनीहरू दुवैले तत्कालै सामसुम पार्छन् ।


आशिष भन्छन्, ‘ऊ बोल्न थालेपछि म चुप लाग्छु, बरु एकातिर निस्कन्छु ।’ बस्यो भने फेरि झगडा पर्ला कि भन्ने पीर हुन्छ रे । अहिले दुवैले एकले अर्काको सवल पक्ष र कमजोर पक्ष चिनेका छन् । त्यसैले कमजोर पक्षलाई बढी चलाउँदैनन् । बरु एउटा बोल्दा अर्को चुप बसेर जिन्दगीको गाडी ठेलिरहेका छन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?